नेपाली खेलाडीले राम्रै खेले : सिंह

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन



काठमाडौं । भारतको बैगलोरमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले लगातार दुई खेलमा हार व्यहोरेर प्रतियोगिताबाटै बाहिरिनुपरेको हो । नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ को हार व्यहोर्दा दोस्रो खेलमा आयोजक टोली भारतसँग नेपाल २–० ले हारेको थियो । नेपालले मंगलबार पाकिस्तानसँग प्रतिष्ठाको लागि खेल्नेछ ।

साफ च्याम्पियनसिपको यो चौधौं संस्करण हो । १९९३ देखि शुरु भएको साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपालले गत संस्करणमा फाइनलको यात्रा तय गरेको थियो । तर, त्यहाँ पनि हार व्यहोर्नुप¥यो । फाइनलमा भारतसँग नेपाल हारेको थियो । यो नेपालको साफ च्याम्पियनसिपको इतिहासमा पहिलो फाइनलसमेत हो ।

मध्यपुर युथ एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंहले गत २०२१ मा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको नतिजा सबैभन्दा राम्रो भएको बताउनुभयो । पूर्व राष्ट्रिय गोलरक्षक सिंहले बताउनुभयो—यो नतिजा अहिलेसम्मकै साफ च्याम्पियनसिपमा राम्रो नतिजा हो । नत्र भने नेपाली टोली समूह चरणबाटै बाहिरिरहेको हुन्छ । यसपटक साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दागर्दै गोल खान पुग्यो र हार हुन पुग्यो । नराम्रो खेलेर जितेको नतिजा पनि कहिलेकाही राम्रो हुन्छ । हामी १९९३ मा साग गेमको फुटबलमा नराम्रो खेलेर फाइनल पुगेका थियौं । घरेलु टोली बंगलादेशले हामीमाथि निकै दबाब बनाएको थियो । तर, हामीले एक मौकामा गोल गरेर यो खेल जित्यौं र पछि फाइनल पुगेर उपाधि पनि जित्यौं । त्यसैले राम्रो खेलेर मात्र हुँदैन फुटबलमा ।

नेपाली टोलीले जारी साफ च्याम्पियनसिपमा दुई खेलमा एक गोल मात्र गर्दा ५ गोल खाइसकेको छ । सिंहले थप्नुभयो—फुटबलमा नतिजा ल्याउने हो भने गोल हुनैपर्छ । भारतसँग राम्रो खेलेको थियो तर, पहिलो गोल खानेबित्तिकै हामी डाउन भयौं र अर्को गोल खान पुग्दा हामीले खेलमा फर्कन नसक्ने भएका थियौ । तर, खेलमा हामीले मौका नपाएको भने होइन, एउटा लंग रेन्जको प्रहार भारतका गोलरक्षकले बचाए । पहिलो हाफमा पाएको अवसर गोलमा परिणत भएन । पहिलो हाफमा राम्रो खेलेको थियो । हामीले जित्ला जस्तो भएको थियो ।

नेपालको लागि एक मात्र गोल गरेका अञ्जन विष्टलाई निकाल्नु पनि हारको कारण भएको सिंहको भनाइ रहेको छ । सिंहले बताउनुभयो—मलाई लागेको अञ्जनलाई निकालेपछि हामीले हार्ने हो कि भनेर मलाई चिसो पसिसकेको थियो । उनी अहिले नेपाली टोलीका चतुर खेलाडी र राम्रो स्ट्राइकर हुन् । नेपाली टोलीमा उनी मात्रै गोल गर्ने जस्तो लाग्छ । अनि उनी निस्केपछि मनोवैज्ञानिक सोचाइले पनि अब नेपालले गोल कसरी गर्छ भन्ने लागिसकेको थियो ।

