आफ्नै विधान कुल्चँदै कांग्रेस

नेतृत्वप्रति थारू नेताहरू रुष्ट



काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ । लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको कांग्रेसले पछिल्लो समय आफ्नो विधान आफैं कुल्चँदै आएको हो ।

लोकतान्त्रिक मूल्यमान्यता बोकेको दल कांग्रेसका हरेक नेताकार्यकर्ताले विधिको शासनको कुरा गर्ने तर, विधि र विधानमाथि ‘कु’ गर्न पछि नपर्ने गरेका तथ्यहरू प्रशस्त छन् । पार्टीको केन्द्रीय नेतृत्वले नै विधानविपरीत कार्यहरू गर्दै आएपछि मातहतका समिति तथा भ्रातृ संगठनहरूसमेत विधानअनुसार चल्न नसकेको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले बताउनुभयो ।

पार्टीको चालचरित्र र चेहरा परिवर्तनको एजेन्डासहित कांग्रेस रूपान्तरणको अभियान चलाएका घिमिरेले मूल नेतृत्वबाटै पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेसको मूल नेतृत्वबाटै विधानमाथि ‘कु’ भएको छ । मुलुकको लोकतान्त्रिक दल कांग्रेसका नेताहरूले नै विधानअनुसार पार्टी नचलाउँदा नेताहरूको नैतिक धरातलसमेत गुमेको छ । पार्टीको साख निरन्तर ओरालो लागिरहेको अवस्थालाई ख्याल गरेर हामीले त्यसलाई बदल्नुपर्नेछ । यसो गर्दा पार्टी नेतृत्व नै परिवर्तनको अवस्थासमेत आउन सक्छ ।’

१४औं महाधिवेशन भएको बिस महिना बितिसकेको छ । यो बीचमा पार्टीले गर्नुपर्ने तमाम कामहरू सभापति शेरबहादुर देउवाले थाँती राख्नुभएको छ । महाधिवेशनको ६ महिनाभित्र मनोनयन गर्नुपर्ने कोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, गठन गर्नुपर्ने विभाग र विभिन्न समितिहरू सभापति देउवाले बिस महिना बितिसक्दासमेत खाली राख्नुभएको छ । यी सबै कार्यका पूर्वतयारीका लागि प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठकसमेत एक वर्षदेखि बस्न सकेको छैन ।

यसबीचमा भएका तीन तहको निर्वाचनमा समेत पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले सबै निर्णयहरू गरेको भन्दै केन्द्रीय सदस्यहरू पार्टी नेतृत्वप्रति रुष्ट बनेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेसम्म पार्टी पदाधिकारी र कार्यसम्पादनका नाममा विधानलाई कुल्चिएर कांग्रेस अघि बढेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘पार्टी विधानअनुसार चल्नुपर्छ भनेर निरन्तर आवज उठाइरहेँ तर, सुनुवाइ भएन । नेतृत्व तहमा रहेका युवा नेताजीहरूले समेत पार्टीलाई सही बाटोमा डो¥याउन सक्नुभएन ।

पदाधिकारी र कार्यसम्पादनका नाममा केन्द्रीय समितिलाई हरेक निर्णयमा बाइपास गर्दै विधानविपरीत निर्णयहरू गर्दै आउनुभयो, जुन निर्णयले पार्टीलाई फाइदा गरेन ।’ असार २७ बाट हुने केन्द्रीय समितिको बैठकमा यी सबै विषयको उठान हुने उहाँले नेपाल समाचारपत्रसँग बताउनुभयो । यसअघि महरले भन्नुभयो– ‘एक वर्षपछि केन्द्रीय समितिको बैठक राखिएको छ । यही बैठकले सबै समस्याका विषयमा व्यापक छलफल गरेर कांग्रेसलाई पुनर्जाग्रित बनाउछ भन्नेमा हामी विश्वस्त छौं ।’

२०७९ असार २७ देखि साउन २ सम्म बसेको केन्द्रीय समिति बैठकपछिको अर्को बैठक यही असार २७ गते बुधबार बस्दै छ । उक्त बैठकमा चुनावी समीक्षा, आन्तरिक असमझदारी, विभाग तथा समितिहरू गठन, खाली रहेका भ्रातृ संगठनलाई पूर्णता दिनेलगायत विषयले प्राथमिकता पाउने नेताहरूले बताएका छन्् । यद्यपि, बैठकका एजेन्डा तय गर्नका लागि बुधबार बिहान पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री जीवन परियारले बताउनुभयो । कांग्रेसले महाधिवेशनको ६ महिनाभित्र गर्ने भनेको नीति महाधिवेशनसमेत गर्न सकेको छैन । केन्द्रीय समितिको यही बैठकले नीति महाधिवेशनको मिति तय गर्ने परियारले बताउनुभयो । कांग्रेसमा नीति महाधिवेशन अघि पार्टीको गाउँ अभियान सञ्चालन गर्ने विषमा समेत छलफल प्रारम्भ भएको छ ।

उक्त अभियानको प्रारूप भने केन्द्रीय समिति बैठकले निर्धारण गर्ने नेताहरूले बताएका छन् । ‘कस्तो प्रकृतिको अभियान, अवधि, नारा, अभियानको उद्देश्य केन्द्रीय समितिले निर्णय गर्छ’, कांग्रेसका एक नेताले भने– ‘अभियान सकिएपछि मात्रै नीति महाधिवेशन हुन्छ ।’ नीति महाधिवेशन दशैंअघि गर्ने तयारी भएको उहाँको भनाइ छ । अभियानले कांग्रेसको धरातलीय अवस्था जानकारी हुनुका साथै नीति महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने एजेन्डालाई साथ दिने उनले नेपाल समाचारपत्रलाई बताए ।

