पुस्तक चर्चा- शब्द संसारमा शताब्दी पुरुष सत्यमोहन जोशी



गोपीकृष्ण ढुंगानाले ‘शब्दविम्बमा सत्यमोहन’ कृतिको विमोचनमा उपस्थितिका लागि फोनमार्फत निम्ता गर्नुभयो । त्यसै–त्यसै मन रमायो । पुलकित भएँ । त्यो निम्तो मेरा लागि सुखद संयोग र खबर भएको ठानेँ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कृतिको विमोचन भएपश्चात् जब कृति मेरो हातमा प¥यो, सम्पादक ढुंगानाको दूरगामी सोच, निष्ठा र लगन प्रशंसनीय लाग्यो । एकातिर सत्यमोहन कृतिमा समेटिए, अर्कोतर्फ कृति स्वयंमा इतिहास बन्यो । लाग्यो, घाँसीले कुवा खनाई अरूलाई पानी खुवाएर नाम कमाएझैँ ढुंगानाको सत्प्रयास पनि त्यस्तै ।

लेखक

‘शब्दविम्बमा सत्यमोहन’ गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित कृति आफ्नो हातमा पर्नुलाई अस्तित्वका समयले जुराएको एउटा सुखद संयोगको अनुभूति गरेको छु । इतिहास पुरुषको सम्बन्धमा यसरी कृति प्रकाशित हुनु भनेको इतिहासलाई लेखनबद्धरूपमा संरक्षण गर्नु पनि हो । इतिहासलाई दस्तावेजीकरण गरिएन भने इतिहासका महत्त्वपूर्ण पक्षहरू लुप्त हुँदै जान पनि सक्छन् । सबैलाई समेट्न सक्ने क्षमता उहाँमा भएको अनुमान पनि गरेँ । त्यस्तो गुणको अभावमा यस्तो किसिमको कृति आउन सम्भव नै थिएन ।

सधैँ भन्ने र लेख्ने गरेको छु– ‘कृतज्ञता अधिकार नभएर कर्तव्य हो ।’ ढुंगानामा अग्रजप्रति कृतज्ञताको भाव भएको पाएँ । कृतिको स्वरूप र यसमा समेटिएका पक्षहरूलाई हेर्दा आग्रह वा पूर्वाग्रहबाट मुक्त भएको पनि पाएँ । सबैलाई समेट्न सक्ने क्षमता पनि रहेछ भन्ने अनुमान गरेँ, बुझेँ । पत्रकारले समाचार र विचारमा मात्र ध्यान दिन्छन् र जागिर खानेमात्र काम गर्छन् भन्ने मानसिकताबाट बाहिर आएको पाएँ । कामका सिलसिलामा यसरी व्यक्तिको समग्र जीवनको तस्वीर खिच्नुले सञ्चारकर्मीको सोचको उपज पनि देखाउँछ । यद्यपि अहिलेसम्म ढुंगानासँग मेरो कहीँ–कतै प्रत्यक्ष भेट भएको छैन । विमोचन समारोहमा आफ्नै निजात्मक बाध्यताका कारण उपस्थित हुन सकिन ।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित भएका ढुंगानाका रचनाहरू थुप्रैपल्ट पढेको छु । कतिपय आलेखहरू निकै खोजमूलक र सङ्ग्रहणीय भएको अनुभूति पनि गरेको छु । सत्यमोहन जोशी आफैंँमा एउटा सिङ्गो इतिहास हो । पूर्वीय दर्शनले एउटा मानिसको जीवन सय वर्षको हुने परिकल्पना गरेको छ, सतायु वर्ष मान्दछ । त्यसपछि जीवनलाई चार भागमा विभाजन गर्दछ । २५ वर्षको उमेरसम्म ब्रह्मचर्याश्रम, २५ देखि ५० वर्षसम्म गृहस्थाश्रम, ५० देखि ७५ वर्षको समयलाई वानप्रस्थाश्रम र ७५ देखि सय वर्षसम्मको अवधिलाई संन्यासाश्रम भनेर चार आश्रम धर्मको परिकल्पना गर्नुपर्ने कर्तव्यको चर्चा गरेको पाइन्छ । पूर्वीय दर्शन र मान्यतालाई राम्ररी बुझेको र छिचोल्नुहुने जोशीले चमत्कारीरूपमा शतायु वर्षभन्दा बढी आयु पूरा गर्नुभयो । निरन्तर क्रियाशील जीवनबाट विश्राम लिनुभयो, सदाका लागि । इतिहासमा यस्तो दुर्लभ इतिहास अत्यन्त कम पाइन्छ ।

