पृथ्वी राजमार्गको यात्रामा सकसैसकस



तनहुँ । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारको क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

यस सडकको निर्माण कछुवा गतिमा भएको छ । सडक विस्तारले आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरेको छ । यस सडकका विभिन्न स्थानमा ढुङ्गा, माटो अस्तव्यस्त हुँदा यात्रा सकसपूर्ण हुने गरेको छ ।

सडक छेउबाट पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको व्यास नगरपालिका–१२ का स्थानीय तारा पन्थले बताउनुभयो । उहाँका अनुसार सडक छेउमा घर भएकाले केही कामका लागि निस्कदा पनि सास्ती खेप्नुपर्ने अवस्था छ । ‘राजमार्गकै बाटो भएर बारीसम्म पुग्न पनि सकस छ, दैनिक रूपमा यस मार्ग हुँदै अध्यापनका लागि विद्यालयसम्म पुग्न सास्ती भएको छ, घाम लागे धुलो, पानी परे हिलोले यात्रा गरी साध्यै छैन’ –स्थानीय पन्थले भन्नुभयो ।

ग १ ख ७२५७ नम्बर बसका चालक विशाल लामाले पोखरा–नारायणगढसम्म सडक विस्तारको सास्ती भोग्दै दैनिक यात्रु बोकेर यात्रा गरिरहेको बताउनुभयो । पहिले मुग्लिनमा पहिरा खस्छ भन्ने चिन्ता हुन्थ्यो भने अहिले पृथ्वी राजमार्गकै तनहुँ खण्डको सडकमा रोकिन्छ कि भन्ने डर भएको उहाँको भनाइ छ । केही मात्रामा निर्माण कम्पनीले व्यवस्थापनका काम गरिदिए यात्रा सहज हुने उहाँले बताउनुभयो ।

त्यस्तै ग २ प ९९० नम्बर बसका चालक आशिष श्रेष्ठले दैनिक रूपमा तीन ट्रिप यात्रु बोक्ने गरेकामा अहिले एक ट्रिप यात्रा गर्नै सकस भएको बताउनुभयो । हामीलाई भन्दा अझ साना तथा दुईपाङ्ग्रे सवारीलाई बढी सास्ती झेल्न बाध्य रहेको उहाँको भनाइ छ ।

निर्माण पक्षले यस सडकको यात्रा सहजताका लागि समयमै काम गरिदिए यात्रुले भोग्नु परेका समस्या समाधान हुने बताउँछन् । कतिपय स्थानमा ठूला सवारीले सडक पार गर्न सक्छन् भने साना तथा दुई पाङ्ग्रे सवारी आवतजावत गर्न सक्ने अवस्था नै रहेका छैनन् । ठूला खाल्डोमा पानी जमेकाले पार गर्नै मुस्किल हुने गरेको र कतिपय साना सावरी त खाल्डो पार गर्ने क्रममा दुर्घटना हुने गरेको छ । यसले गर्दा सवारी दुर्घटना वृद्धि भइरहेको यात्रु बताउँछन् । यसतर्फ निर्माण कम्पनीको ध्यान पुग्नेपर्ने उनीहरूको भनाइ छ ।

वर्षात्को समय भएकाले यस सडकमार्फत् यात्रा गर्दा अधिकांश स्थानमा पहिरो खस्ने गरेको छ । जसले गर्दा लामो समयसम्म आधा बाटोमै रोकिनुपर्ने अवस्था रहेको छ । हाल पहिरोका कारण केही स्थानमा एकतर्फी मात्रै सडक सञ्चालन हुँदा पनि यसको यात्रा सकसपूर्ण बनेको छ ।

पश्चिम खण्डका कन्ट्रयाक्ट डिपार्टमेन्ट प्रमुख लियु उले सम्झौताअनुसार म्यादभित्र काम सक्न प्रयासरत रहेको बताउनुभयो । उहाँका अनुसार अस्फाल्टको प्लान्ट जडान गरिसक्ने योजना छ । उहाँले भन्नुभयो–‘निर्माणमा समस्या भएपछि नेपाली कम्पनीलाई बिदा गरेर चिनियाँ कम्पनी आफैंले काम गरिरहेका छौं, तर तोकिएको म्यादमा काम सक्न सम्भव छैन ।’ सडकमा सवारीसाधन आवतजावतलाई सहज बनाउन निरन्तर मर्मत सम्भार गरिएको उहाँले बताउनुभयो । पश्चिम खण्डमा पनि आन्तरिक समस्या समाधान भएकोले तीव्र गतिमा काम अघि बढ्ने उहाँको भनाइ छ ।

पूर्वी खण्ड विसं २०७७ माघ १७ गते सम्झौता भएको थियो । यस खण्डको विसं २०७८ वैशाख २ गतदेखि निर्माणको काम शुरू भएको हो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । निर्माण शुरू भएको करिब साढे २ वर्ष बितिसक्दा आयोजनाको प्रगति १५ प्रतिशतभन्दा कम छ । पूर्वी खण्डमा हालसम्म ३२ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा आठ प्रतिशत मात्रै काम सकिएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरू भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा सम्झौता भएको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर बन्नेछ । बाक्लो बस्तीमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्