कृषकलाई मलकार्ड, विदुर पुरुषलाई भत्ता



 नवलपरासी। 

आर्थिक वर्ष सकिनै लाग्दा जिल्लाका आठै ओटा स्थानीय निकायले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेका छन् ।
भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एक मात्र नवलपरासी पूर्वको गाउँपालिका विनयी त्रिवेणीले कृषिको उत्पादकत्व बृद्बिका लागि किसानलाई रासायनिक मल कार्ड वितरण गर्ने नीति लिएको छ ।

त्यसैगरी  बेरोजगार  युवाहरूलाई सूचीकरण गरी  सिपमूलक तालिम,ग्रामीण एकीकृत पर्यटन विकास कार्यक्रम, बृहद एकीकृत  गाउँ विकास योजना, योजना बैङ्कको निर्माण,  प्लास्टिकको प्रयोगलाई घटाउँदै  प्लास्टिक मुक्त विनयी त्रिवेणी बनाउने लक्ष्य लिएको छ ।

त्यसै गरी गाउँ पालिकाबाटै फुसको छानो विस्थापन, नदिघाट व्यवस्थापन, नारायणी नदीमा बहुवन त्रिवेणी मोटर बोटको सम्भाव्यता अध्ययन, दम्किबास त्रिवेणी पहुचमार्गको निर्माण जस्ता योजना कार्यक्रममा राखेको छ ।

विनयी त्रिवेणी गाउँ सभाको १३ ओं अधिवेशनले ७३ करोड ४० लाख बराबरको बजेट प्रस्ताव गरेको छ ।

यसैगरी  हुप्सेकोट गाउँपालिकाले सामुदायिक वनहरुसँग  समन्वय गरी कुहिने पातपतिङ्गरबाट  कम्पोस्ट मल उत्पादन, विषादी न्यूनीकरण अर्ग्यानिक उत्पादन, एक वडा एक पोखरी, सफा झोला वितरण गरी  प्लास्टिकको प्रयोगमा कमी गर्ने नीति लिएको छ ।

यस्तै आधारभूत तह सम्मको शिक्षालाई निःशुल्क बनाउँदै विद्यालय शिक्षाबाट बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने,टिकाउने र सिकाउने गरी सिपमूलक मानव पुँजीका रूपमा विकास गर्ने नीति लिएको छ ।

हुप्सेकोटले ४९ करोड ७३ लाख बराबरको बजेट ल्याएको छ ।

पहाडी बौदिकालि गाउँ पालिकाले बालमैत्री स्थानीय शासन, जनतासँग अध्यक्ष, महिलासँग उपाध्यक्ष, कृषि र पशुपालनमा आत्मनिर्भर गाउँ पालिका बनाउने नीति लिएको छ ।

यसैगरी  शैक्षिक योग्यता प्राप्त युवाका लागि लोकसेवा तयारी कक्षा, ग्रामीण पर्यटनका लागि पदमार्ग निर्माण, एकल जीवन जिउने विदुर पुरुषका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था  नीति तथा कार्यक्रममा बौदिकालिले राखेको छ ।
बौदिकालीले ४२ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

त्यस्तै पहाडकै बुलिङ्टार गाउँपालिकाले नतिजामा आधारित शैक्षिक अनुदान कार्यक्रम, परम्परागत सीप र प्रविधिलाई अनुदान, वर पिपल संरक्षण र प्रवर्द्धन कार्यक्रम, गाउँ प्रहरी गठन, हरेक शैक्षिकसंस्था वरपर करेसाबारी तथा बृक्षरोपण गरेर हरित विद्यालय निर्माण जस्ता नीति अघि सारेको छ ।

यस्तै पालिका भित्र हाईटेक नर्सरी, बिउ बैङ्कको स्थापना, बालबालिकालाई दिइने दिवा खाजामा स्थानीय खाद्यान्नको प्रयोग बुलिङ्टार गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको छ ।

बुलिङ्गटारले ४३ करोड ४६ लाख ८७ हजार ४ सय बराबरको बजेट प्रस्तुत गरेको छ ।

यसै गरी नगरपालिका तर्फ गैँडाकोट नगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिक तहसम्मको शिक्षा निःशुल्क, एक घर एक बिरुवा, एक गाउँ एक उत्पादनलाई समेटेको छ ।
यस्तै नगर प्रहरी गठन, दमकल खरिद, गुण स्तरीय घरेलु मदिराको लेवलिङ्ग जस्ता कार्यक्रम गैँडाकोटले बनाएको छ ।
गैँडाकोटको प्रस्तावित बजेट अर्ब १ करोड ४२ लाख ५० हजार रहेको छ ।

देवचुली नगरमा उद्यमशीलता विकास कोषको स्थापना, एकघर एक करेसाबारी, रासायनिक मलको विकल्पमा गोठेमल, उत्कृष्ट करदाता र रोजगारदाता सम्मान जस्ता बिषयहरू आफ्ना नीति तथा कार्यक्रममा राखेको छ ।
यस्तै  ८० करोड २६ लाख बराबरको अनुमानित बजेट देवचुली नगरले प्रस्ताव गरेको छ ।

सदरमुकाम स्थित कावासोती नगरले विद्यालयमा अध्ययनरत बालबालिकाको हेल्थ प्रोफाइल निर्माण, फिस हवका लागि ८ ओटा वडाको छनौट, आईएसओ सर्टिफाईड नगरपालिका, सडक नामाकरण तथा डिजिटल स्ट्रिट नम्वरिङ्ग प्रणालीको नीति अघि सारेको छ ।

यसैगरी दूध उत्पादनक किसानलाई लिटरमा २ रुपैयाँ अनुदान, ज्येष्ठ नागरिकलाई हरेक ४ महिनामा घर घरमै स्वास्थ्य परीक्षण, छाडा चौपाया गौशाला निर्माण, एकवडा एक पकेट क्षेत्र तथा पर्यटन सूचना केन्द्र खोल्ने नीति तथा कार्यक्रम बनाएको छ ।

कावासोती नगरपालिकाले सशर्त अनुदान बाहेक ६३ करोड २७ लाख ६१ हजार ७ सय ६६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

त्यसैगरी  पूर्व पश्चिम देशकै बिचमा रहेको मध्यबिन्दु नगरपालिकाले मध्यबिन्दु स्तम्भ तथा सुविधा सम्पन्न रिफ्रेस सेन्टरको निर्माण, हाम्रो खुसी हाम्रो कृषि, कृषि एम्वुलेन्स जस्ता कार्यक्रम ल्याएको छ ।

मध्यबिन्दुले कृषि पकेट क्षेत्र र ओैद्योगिक विकासको सम्भावना बोकेका स्थानीय गिरूवारी र अरूणखोलामा कोरिडोर, पर्यटकीय मार्ग, रमास्मृति रंगशाला निर्माण जस्ता कार्यक्रमलाई पारित गरेको छ ।

मध्यबिन्दुले ९७ करोड ६० लाख ८७ हजार ५ सय ९० रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्