बागमती टिपर व्यवसायी संघको भवन उद्घाटन



काभ्रे।

चन्दा नलिई आफ्नै श्रोत सङ्कलन गरी भवन निर्माण गर्ने अठोट बोकेको बागमती टिपर व्यवसायी संघले आफ्नै भवन निर्माण गरी औपचारिक रुपमा उद्घाटन गरेको छ । ‘संघको साधारण सभामा संस्थाका अध्यक्ष सुरेश खत्रीले कसैसँग चन्दा नलिएरै संस्थाको भवन आफ्नै श्रोतबाट निर्माण गर्ने घोषणा गर्नु भएको थियो’–कार्यालय प्रमुख प्रकाशबहादुर कायस्थले भने–‘अध्यक्षले घोषणा गरेको भवन निर्माण कार्य पुरा भएको छ ।’

अध्यक्ष सुरेश खत्रीले व्यवसायीको हितका लागि संस्थाको आफ्नै संरचना आवश्यक भएको महसुस गरी संघमा आबद्ध सदस्यहरूकै श्रोतबाट भवन निर्माण गरेको बताए । ‘निर्वाचित भए लगत्तै मैले संस्थाको आफ्नै भवन संस्थाकै रकबाट खरिद गरिएको जग्गामा चन्दा विना निर्माण गर्ने घोषणा गरेको थिएँ’–अध्यक्ष खत्रीले भने–‘७ वर्ष देखि नवीकरण नभएको संस्थालाई नवीकरण गराई कानुनी रुपमा क्रियाशील गराउँदै भवन निर्माण प्रक्रिया सम्पन्न गरेका छौँ ।’

संघमा आबद्ध सबै सदस्यहरुको सहयोग र समन्वय तथा अग्रज र संस्थापक तथा पूर्व कार्य समितिहरुको विशेष सहभागितामा भवन निर्माण कार्य सहज भएको अध्यक्ष खत्रीले बताए । भवन निर्माणसँगै ब्यवसायीहरुको हितका लागि आर्थिक मन्दिरको अवस्थामा व्यवसायलाई निरन्तरता दिन, ब्यवसायबाट पलायन हुन नदिन, दुर्घटना न्यूनीकरण गर्दै व्यवसायी र मजदुर तथा नागरिकहरुलाई समेत क्षति हुन नदिन विशेष अभियान सुरु गर्ने तयारी गरिएको अध्यक्ष खत्रीले बताए । भाद्र ६ गते बुधवार अध्यक्ष खत्रीले भवनको शिलालेख अनावरण गर्दै औपचारिक रुपमा गृह प्रवेश गरेका थिए ।

पूर्व अध्यक्ष शेरबहादुर कुँवर र अध्यक्ष खत्रीले संयुक्त रुपमा भवनको गृह प्रवेशको क्रममा रिवन काटेका थिए । कार्यालय प्रमुख प्रकाशबहादुर कायस्थले अध्यक्ष खत्री लगायत कार्य समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरू, ब्यवसायीहरुलाई स्वागत गरेका थिए ।

कस्तो बन्यो भवन ?

व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम संचालन गरिरहेको बागमती टिपर व्यवसायी संघले आफ्नै भवनबाट प्रशासनिक कार्य सुरु गरेको छ । बनेपा नगरपालिका वडा नम्बर ८ स्थित तुल्टीफाँटमा ५ आना जग्गामा निर्माण भएको तीन तल्ले पक्की भवनका लागि करिब डेढ करोड रकम खर्च भएको छ । ‘टिपर ब्यवसायीहरुलाई संस्थागत र ब्यवसायीक विकासका लागि निरन्तर विभिन्न कार्यहरू भइरहेका छन्’–अध्यक्ष सुरेश खत्रीले भने –‘व्यवसायी, मजदुर र सडक तथा पैदल यात्रुहरूका लागि समेत सुरक्षाका लागि कार्यहरू भइरहेका छन् ।’

बागमती टिपर व्यवसायी संघमा करिब ७ सय टिपर आबद्ध छन् । करिब ५ सय टिपर मात्रै नियमित नविकरणमा छन् । संंघले असार मसान्तसम्म संघमा आबद्ध हुने टिपरहरुलाई १५ हजार रुपैयाँबाट घटाएर ५ हजार रुपैयाँ मात्रै लिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार अधिकांश टिपरहरु नवीकरण भएका छन् । नवीकरण शुल्क ३ हजार २ सयबाट घटाएर साउन १ गते देखि २ हजार ५ सय कायम गरेको कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिए । संघमा आबद्ध हुने ब्यवसायीहरुका लागि उपचार खर्च, दुर्घटना विमा लगायतका विभिन्न सुविधाहरु उपलब्ध गराएको छ भने नियमित नवीकरण गर्ने मजदुरहरुलाई पनि विभिन्न प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ ।

दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम र पुरस्कृत गर्दै आएको छ । पछिल्ला वर्षमा बागमती टिपर व्यवसायी संघमा आबद्ध टिपरहरुका कारण दुर्घटना हुने संख्यामा कमी भएको तथ्याङ्कले पुष्टि गरेको छ । पाँच वर्ष अघि संघले बनेपा ८ मा जग्गा खरिद गरेको थियो ।

संघमा संस्थापक अध्यक्ष राजभक्त प्रधान, पूर्व अध्यक्षहरु शेरबहादुर कुँवर, प्रेम लामा र वर्तमान अध्यक्ष सुरेश खत्रीले नेतृत्व गरिरहनु भएको छ । संघले महासंघमा सदस्यता लिएर ब्यवसायीक एकता र जिम्मेवारीलाई थप सशक्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्