सरकार परिवर्तनको सम्भावना तत्कालका लागि टर्यो



काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने एजेन्डा बोकेर हिँडेको एमालेका लागि तत्काल उक्त सम्भावना टरेको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवालाई प्रधानमन्त्रीको प्रस्ताव ल्याएको एमालेले असार १३ मा बजेट पारित हुन नदिने कसरत गरेपनि मत विभाजनमा उपस्थित सत्ता पक्षका सबै सांसदहरूले आर्थिक वर्ष २०८०÷२०८१ को विनियोजन विधेयकका पक्षमा मतदान गरेसँगै एमालेको एजेन्डा तत्काललाई तुहिएको सत्ता पक्षका सांसदहरूले बताएका छन् । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिपक्षी बेन्चमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको बलमा सरकारले ल्याएको बजेट असफल पारेर सरकार परिवर्तनको संम्भावना खोज्दै इतिहासमै पहिलोपटक विनियोजन विधेयकमाथि मतदान गर्न लगाएको थियो ।उक्त प्रक्रियामाविनियोजन विधेयक पक्षमा १ सय ४७ मतसहित बजेट पारित गरेपछि एमालेले घटाउन खोजेको सरकारको आयुमा तत्काल कुनै असर पर्ने अवस्था नदेखिएको नेताहरूले बताएका छन् ।

सरकारबारे भइरहेको टिप्पणी र असन्तुष्टि गठबन्धनका दलभित्र रहेको गुटको प्रभाव मात्रै भएको बताइएको छ । माधव नेपालले गठबन्धनभित्र बलियो स्थान बनाउन र कांग्रेस महामन्त्री गगन थापाले आफ्नै पार्टीभित्र असन्तुष्टि भएकाले बाहिर बोल्दै आएको गठबन्धनका एक नेताले बताए । उनले भने– ‘उपेन्द्र यादवलाई मधेश प्रदेशको सरकार सुरक्षित गर्नुछ, माधव नेपाललाई गठबन्धनभित्र बलियो स्थान बनाउनु छ, गगन थापालाई आन्तरिक असन्तुष्टि पोख्नु छ, त्यतिमात्रै हो, गठबन्धन केही हुन्न ।’ यिनै असन्तुष्टिलाई टेकेर प्रतिपक्षी दलहरूले खेल्न खोजेको उनको दाबी छ ।

कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘प्रतिपक्षी दलहरूले सरकार र सत्ता गठबन्धन दलहरूबीच अनेकन रूपमा खेख्न खोजेपनि अहिले नै एमालेको आकांक्षा पूरा हुँदैन । यो सरकारले ल्यााएको बजेट पारित गर्न नदिने उसको सपना मात्रै तुहिएन, सदनमा भएको मतदान प्रक्रियाबाट बहुमतले बजेट पारित भइसकेपछि एमालेको एजेन्डासमेत सकिएको छ ।’

निकट विगतको राजनीतिक पृष्ठभूमि र सम्भावित समीकरणको जोखिमका कारण पनि अहिलेको गठबन्धन र सरकार बदलिने कुरा कल्पना बाहिरको भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । शेरबहादुर देउवाले एमालेसँग सरकार बनाउनतिर लाग्दा फेरि कम्युनिस्टहरू मिल्न सक्छन् भन्ने कुरामा कांग्रेस सचेत रहेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘पुस १० को गठबन्धनले गुमाइसकेको शक्ति फेरि आर्जन गर्न सफल देउवाले यो गठबन्धनमा अविश्वास हुने काम गर्नुहुन्न । हाम्रो कारणले यो गठबन्धनमा कुनै अप्ठ्यारो आउँदैन।’

बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारको सम्भावित संकट तत्काललाई टरेको नेकपा (एकीकृत समाजवादी)का एक नेताले बताए । उनले भने–‘एमालेले अनेकत तिकडम गरेर सरकारलाई असफल बनाउने र राजनीतिक अस्थिरता कायमै राख्ने अभियान चलाएको थियो । तर, उसले उठाएको एजेन्डा तुहिएको छ । यो सरकार गठबन्धन दलहरूबीचको सहमतिअनुसार पूरै कार्यकाल जाने विषयमा हामी ढुक्क छौं ।’

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट अनुमोदनको पक्षमा १सय४७ र विपक्षमा १सय ८ मत परेको थियो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा प्रष्ट बहुमत रहेको समेत पुष्टि गरेको छ । अव यो सरकारप्रति कसैले अविश्वास व्यक्त गर्नसक्ने अवस्था नरहेको नेताहरूले बताएका छन् ।

यसअघि गत चैत ६ मा प्रचण्डले विश्वासको मत लिँदा १सय७२ मत पाउनुभएको थियो । तर, त्यसबेला विश्वासको मत दिएकामध्ये रास्वपा र जनमत पार्टीले बजेटको विपक्षमा मतदान गरेका छन् । कांग्रेसका सभाापति देउवालाई प्रधानमन्त्रीको पासा फालेको एमालेभन्दा वर्तमान गठबन्धनमै कांग्रेस सुरक्षित हुने देउवाका निकट सल्लाहकारहरूले सुझावअनुसार सभापति देउवा हाललाई प्रधानमन्त्रीको लोभमा नफस्ने देउवा निकट नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गत चैत्र ६ मा दोस्रोपटक विश्वासको मत लिँदै गर्दा सदनमा एमालेले केही महिनाभित्रै प्रचण्डले तेस्रोपटक विश्वासको मत लिने कार्यसूची कहिले राख्नुहुन्छ भनेर प्रश्न गरेका थिए । तर, कांग्रेस,जसपा, एकीकृत समाजवादीलगायत दलहरूको समर्थन कायम रहँदा एमाले नेताहरूको गरेको चेतावनीयुक्त टिप्पणी जस्तो तेस्रोपटक विश्वासको मत लिनुपर्ने परिस्थिति आएन । यद्यपि, सत्ता समीकरण परिवर्तन गर्न एमाले र रास्वपाका नेताहरूको प्रयास निरन्तर चलिरहेको छ । विशेष गरी कांग्रेसलाई अहिलेको गठबन्धनबाट अलग गराएर सरकार बनाउन एमाले नेताहरू लागिपरेको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डले सत्ताको आयुप्रति शंका नगर्न आग्रह गर्नु पछाडि मुख्य सत्ता साझेदार दलका नेताहरूको सार्वजनिक अभिव्यक्ति कारण थियो । असार ९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले चित्त नबुझे सत्ता गठबन्धन बदलिने बताएपछि मुलुकको राजनीतिमा तरंग उत्पन्न भएको थियो । थापाकैजस्तो मिल्दो सार्वजनिक अभिव्यक्ति पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि थियो । असार ८ गते एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै चलाओस्, साथ दिन तयार छु भनिरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्