मूल नेतृत्व अर्थात् पार्टी सभापतिबाट देश र पार्टीमा समेत केही नयाँ आशा नदेखिएको भन्दै दोस्रो र तेस्रो तहका नेताहरू सार्वजनिक भाषण गर्दै आएका छन् । पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका तेस्रो तहका युवा नेताहरूले कांग्रेस रूपान्तरणको अभियान लिएर गाउँगाउँ पुगेका छन् । महामन्त्रीहरूसमेत मूल नेतृत्व परिवर्तनको एजेन्डा बोकेर हिँडेका छन् । महामन्त्री गगन थापाले सार्वजनिक रूपमै पार्टी र देशको नेतृत्व आफू वा आफ्नो पुस्ताका नेताहरूले गर्नु पर्ने बताउँदै आउनुभएको छ । कांग्रेस संसदीय दलको नेता र पार्टी सभापतिसमेत परिवर्तन गर्नुपर्ने एजेन्डा बोकेर लागेको थापाले बताउनुभयो । सभापति देउवाले महामन्त्रीहरूलाई समेत सोधखोज नै नगरी कतिपय निर्णयहरू लिने र त्यसले देश र पार्टीलाई घाटा पुग्दै आएको उहाँले टिप्प्णी गर्नुभयो ।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने उहाँले सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आउनुभएको छ । कांग्रेसमा निर्वाचित सभापति हटाउन सजिलो छैन । तर, विधानअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालिस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ । विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभिन्न २८ वटा विभाग र अनुसाशन, संसदीय समितिहरूले समेत पूर्णता पाएको छैन । प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने व्यवस्था विधानमा उल्लेख छ । त्यस्तै, महासमितिसमेत गठन हुन सकेको छैन । कांग्रेसको विधानअनुसार हुनुपर्ने जिल्ला तथा प्रदेश सम्मेलन पनि हुन सकेको छैन ।

जिल्ला सम्मेलन वर्षमा एकपटक हुने र उक्त सम्मेलनमा जिल्ला कार्यसमितिबाट प्रस्तुत वार्षिक कार्यक्रम र प्रतिवेदनमाथि छलफल गर्ने व्यवस्था छ । जिल्ला सम्मेलनमा जिल्ला अधिवेशनका सदस्यहरू गाउँ÷नगरपालिका सभापतिहरूसमेतको उपस्थिति हुनेछ । यस सम्मेलनले जिल्लाभित्रका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आवधिक मूल्यांकन गरी आवश्यक निर्देशन दिने उल्लेख छ । त्यस्तै, प्रत्येक वर्ष प्रदेश सम्मेलनसमेत गर्नुपर्ने व्यवस्था विधानमा उल्लेख भए पनि व्यवहारमा लागु हुन सकेको छैन । विधान मिचेको कांग्रेसले १४औं महाधिवेशनपछि सरकार गठन, तीनवटा निर्वाचन, गठबन्धन परिवर्तन, संघीय तथा प्रादेशिक सरकार गठन पुनर्गठन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको निर्वाचन, आगामी वर्षको बजेटलगायत विषयलाई देखाएर पन्छिदै आएको छ ।

नेतृत्वप्रति थारू नेताहरू रुष्ट

पार्टीभित्र थारू नेताहरूलाई बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेसमा थारू समुदायका नेताहरूले रुष्ट भएका छन् । पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य रामजनम चौधरी, गोपाल दहित, प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीलगायतका नेताहरू पार्टीप्रति रुष्ट देखिएका हुन् ।

नेतृत्वले थारूप्रतिको दृष्टिकोण नबदलेको भन्दै गत असारको पहिला साता यी नेताहरूबीच छलफल भएको थियो । केन्द्रीय समितिको बैठकमा आफ्ना कुरा प्रष्ट राख्ने र पार्टी नेतृत्वको निर्णयपश्चात् के गर्ने भन्ने विषयमा आफूहरू गम्भीर हरेको केन्द्रीय सदस्य रामजनम चौधरीले बताउनुभयो । असार २७ मा बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि थप रणनीति बनाउने तयारीमा रहेको थारू नेताहरूले बताएका छन् ।

‘कांग्रेसमा नेतृत्वको रवैया देखियो । हाम्रो समुदायका विषयमा परम्परागत शैलीलाई सुधार गर्न नेताहरू तयार भएको देखिएन । यस्तो अवस्थामा कांग्रेसमा बस्ने वा विकल्प खोज्नेसम्मको छलफल गरिरहेका छ,’ एक नेताले भने । थारू संघको विधान, नेपाल तरुण दल विस्तार, मन्त्री छनोटलगायतका विषयमा सामूहिक कुरा उठाउने नेता रामजन चौधरीले बताउनुभयो । ‘थारू संघको विधान नै संशोधन भएको छैन ।

नेपाल तरुण दलको ४ सय जनाको केन्द्रीय कार्यसमिति आउँदा पनि हामीले भनेको एक जनालाई पनि राखिएन । मन्त्री छनोटमा पूरा बेवास्ता गरियो यसले सिंगो थारू समुदायमाथि नै अन्याय भएको महसुस गरेका छौं’, चौधरीले भन्नुभयो । कांग्रेसबाट ९ जना मन्त्री बन्दा पनि एकजना थारूलाई समावेश नगराइएकोमा थारू नेताहरूले आपत्ति जनाएका छन् । थारूहरूको माग–मुद्दाबारे सूची बनाएरै केन्द्रीय समिति बैठकमा पेस गर्नेगरी कांग्रेसका दर्जनबढी थारू नेताहरू आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्