दावाको नागरिकताबारे गृहद्वारा छानबिन शुरू



काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ ।

सुन तस्करी प्रकरणमा राजस्व विभागले नियन्त्रणमा लिएका छिरिङको नागरिकताको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानबिन थालेको हो । हाल छानबिन कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । नागरिकताको विषयमा छानबिन गर्न मन्त्रालयका उपसचिव एवं नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । ‘समितिले छानबिन गरिरहेको छ । समितिले छानबिनपछि दिने प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइने छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो ।

हाल सुन तस्करी प्रकरणमा १८औं नम्बरमा गत श्रावण १५ गते छिरिङलाई पक्राउ गरिएको थियो । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले राजधानीको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका छिरिङलाई होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो । छिरिङ सत्ता र शक्तिको आडमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य चार वर्षअघि प्रहरी अनुसन्धानले पत्ता लगाएको थियो ।

नेपालमा अवैध रूपमा कल सेन्टर चलाएर भारतीय तथा चिनियाँ नागरिकलाई मिटर ब्याजमा ऋण दिने र समयमै ऋण फिर्ता नगरे धम्की दिने, दुव्र्यवहार गर्ने र अश्लील सामग्रीहरू पठाउने, विभिन्न देशमा रहेका चिनियाँ दूतावासको साइट नै ‘ह्याक’ गर्ने, चिनियाँ नागरिकको बैंक खातामा अनधिकृत पहँुच राखेर त्यहाँबाट पैसा चोरी गर्ने, ब्ल्याकमेल गर्नेलगायतको घटनामा दावाको संलग्नता रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ । त्यससँगै दावाले लिएको नेपाली नागरिकताको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी) एक वर्षअघि अनुसन्धान शुरू गरेको थियो । त्यति बेला शुरू भएको छानबिन बीचमा रोकिएको थियो ।

सुन तस्करीमा संलग्न भएको अभियोगमा दावालाई नियन्त्रणमा लिइएपछि उनको नागरिकताको कुरो फेरि बहसमा आएको हो । दावा तिब्बती मूलका बेल्जियमका नागरिक हुन् । राजनीतिक र प्रशासनिक संरक्षण पाएका दावाले काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता लिएका हुन् । प्राप्त जानकारीअनुसार दावाले २०७४ पुस २० गते नागरिकता लिएका थिए । नेपाली नागरिकतामा भने उनको नाम निमा तामाङ छ । नमोबुद्ध–११ काभ्रेपलाञ्चोक ठेगाना राखिएको छ । दावाको वंशजको नागरिकता जारी भएको थियो । उनको नागरिकता प्रमाणपत्र नम्बर ३०–०१–७४–११८६८ हो । बुबाको नाम पेमा तामाङ राखेर सनाखत गरिएको जिप्रकाको डाटामा देखिन्छ । तर, त्यस बेला पेस गरिएका अन्य कुनै पनि कागजात भने छैनन् ।

सोही दिन ११८३० देखि ११८७१ नम्बरसम्ममा नागरिकता बाँडिएको थियो । ११८३० देखि ११८६० नम्बरका सबै नागरिकतामा एकै अधिकृतले सनाखत गरेका थिए । तर, ११८६१ देखि ११८७१ सम्म अर्कै अधिकृतले सनाखत गरिएको देखिन्छ । तर, दावाको नागरिकतामा कुन अधिकृतले सनाखत गरेका थिए भन्ने रेकर्डमा छैन । जिल्ला प्रशासन कार्यालयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीको विवरण हुने कागजात नै गायब पारिएको पाइएको थियो ।

छिरिङलाई स्थानीय तहको सिफारिसबिना नै नागरिकता उपलब्ध गराइएको बताइएको छ । नागरिकताका लागि सम्बन्धित वडाको सिफारिस अनिवार्य रहेको छ । नागरिकता लिएका दिनको अनुसूची भरेको फारम जिल्ला प्रशासन कार्यालयमा नभएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । यस्तै, दावाका बुबा भनिएका पेमा लामा को हुन् भन्नेबारे पनि जिप्रकामा कुनै अभिलेख छैन । पुस १९ गते र पुस २१ गते भने नागरिकता वितरण ढड्डामा सीताराम थापा नामका अधिकृतले नागरिकता वितरणमा सनाखत गरेको जिप्रकाको रेकर्डमा छ ।

नागरिकता ऐन, २०६३ पहिलो संशोधन २०७९ मा विदेशीले नेपाली नागरिक भएको झुटो दाबी गरी नागरिकता लिन नपाउने व्यवस्था गरेको छ । यस्तो कसुर गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनको दफा २१ मा उल्लेख छ । त्यसै गरी विदेशीलाई नागरिकता दिलाउन सनाखत गर्ने, सिफारिस गर्नेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्