कामपाले छान्यो १० गौरवका योजना : गौरवका योजनालाई ३ अर्ब ८० करोडको बजेट



–धुलोरहित सडक योजनालाई १ अर्ब

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वटा गौरवका योजना छनौट गरी उक्त योजनाका लागि ३ अर्ब ८० करोड रुपियाँका छुट्टयाएको छ । उपमेयर सुनिता डंगोलद्वारा जारी बजेटमा उल्लेखित गौरवका योजनाको विषयमा सोमबार छलफल भएको थियो ।

कामपाका प्रवक्ता नवीन मानन्धरले महानगरले १० वटा योजना तयार गरी कार्यान्वयन गर्ने विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो –‘महानगरलाई साँच्चिकै मेरो गौरवको महानगर बनाउन गौरवको योजना छनौट गरी कार्यान्वयनको चरणमा छौं ।’

कामपाको १३ औँ कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँ बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमध्ये ३ अर्ब रुपियाँ गौरवको योजनामा समेटिएको छ । कामपाले ‘उज्यालो शहर, मेरो महानगर’ शीर्षकअन्तर्गत ३० करोड रुपियाँ विनियोजन गरेको छ । उक्त शीर्षकअन्तर्गत सडकगल्लीमा सडकबत्ती, सय स्थानमा हाइमास्ट लाइट र ३ वर्षसम्म सबै सडक र गल्लीमा बत्ती जडान गर्न रकम विनियोजन गरेको छ ।

त्यस्तै, ३ वर्षभित्र महानगरको सबै गल्ली र सडकमा सीसीटिभी क्यामेरा जडान गर्नेगरी ‘महानगरले देख्छ’ शीर्षकमा २० करोड रुपियाँ विनियोजन गरेको छ । ३ वर्षभित्रमा महानगरको क्षेत्रअधिकारभित्रका सबै सडक र पेटीहरूलाई धुलोरहित बनाउन १ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

महानगरले ‘रोजगारी आयवृद्धि, महानगरको समृद्धि’ योजनाअन्र्तगत महानगरवासीको सिप, क्षमता, आय आर्जन गर्न र ३ वर्षभित्र १० हजार जनालाई रोजगारी उपलब्ध गराउन १० करोड रुपियाँको गौरवको योजना तय गरेको छ । ३ वर्षभित्र १ लाख वृक्षरोपण गर्न ‘मेरो शहर सुन्दर र हरित शहर’ योजनाअन्तर्गत ५० करोड रुपियाँ विनियोजन गरेको छ ।

‘संस्कृति, सम्पदा र पर्यटन ः महानगरको धन’ शीर्षकमा महानगरले समग्र कला संस्कृति र सम्पदाको पुनर्जीवन र पर्यटन प्रबद्र्धन गर्न प्रत्येक वर्ष ५० करोडको दरले ३ वर्षमा १ अर्ब ५० करोड रुपियाँको योजना तयार गरेको छ । स्वास्थ्य प्रवर्धन केन्द्र सलीकरण गरी ती केन्द्रमार्फत महानगरवासीको स्वास्थ्यमा टेवा पु¥याउन महानगरले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रमअन्तर्गत ३५ करोड रुपियाँ विनियोजन गरेको छ ।

‘सबैको चाहना ढुंगेधारा, हिटी र पोखरीको पुनःस्थापना’ योजनाअन्तर्गत ५० वटा हिटीको पुनःस्थापना गर्न ३५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिका र वडा समितिको कार्यालयबाट प्रवाह हुने सेवालाई सेवाग्राहीमैत्री बनाउन र प्रविधिको प्रयोग बढाउन १५ करोड रुपियाँ विनियोजन गरिएको छ ।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’ शीर्षकमा महानगरको सामुदायिक विद्यालयको पूर्वाधार सुधार र गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न र गरीखाने शिक्षामा जोड दिन ५० करोड रुपियाँ छुट्टयाएको छ । कामपाले यो योजनालाई विभाग र सहरी योजना आयोगमार्फत कार्यान्वयन गर्नेछ । प्रवक्ता मानन्धरले गौरवका योजना कार्यान्वयन भएपछि कामपाको काम साँच्चिकै गौरव गर्न लायक हुने दाबी गर्नुभयो ।

यीबाहेक सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीको लागि ९० घन्टाको छोटो अवधिको सीपमूलक एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङलगायत १० वटा तालिम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्