प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक

राजकीय सम्मानसहित अन्त्येष्टि



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल पौडेलको बुधबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । डा. युवराज शर्माले प्रेस नोट जारी गरी ६९ वर्षीया सीताको अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको जानकारी दिनुभयो ।

लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी)बाट ग्रसित सीताकोे स्वास्थ्यमा समस्या देखिएपछि बुधवार बिहान अस्पताल लगिएको थियो । नेपालका साथै अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा उपचार गरिए पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको थिएन । उहाँको निधनसँगै प्रधानमन्त्री प्रचण्डले पत्नी मात्र नभएर कुशल राजनीतिक सल्लाहाकार समेत गुमाउनुभएको छ ।

जीवनको आधा शताब्दीभन्दा बढी झण्डै ५४ वर्षसँगै रहेका सीता–प्रचण्डको सहयात्रा बुधबारबाट सदाका लागि टुटेको छ । प्रचण्डको साथमा अब माहिली छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र कान्छी छोरी गंगा दाहाल मात्रै छन् ।

वि.सं. २०२६ वैशाख २६ गते सीतासँग विवाह गरेको प्रचण्डले २०७६ वैशाख २६ गते पन्चेबाजासहित धुमधामसँग विवाहको ५० औं वर्षगाँठ समेत मनाउनुभएको थियो । त्यसबेला उक्त वर्षगाँठ उत्सवलाई आलोचकले पुँजीवादी भद्दा नाटकको संज्ञा दिए पनि उहाँका छोरीहरू, धार्मिक व्यक्तिहरू र डाक्टरहरू समेतको सल्लाहअनुसार सीताको खुसीको लागि वर्षगाँठ मनाइएको चर्चा चलेको थियो । त्यसबेला प्रचण्डले भन्नुभएको थियो– ‘मेरो जीवनको सबल र दुर्बल पक्ष सबैका सामु छर्लङ्ग छ । आजको यो उत्सव मेरो आविष्कार होइन, सीताकै योजना र रहर हो । यसलाई छोरीहरूले पनि राम्रै रूपमा लिए । डाक्टरहरूको सल्लाह पनि औषधि सेवनसँगै मनोवैज्ञानिक रूपमा प्रेम र हौसला दिनसके छिटो निको हुने भन्ने नै थियो । यस कार्यक्रमले उनलाई भित्रैबाट निकै सकारात्मक ऊर्जा दिएको छ ।’ पत्नी सीताको स्वास्थ्यभालका लागि प्रचण्डले चिकित्सकीय उपचारदेखि सामाजिक र धार्मिक परम्परा अनुसारका विभिन्न तीर्थयात्रामा लैजानसमेत कुनै कसर छोड्नु भएको थिएन ।

प्रचण्डले वि.सं. २०७० यता दुई सन्तान र श्रीमतिसहित पारिवारका तीन सदस्य गुमाउनुभएको छ । प्रचण्डले वि.सं. २०७० चैत १३ गते जेठी छोरी ज्ञानु दाहाललाई गुमाउनुभएको थियो । करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पीडित ज्ञानुको ४० वर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । ज्ञानुलाई उपचारका निम्ति भारत तथा अमेरिका पु¥याइए पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंमै ल्याई ओम अस्पतालमा राखिएको थियो ।

त्यस्तै, प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको समेत वि.सं. २०७४ मंसिर ३ मा ३६ वर्षको उमेरमा निधन भएको थियो । प्रचण्डकै मुख्य सहयोगीको भूमिकामा रहने प्रकाशलाई पनि अचानक स्वास्थ्य समस्या देखिएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालमा पु¥याइएको केही समयमै प्रकाशको निधन भएको थियो । छोरा प्रकाशको निधन हुँदा प्रचण्ड चुनावी प्रचारका लागि झापामा हुनुहुन्थ्यो भने छोरी ज्ञानु र पत्नी सीताको निधनमा उहाँ काठमाडौंमासँगै हुनुहुन्थ्यो ।

छोरा प्रकाशको निधनदेखि नै आमा सीताको स्वास्थ्य समस्या जटिल बन्दै गएको थियो । प्रकाशको निधनपछि पुत्रशोकले सीतामा मानसिक समस्या देखिएको थियो । प्रचण्ड परिवारका लागि यो घटना अरूभन्दा फरक र अकल्पनीय बन्न पुगेको छ । पछिल्ला केही वर्षयता निको नहुने रोगले गलाउँदै लगेको सीताको अवस्था दिनदि नै शिथिल हुँदै गएको थियो । केही महिनायता उहाँ अचेत अवस्थामा पुग्नुभएको बताइएको छ ।

उहाँको निधनले प्रचण्ड परिवारमा मात्र नभई नेपालको राजनीतिक आन्दोलनमा समेत अपुरणीय क्षति पुगेको नेताहरूले बताएका छन् ।

भूमिगत राजनीतिक पृष्ठभूमिबाट आएकाले प्रचण्डका परिवारका सबै सदस्य राजनीतिमै सक्रिय रहँदै आएको थियो ।

राजकीय सम्मानसहित अन्त्येष्टि

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले ‘प्रथम महिला’को रूपमा राजकीय सम्मानसहित सीताको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । दिवंगत सीता दाहालको अन्त्यष्टीमा सरकारले नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाएको थियो । पशुपति आर्यघाटमा सीताको पार्थिव शरीरमा उहाँका पति प्रचण्ड र छोरीहरू रेनु तथा गंगा दाहालसमेतले दागबत्ती दिनुभएको थियो ।

सीताकोे पार्थिव शरिरलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेताहरू, नेकपा (माओवादी केन्द्र)का अधिकांश नेताहरूलगायत विभिन्न राजनीतिक दलका हजारौं नेता कार्यकर्ताहरू माओवादी पार्टी कार्यालय पेरिसडाँडा र पशुपति आर्यघाट पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका सबै राजनीतिक दलका शीर्ष नेताहरूसहित सबै राजनीतिक दलहरूले शोक वक्तव्य जारी दिवंगत सीताको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

सीताको निधनका कारण नेपाली कांग्रेसले बुधवार बोलाएको केन्द्रीय समितिको बैठकसमेत स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्