रोकिएन बसाइँसराइ !



लमजुङ । लमजुङको सदरमुकामसमेत रहेका बेसीशहर नगरपालिकाबाट बसाइँ सरेर अन्यत्र जानेको संख्या बढेको छ ।

२०७९ साउन देखि २०८० असारको हालसम्म बेसीशहरबाट ३ सय ८१ जना बसाइँ सरेर गएको नगरपालिकाको तथ्यांक छ ।

बेसीशहर नगरपालिकापञ्जीकरण शाखाका अपरेटर सुनील घिमिरेका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक सय २० घरधुरीका ३ सय ८१ जना बसाइँसराइ गरी अन्यत्र गएका हुन् ।

२०७७ सालदेखि २०७९ सम्ममा बेसीशहरबाट एक सय ९३ घरधुरीका सात सय २२ जना बसाइँ सरेर अन्यत्र गएको तथ्याङकमा उल्लेख छ ।

नगरपालिकाबाट बसाइँ सरेर अन्यत्र जाने मात्र नभई अन्यत्रबाट पालिकामा बसाइँ सरेर आउने पनि गरेको तथ्याङ्कमा उल्लेख छ ।

बसाइँ सरेर आउनेभन्दा जानेको संख्या वर्षेणी बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७८ साउन देखि २०७९ असारसम्म एक सय १६ घरधुरीका चार सय ३४ जना र २०७९ को हालसम्म एक सय २० घरधुरीका तीन सय ८१ जना बसाइँ सरी आएका तथ्याङ्क रहेको घिमिरेले जानकारी दिनुभयो ।

एघार वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुनेक्रम बढ्दो छ । केही वडा ग्रामीण र विकट छन् ।
ग्रामीण भेगका वडाबाट बजारतिर बसाइँ सर्नेक्रम बढ्दै गएको छ । बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको संख्या पनि उत्तिकै छ ।

यस वर्ष बेसीशहरको वडा नम्बर ११ बाट सबैभन्दा धेरै बसाइँ सरी अन्यत्र जानेक्रम बढ्दो देखिन्छ । वडा नम्बर ११ बाट मात्र ३२ घरधुरीका ९९ जना बसाइँ सरी अन्यत्र गएका छन् । त्यसै गरी वडा नम्बर १ बाट १० घरधुरीका २६ जना, वडा नम्बर २ बाट १४ घरधुरीका ५० जना, वडा नम्बर ३ को १७ घरधुरीबाट ४४ जना, वडा नम्बर ४ को ५ घरधुरीको १९ जना, ५ बाट १० घरधुरीको ४६ जना, ६ बाट ८ घरधुरीको ३० जना, ७ बाट ५ घरधुरीको ८ जना, ८ बाट २ घरधुरीको १० जना, ९ बाट १० घरधुरीको ३७ जना र १० बाट ७ घरधुरीका १२ जना बसाइँ सरी अन्यत्र गएको पञ्जीकरण शाखाका अपरेटर घिमिरेले बताउनुभयो ।

स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने नगरप्रमुख गुमनसिंह अर्यालको भनाइ छ ।

ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउनेक्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधा सम्पन्न कलेज, निर्माण गर्न ध्यान दिनुपर्ने नगरप्रमुख अर्यालको धारणा छ ।

बेसीशहर बाट विभिन्न कारणले मानिस अन्यत्र बसाइँ सरेर जानुलाई आफूले गम्भीर ढङ्गले लिएको नगर प्रमुख अर्यालले बताउनुभयो ।

बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाइँसाराइ गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाइँ सरेर जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्