कामपाको मेयर र उपमेयरको कार्यकक्ष भएन अझै तयार, कार्यालय सार्न नसकेपछि ‘पोको’ पार्दै राख्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको सामान काठमाडौं प्लाजाको एक कुनामा पोको पारेर राख्ने भएको छ । असारभित्र पनि काठमाडांै प्लाजामा कार्यालय स्थानान्तरण हुन नसकेपछि प्लाजाको एक कुनामा सामान पोका पारेर राख्न लागिएको हो ।

हाल दुई पदाधिकारीको कार्यालय सुन्धारास्थित जेडिए भवनमा छ । सो भवन असार मसान्तभित्र खाली गर्नुपर्ने भएकोले केही महिनाको लागि मेयर साह र उपमेयर डंगोलको कार्यालयको सामान जेडीएबाट खाली गरी नयाँ भवन काठमाडौं प्लाजास्थित मुख्यालयमा लैजान लागिएको महानगरका एक कर्मचारीले नेपाल समाचारपत्रलाई बताए । उनका अनुसार हतारमा कार्यालय सार्न लागेको परिणामको कारण मेयर र उपमेयर कार्यालय विहीनजस्तै हुनुभएको हो ।

उनका अनुसार मेयर र उपमेयरले केही महिनाको लागि राष्ट्रिय सभागृहबाट काम शुरू गर्ने तयारी गर्नुभएको छ । मेयर साह अधिकांश समय सभागृहमा रहेको कार्यालयमा बस्ने गर्नुभएको थियो भने उपमेयर डंगोल जेडीए भवनबाटै काम गरिरहनुभएको थियो । कामपा कानुन विभाग प्रमुख वसन्त आचार्यलगायत केही कर्मचारीले तयार नभएको भवन हतारमा भाडामा लिने सम्झौता गर्दा समस्या बढेको हो ।
साउनदेखि मेयरको सचिवालय हाल राष्ट्रिय सभाको जिन्सी शाखामा बस्नेछ भने उपमेयरको सचिवालय कहाँ स्थानान्तरण गर्ने भन्ने विषय टुंगो लागेको छैन । कामपाका मेयर र उपमेयर आफ्नो कार्यालयमा नसर्दै नेपाल ट्रस्टले करिब २ करोड ५० लाख रुपियाँ भाडा लिने भएको छ ।

मेयर र उममेयर मात्र होइन हाल सम्पदा, राजस्व र सार्वजनिक निर्माण विभागसमेत काठमाडौं प्लाजामा सर्न सकेको छैन । नेपाल ट्रस्ट कार्यालयले मुक्तिनाथ विकास बैंक, राजघराना र निरमायमा दोहोरी साँझ हटाउन नसक्दा कामपालाई जटिल समस्या परेको छ । यी तीनैवटाले सजावट गरिएका सामग्री, फर्निचरलगायतका सामग्री खरिद गर्न कामपालाई आग्रह गरिरहेको छ । तर, कामपाले ती फर्निचर तथा सामग्रीहरूको विषयमा निर्णय लिन सकेको छैन ।

कामपाको तीन विभाग मात्र होइन, मुख्य योजना निर्माण गरी कार्यान्वयन गर्ने निकाय सहरी योजना आयोगसमेत उक्त भवनमा स्थानान्तरण हुन सकेको छैन ।

कामपाले चैत ९ गतेकै दिनबाट मासिक ६० लाख ५० हजार रुपियाँ तिर्नेगरी नेपाल ट्रस्टसँग भएको सम्झौता गरेको थियो । कार्यालयमा सर्दै नसरी कामपाले तीन महिनाको भाडा तिर्नुपर्ने भएको छ भने १० वर्षमा करिब ८० करोड रुपियाँ तिर्नुपर्नेछ ।

काठमाडौं प्लाजाभित्र महानगरका चार दर्जनभन्दा बढी विभाग, योजना र निकाय स्थानान्तरण भैसकेको छ । भुइँ तलामा पार्किङ, नगरप्रहरी, बैंक काउन्टर, सवारी चालक कोठा, जिन्सी शाखा, आपत्कालीन सेवा केन्द्र, विपद् व्यवस्थापन विभाग, स्वाथ्य सेवा केन्द्र, मूलदर्ता र पञ्जिकरण कार्यालय रहने छ । पहिलो तलामा राजस्व, शहरी व्यवस्थापन विभाग, समाजिक विकास विभाग, मिसिल र तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, बैठक कक्ष र विषयगत समिति रहनेछ ।

दोस्रोमा ट्राफिक सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि र पशुपंक्षी विभाग, शिक्षा विभाग, कानुन तथा मावनअधिकार विभाग र इजलास रहनेछ । तेस्रो तलामा प्रशासन विभाग, वित्त विभाग, आन्तरिक लेखा परीक्षण, खरिद ईकाई, अनुगमन तथा मूल्याङ्कन ईकाई र प्रमुख प्रशासकीय अधिकृतको सचिवालय रहनेछ ।

त्यसैगरी चौथो तलामा सार्वजनिक निर्माण विभाग, सहरी योजना विभाग, सूचना प्रविधि विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी ईकाई, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र मेयरको सचिवालय रहने व्यवस्था गरेको छ । पाँचांै तलामा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, रिफ्रेसमेन्ट सेन्टर, क्यान्टिन, सानो बैठक कक्ष र कल सेन्टर रहने छ ।

करिब ५ रोपनी क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ । १ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा १ लाख १९ हजार वर्गफिट जमिन कार्यालय प्रयोगमा ल्याउन सकिने कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्