साफ च्याम्पियनसिपमा नेपालको लागि तगारो भनेको भारत नै भइरहेको छ । पहिले अफगानिस्तान पनि थियो । अफगानिस्तानले साफ च्याम्पियनसिपमा नखेल्ने भएपछि नेपालको लागि भारत नै एक्लो प्रतिद्वन्द्वी बनेको छ । तर, यसपटक साफ च्याम्पियनसिपलाई प्रतिस्पर्धात्मक बनाउनको लागि दक्षिण एसियाभन्दा बाहिरको दुई टोलीलाई सहभागिता गराएको छ । कुवेत र लेबनानले साफ च्याम्पियनसिपमा प्रवेश गरेका हुन् ।

यस सम्बन्धमा सिंह भन्नुहुन्छ—‘हामीले भारतमाथि जित्न कठिन नै भइरहेको छ । सुनील क्षेत्री, भारतीय लिगको कारण भारतको फुटबल सशक्त बनिरहेको छ । उनीहरूका खेलाडीहरू व्यस्त हुन्छन । अर्को साफ च्याम्पियनसिपको स्तर बढाउन पनि नयाँ टोली सहभागी गराएको छ । यसलाई मैले रामै्र मान्छु, यसले दक्षिण एसियाका खेलाडीले पनि केही सिक्न पाउनेछन् ।’

नेपाली खेलाडीको लागि पनि यसपटक तयारी मिलेन । ए डिभिजन लिग भयो र लिग सकिनासाथ साफ खेल्नु प¥यो । न प्रशिक्षण न नयाँ प्रशिक्षकले घुलमिल गर्न पाए । यस्तो अवस्थामा नतिजा खोज्नु पनि सही नभएको सिंहले प्रतिक्रिया दिनुभयो । उहाँले बताउनुभयो—लिगको इतिहासमा यति छिटो छिटो खेल गरायो कि खेलाडी नै घाइते बनाए । अर्को आसलाग्दो खेलाडी पलायन भएका छन् । नेपाली खेलाडीले सीमित स्रोत साधनमा खेल्नुपरेको छ । यसको लागि नेपाली खेलाडीलाई प्रशंसा गर्नैपर्छ ।

नेपाली फुटबलको स्तर बढाउने हो भने एन्फाले वार्षिक क्यालेन्डर प्रकाशित गर्नुपर्ने सिंहको भनाइ रहेको छ । उहाँले कहिले के गर्ने भन्ने नै थाहा नभइ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो—एन्फाले अहिलेसम्म पनि वार्षिक क्यालेन्डर निकाल्न सकेको छैन । लिग कहिले हुन्छ भन्ने नै थाहा हुँदैन । अहिले पनि लिग चलिरहेको बेला साफ च्याम्पियनसिपको मिति नजिकिएको थियो । साफ च्याम्पियनसिपको मिति थाहा भएपछि लिग कहिले गर्ने भन्ने तय गर्नुपथ्र्यो । अहिले नै बी डिभिजन कहिले हुने टुंगो छैन । चैत १५ गते हुने भनेर हामीले तयारी ग¥यौं, भएन । हामीले तयारीको लागि रकम खर्चिसक्यौं, यसको क्षतिपूर्ति क्लबहरूले मागिरहेका छन् ।

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन

१९९३ लाहोर तेस्रो (४ देशको सहभागी)
१९९५ कोलम्बो सेमिफाइनलमा श्रीलंकासँग पराजित
१९९७ काठमाडौं समूह चरणबाट बाहिरिएको
१९९९ गोवा तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग पराजित
२००३ ढाका समूह चरणबाटै बाहिरिएको
२००५ कराँची समूह चरणबाटै बाहिरिएको
२००८ माले र कोलम्बो समूह चरणबाटै बाहिरिएको
२००९ ढाका समूह चरणबाटै बाहिरिएको
२०११ नयाँदिल्ली सेमिफाइनलमा अफगानिस्तानसँग पराजित
२०१३ काठमाडौं सेमिफाइनलमा अफगानिस्तानसँग पराजित
२०१५ केरला समूह चरणबाटै बाहिरिएको
२०१८ ढाका सेमिफाइनलमा माल्दिभ्ससँग पराजित
२०२१ माले उपविजेता (फाइलनमा भारतसँग पराजित)
२०२३ बैंगलोर समूह चरणबाट बाहिरिएको

प्रतिक्रिया दिनुहोस्