राजधानी जलमग्न हुनुमा शासकको कमजोरी



देशभर परेको अविरल वर्षाका कारण मुलुकको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । हरेक वर्ष वर्षाका कारण हुने क्षतिको बारेमा राज्य बेखबर बन्दा अवस्था हरेक वर्ष नै जटिल बन्दै गएको छ । वर्षाका कारण नदीको तटीय क्षेत्रमा बस्ने नागरिकहरु अहिले बढी प्रभावित भएका छन् । नेपालमा सार्वजनिक जग्गा र खोलानाला मिचेर भौतिक संरचना बनाउने र विनाडिजाइन सडक निर्माण गर्नाले पनि आम नेपालीले हरेक वर्षा याममा दुःख पाउने गरेका छन् । हरेक वर्ष भूक्षय र बाढीपहिरोका कारण मुलुकले मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको छ । राजधानी उपत्यकामा देखिएको अव्यवस्थित बस्ती तथा सार्वजनिक सम्पत्ति हडप्ने अनि खोला मिचेर घरलगायतका संरचना निर्माण गर्नाले राजधानी नै जलमग्न हुन पुगेको छ ।

केही व्यक्तिका कारण हजारौंले दुःख–कष्ट भोग्नुपर्ने स्थितिको अन्त्य नभएसम्म राजधानीवासीले हरेक वर्ष दुःख पाउनेमा दुई मत छैन । राज्य सञ्चालकहरु कमजोर बन्दा भूमाफियाहरु मुलुकलाई तहसनहस बनाउन उद्यत् रहेका देखिन्छन् । यसका कारण आम नेपालीले दुःख झेल्दै आएका छन् । यस वर्षको मनसुन शुरु भएपछि ३२ जनाले अकालमा ज्यान गुमाइसकेका छन् भने ३ दर्जनभन्दा बढी नागरिक बेपत्ता भएका छन् । बाढीपहिरो र डुबानका कारण अर्बौंको क्षति भएको छ । मनसुनजन्य प्रकोपबाट मुलुकमा उत्पन्न हुने विपद् न्यूनीकरणका लागि राज्यले अपनाउनुपर्ने पूर्वतयारी नगर्दा त्यसले मानव जीवनमा गम्भीर असर पारेको छ । यसतर्फ राज्यको ध्यान समयमा नै जानुपर्ने थियो तर त्यसो हुन सकेको देखिँदैन ।

मौसममा आएको परिवर्तनले नेपाललगायत विश्वका अधिकांश मुलुक प्रभावित भएका छन् । अन्य मुलुकले मौसममा आएको परिवर्तनपछि अपनाउनुपर्ने सबै प्रक्रियालाई अवलम्बन गरेको भए पनि नेपालले भने अहिलेसम्म केही गरेको देखिँदैन । राज्य सञ्चालकहरु सत्ता टिकाउने र आफ्ना मान्छेलाई सत्ताको स्वाद चखाउने काममा व्यस्त हुनुले मुलुकका ज्वलन्त समस्या ओझेलमा पर्दै गएका छन् । जनताको सुख–दुःखको साथी बन्नुपर्ने सरकार बेखबरको अवस्थामा रहेको छ । यसले गर्दा जनताले हरेक क्षेत्रमा दुःख भोग्नुपरेको छ । हरेक वर्ष आउने यस्ता खाले विपद्ले पु¥याउने जोखिमलाई कम गर्न सरकारले पूर्वतयारीलाई तीव्रता दिन सके क्षति न्यूनीकरण गर्न सकिने थियो । त्यसतर्फ राज्यका सम्बन्धित निकायको ध्यान जान जरुरी छ । समयमा नै सतर्कता अपनाउन सके क्षति कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्