भारतका भक्तिधाराका कवि सूरदास (सन् १४७८–१५८३) ले सय वर्ष पूरा गरेको सम्झना थियो । २५ भन्दा बढी कृतिहरू रचना गरेका सूरदासका प्रामाणिक कृतिमा ‘सूरसागर’, ‘सूरसारवली’ र ‘साहित्य लहरी’ मुख्यरूपमा मानिन्छन् । बल्ल माचार्यका शिष्य सूरदासले शतायु वर्ष पूरा गरेको थाहा थियो । शतायु वर्षको पूर्ण आयु जोशीले पनि पाउनुभयो । राष्ट्रकवि माधव घिमिरे सय वर्षको अवधि पार गरेर जीवनबाट विश्राम लिनुभयो ।

नवीन संक्रमणलगायत विभिन्न खालका रोग, शोक, सन्ताप, तनाव, प्रदूषित वातावरण मिलावटयुक्त तथा विषादी प्रयोग भएका खाद्यवस्तुको कारणले मानिसको आयु सय वर्षसम्म पुग्नेछ भनेर अनुमान गर्न गाह्रो छ । त्यसमा पनि मानिस कति वर्ष बाँच्यो भन्दा पनि कसरी बाँच्यो भन्ने कुरा अर्थपूर्ण हुन्छ । ३२ वर्षमात्र बाँचेका आदिगुरु शंकराचार्यले मानवले ३२ जीवनमा पनि गर्न नसक्ने काम गरे । सिकन्दर महान्को मात्र ३२ वर्षको जीवन थियो । स्वामी विवेकानन्दको जीवन ३९ वर्षभन्दा अगाडि जान सकेन । फ्रान्सकी वीराङ्गना जोन अफ आर्क (सन् १४१२–१४३१) ले मात्र १९ वर्षको उमेर पाइन् । पृथ्वीनारायण शाहको (वि.सं. १७७९–१८३१) मात्र ५२ वर्षमा निधन भएको थियो । राष्ट्रिय विभूति मोतिराम भट्ट (वि.सं. १९२३–१९५३) जसले भानुभक्तलाई चिनाए । आफूले पनि थुप्रै साहित्य सृजना गरे, उनैको अल्पायुमा निधन भयो । त्यसैले मानिसको जीवन कति थियो भन्दा पनि कसरी बाँच्यो भन्ने कुरा अर्थपूर्ण हुन्छ ।

अपरिग्रहको मानक पतञ्जलि योगसूत्रले परिकल्पना गरे । त्यही मानकको रूपमा पंक्तिकारले जोशीलाई बुझेका थिए । ‘शब्दविम्बमा सत्यमोहन’ कृति हातमा परेपछि भागवत गीताका शिक्षा पनि सम्झन पुगेँ । त्यसपछि कृष्णले आफ्ना सर्वाधिक प्रिय शिष्य र सखा अर्जुनलाई बनाएको ‘स्थिर प्रज्ञाको’ पिम्बको रूपमा जोशीलाई स्मरण गर्दा अन्यथा हुन्छ भन्ने लागेन । अनुकूल वा प्रतिकूल जे–जस्तो अवस्था छ, त्यसमा ‘समभाव र समदृष्टि’मा कायम रहनु नै स्थिर प्रज्ञा हो । सधैँ एउटा गति र लयमा हिँडेको सरल तथा सहज जीवन जिउने कला र शैली थियो, जोशीमा ।

