स्वास्थ्यकर्मी अभावमा अस्पताल आफैं बिरामी



ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगामा कोशी प्रदेश सरकारले स्वीकृत दरबन्दीअनुसारको कर्मचारी नखटाउँदा अस्पताले सर्वसाधारणका लागि प्रवाह गर्दै आएको सेवामा प्रभाव परेको छ । अस्पतालमा प्रदेश सरकारले दरबन्दीका कर्मचारी नखटाएकाले जिल्लाको एक मात्रै सरकारी अस्पताल सञ्चालनमा कठिनाइ आएको छ । एक जना मेडिकल सुपरटेन्डसहित ३० जनाको दरबन्दी रहेको अस्पतालमा ११ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।

अस्पतालमा १ जना मेडिकल सुपरटेन्ड, ४ जना स्टाफ नर्स, ल्याब टेक्निसियन १ जना, रेडियोग्राफर १ जना, मेडिकल रेकर्डर १ जना, प्रशासन सुब्बा १ जना, खरिदार १ जना, अहेब २ जना, अनमी २ जना, मेडिकल अधिकृत २ जना, एचए १ जना, डार्करुम असिस्टेन्ट २ जना र ११ जना कार्यलय सहयोगीको रहेको छ ।

३० जना कर्मचारीको दरबन्दी रहेको अस्पतालमा हाल मेडिकल अधिकृत १ जना, हेल्थ असिस्टेन्ड १ जना, स्टाफ नर्स १ जना, ल्याब प्राविधिक १ जना, डार्करुम सहायक १ जना र ११ जना कार्यालय सहयोगी कार्यरत रहेका छन् ।

हाल अस्पतालमा १४ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ । जसमा अस्पताल प्रमुख १, मेडिकल अधिकृत १, स्टाफ नर्स ३, ल्याब टेक्निसियन १, रेडियोग्राफर १, मेडिकल रेर्कडर १, सुब्बा १, खरिदार १, अहेब २, अनमी २ जना गरी १४ जना कर्मचारीको पद रिक्त रहेको छ ।

कर्मचारी अभावमा धिपधिपाइरहेको जिल्ला अस्पताल ओखलढुंगामा छात्रवृत्ति करारका कर्मचारी कर्मचारीहरूबाट जसोतसो सेवा प्रवाह गरिँदै आएको निमित्त अस्पताल प्रमुख डा. साजन दुवालले बताउनुभएको छ । अस्पतालमा छात्रवृत्ति करारमा ३ जना मेडिकल अधिकृत र १ जना डेन्टल सर्जन कार्यरत रहेका छन् । कर्मचारी अभावका कारण अस्पतालले नागरिकहरूलाई दिनुपर्ने जति सेवा दिन नसकिएको डा. साजन दुवालले बताउनुभएको छ ।

कर्मचारी अभावकै कारण साधारण उपचारबाहेक अन्य उपचारको सेवा अस्पतालबाट दिन नसकिएको भनाइ निमित्त अस्पताल प्रमुखको रहेको छ । हाल अस्पतालमा गुणस्तरीय उपकरणहरू रहेको भए तापनि जनशक्तिको अभावमा उपकरणहरू सञ्चालनमा ल्याउन नसकिएको डा. दुवालले बताउनुभएको छ । ‘अस्पतालमा तीन सिफ्ट चलाउनुपर्छ तर कर्मचारी एक सिफ्टका लागि पनि पर्याप्त छैनन् यो अवस्थामा कसरी अस्पताल चलाउनु ?’ –डा. दुवालले प्रतिप्रश्न गर्नुभयो ।

आईसीयू कक्षमा सम्पूर्ण सामग्री भए तापनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख दुवालको भनाइ छ । ‘हामीसँग गुणस्तरीय उपकरणहरू छन् नि के गर्नु चलाउने जनशक्ति छैन पो त्यसै खेर जाने भए’ – डा. दुवालले बताउनुभयो । जिल्लाको अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा यहाँका नागरिकहरू उपचारका लागि काठमाडांै धाउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्