सिमसार तथा फिर्के संरक्षणका लागि नीति ल्याइने



पोखरा । पोखरामा निकै अतिक्रमणमा परेको सिमसार र फिर्के अतिक्रमणका लागि पोखरा महानगरपालिको काम थालनी गर्ने भएको छ । पोखरामा रहेका सिमसार तथा सार्वजानिक जग्गाहरू मिचिने तथा पुरिने काम भइरहँदा फेवातालको जलीय स्रोतको रूपमा रहेको सिमसार क्षेत्र बढी चर्चामा रहेको छ ।

रामसारको सूचीमा सूचीकृत फेवाको उक्त क्षेत्र पछिल्लो समय एकाएक पुरिन थालेपछि महानगरपालिकाले सिमसार नीति ल्याउन लागेको हो । यस्तै, फेवातालकै अर्को जलस्रोतको रूपमा रहेको फिर्के खोलाको मापदण्ड समेत निर्धारण गर्ने भएको छ । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा मयेर धनराज आचार्यले सिमसार नीति ल्याउने बताउनुभएको हो ।

‘समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि ताल तलैया, पोखरी, चौतारा, सिमसार, गुफा मन्दिर पुराना ऐतिहासिक सम्पदालगायतमा आवश्यक पर्ने पर्यटन पूर्वाधार निर्माण साथै संरक्षण र सम्वद्र्धनको नीति लिइनेछ’, उहाँले भन्नुभयो– ‘पोखराको जननी रूपमा परिचित सेती नदी, पोखराको मध्यभागबाट बक्ष्ने फिर्केखोला र बुलौदीखोलालगायतको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको नीति लिइने छ ।’

उहाँले पोखराको मुख्य नदी, नाला तथा खोलाहरूको सिमाना एकिन गरी रेखाङ्कन गर्ने समेत बताउनुभयो । पोखराका सिमसार र फिर्के खोला चरम अतिक्रमणको सिकारमा परिरहेको छ । पोखरा महानगरपालिकाले एकसाता अघिसम्म फिर्के र सिमसारमा बनेका अवैद्य संरचनामाथि डोजर समेत चलाएको थियो । महानगरको अनुमति विना नै अवैध तरिकाले काम गरेको भन्दै महानगरले डोजर चलाएको थियो ।

पोखरा महानगरपालिकाले मुख्य समस्याको रुपमा रहेको छाडा चौपायको व्यवस्थापन गर्न गौशाला तथा एनिमल रेस्क्यु भेइकल संचालनमा ल्याउने भएको छ ।

आइतबार नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै छाडा चौपायको नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त सवारी सञ्चालनमा ल्याउने भएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यवस्थित गौशाला निर्माण, पशु उद्धार साधनसञ्चालन ल्याउने बताउनुभयो ।

‘महानगर क्षेत्रका छाडा पशुहरूको उचित व्यवस्थापन गर्न व्यवस्थित गौशाला निर्माण गरिने छ । छाडा पशुचौपायाको नियन्त्रण तथा व्यवस्थापनका लागि एनिमल रेस्क्यु भेइकल सञ्चालनमा ल्याइने छ’ मेयर आचार्यले भन्नुभयो– ‘सामुदायिक कुकुरहरूको नियन्त्रण तथा घरपालुवा कुकुरहरूको अभिलेखीकरणका साथै भ्याक्सिन अभियान सञ्चालनमा निरन्तरता दिइने छ । सार्वजानिक निजी साझेदारीमा आधुनिक र व्यवस्थित बधशाला निर्माण प्रक्रिया अगाडि बढाइने छ ।’ यस्तै पोखरा महानगरपालिकाले ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्नेसमेत बताएको छ । नेपाल सरकारले ल्याएको मध्ये पाँचवटा मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन् केन्द्रमा ल्याउन पहल गरी महानगर क्षेत्रमा नश्ल सुधारसहित भैँसी पालन व्यवसायलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्