‘शब्दविम्ब सत्यमोहन’ कृतिले जोशीको समग्र जीवनलाई समेटेको छ । पहिलो कभर पृष्ठमा रहेको जोशीको तस्वीर आकर्षक छ । ‘कतै मितेरी पुल’ ऐतिहासिक तथ्य बताउन लाग्नुभएको त छैन भन्ने आभास भयो । एउटा कुनै कार्यक्रम ‘मितेरी पुल’बारे जोशीले भन्नुभएको थियो । त्यो सम्झनामा थियो । यस कृतिमा क्रमशः लेख खण्ड, सम्पादकीय खण्ड, अन्तर्वार्ता खण्ड, परिशिष्टाङ्क खण्ड, समाचार खण्ड, कविता खण्ड, सत्यमोहन जोशीको केही मुख्य कृति र तस्वीर खण्ड रहेका छन् । लेख खण्डमा जोशी स्वयंका तीन लेखसहित विभिन्न लेखकहरूको अत्यन्त पठनीय, रोचक र सारगर्भित रचना छन् । सम्पादकीय खण्डमा गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, राजधानी, नेपाल समाचारपत्र, इकागज डटकममा प्रकाशित सम्पादकीय साभार गरिएका छन् । सम्पादकीय अब्बल र उम्दा छन् । जोशीको जीवनलाई न्याय गरेका छन् सबै सम्पादकीयले । ती सबै सङ्ग्रहणयोग्य थिए, छन् र भए पनि । त्यसलाई एउटै पुस्तकमा ढुंगानाले सँगालेर ठूलो गुनिलो काम गरेको आभास भयो ।

ग्रन्थको अन्तर्वार्ता खण्डमा कनकमणि दीक्षितदेखि देवीदत्त पौडेल, छविरमण सिलवालले जोशीसँग लिएका अन्तर्वार्ता छन् । सबै अन्तर्वार्ता अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक गरिमायुक्त छन् । पाठक निश्चय पनि पुलकित बन्छन् । ती संवादमार्फत महत्त्वपूर्ण ऐतिहासिक खुराक प्राप्त गरेको अनुभूति पाठकले गर्दछन् । जोशीको जीवनचर्यालाई चिन्ने र जान्ने अवसर पाएको अनुभूति पनि हुन्छ भन्ने लाग्छ ।

अर्को खण्ड परिशिष्टाङ्कमा भएको ‘जोशीका तीन आयाम’ भन्ने राष्ट्रकविको आलेख, ‘अमर अभिप्रेरक’ शीर्षकको तेजेश्वरबाबु ग्वंग, ‘लोकसाहित्यको उज्यालो’ तुलसी दिवसलगायत थुप्रै लेखकका विभिन्न पत्रिकामा प्रकाशित जोशीसँग सम्बन्धित लेखहरू छन् । सबै लेखक विशेष छन्, लेखहरू सूचनामूलक पनि छन् । जोशीको जीवनको विभिन्न आयामलाई बुझ्न निकै सहायक छन् । लेख खण्ड र परिशिष्टाङ्क खण्डमा भएका लेखक र उनका रचनाहरू सबै उल्लेख गर्न यो संक्षिप्त आलेखमा सम्भव भएन । प्रत्येक लेखहरूले लेखकीय गुणधर्मिता निर्वाह गरेको पाइन्छ ।

समाचार खण्डमा बीबीसी न्यूज नेपाली सेवा, अन्नपूर्ण पोस्ट, रासस, कान्तिपुर, नेपाल समाचारपत्र, खबरहब डटकम, नागरिक, नयाँ पत्रिका, गोरखापत्रमा सम्प्रेषित भएका समाचारलाई साभार गरिएको छ । यसकारण सम्पादकीय खुबीलाई मान्नुपर्छ जस्तो लाग्छ । कता–कता विभिन्न खण्डमा प्रकाशित भएको ग्रीष्मबहादुर देवकोटा राजनीतिक दर्पणको पंक्ति सम्झना पनि आयो । कविता खण्डमा सरुभक्त, शान्तिदीप रायमाझी र नारायण नेपालको क्रमशः अन्नपूर्ण पोष्ट, अनलाइन खबर डटकम र न्यूज२४ डटकममा प्रकाशित कविता साभार गरिएका रहेछन् । अन्तिममा सत्यमोहन जोशीका कृति र वैयक्तिक विवरण राखिएको छ ।

जोशी, उनकी धर्मपत्नी, उनको घरको परिवेश र विभिन्न अवस्था जीवन्त बनाउने गरी आठ रंगीन पृष्ठमा तस्वीर छन्, जुन तस्वीर खण्डमा पाइन्छ । ती हेर्दा जोशी अहिले बोल्छन् जस्तो लाग्छ । कृति सङ्ग्रहणीय र पठनीय छ । सम्पादक गोपीकृष्ण ढुंगाना र भुँडीपुराण प्रकाशनलाई मुरी–मुरी धन्यवाद ! शताब्दी पुरुष सत्यमोहन जोशीमा भावपूर्ण श्रद्धाञ्जलि !

प्रतिक्रिया दिनुहोस्