बच्चा काखमा बोकेरै सेवामा



काभ्रे ।

महाभारत गाउँपालिका वडा नम्वर ७ बनखु ठुलो बाँसपुर धनसारडाँडा आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत ३० बर्षिया अनमी विपना पाख्रिनको १० महिनाको छोरी केहि दिन देखि विरामी भइन् ।

बच्चाले नियमित पिसाव नगरे पछि उपचारका लागि भक्तपुर अस्पताल ल्याएको भोलिपल्टै विपनालाई खवर आयो स्वास्थ्य सम्वन्धी एक दिने तालिममा सहभागी हुनु । बच्चा विरामी भएर भक्तपुरको सिद्दि बाल अस्पतालमा अनुको उपचार गरेर फकँर्दै गरेकी विपना स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको एक दिने ‘बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला उच्च रक्तचाप हेरचाह ब्यवस्थापन पहल’ तालिममा सहभागी हुनुभयो ।

विरामी बच्चा साथमै लिएर तालिममा सहभागी हुँदा असहज भए पछि बनेपामा भाडामा बसोबास गरिरहेकी बुहारी माया पाख्रिनलाई बोलाईन् । मायाको पनि काखमै बच्चा छ । आफ्नो बच्चा लिएर दिदीको बच्चाको हेर्न उहाँ तालिम स्थल धुलिखेल लज रिसोर्ट पुग्नु भयो । घरी भित्र घरी बाहिर गरिरहेकी अनुलाई काखमा लिएर विपना तालिममा सिकाईएका उच्च रक्तचाप सम्वन्धी जानकारी लिईरहेकी भइन् ।

नागरिकहरुको उच्चरक्तचाप नियन्त्रणका लागि तालिम लिईरहेकी विपनालाई बच्चाको चकचकले कुनै कुनै बेला आफ्नै रक्तचाप बढिरहेको महसुस हुन्थ्यो । तर पनि दायित्व र कर्तब्यलाई पहिलो शर्त बनाउँदै विपना दिनभर कक्षामा सहभागि भईन् । बुहारी मायाले अनु र आफ्नै बच्चालाई पटक पटक भुलाउने प्रयास गर्नु भयो । बच्चाहरु भुलाउँदै तालिम लिएकी विपना कार्यक्षेत्र फर्किएर नागरिकहरुलाई उच्चरक्तचाप नियन्त्रण गराउने अठोटमा हुनुहुन्छ ।

त्यसो त विपना पाख्रिन मात्रै होईन सोहि संस्थामा कार्यरत अहेव रस्मिता सारु मगरको काखमा ६ महिनाको बच्चा छ । दुबै स्वास्थ्यकर्मीको काखमा बच्चा छन तर पनि नागरिकहरुलाई नियमित सेवा प्राप्त गरिरहेका छन् । ‘नियमित खोप कार्यक्रममा तथा कार्यक्रमहरु हुँदा बच्चा हेर्न हेरालु माईतीबाट बोलाउने गरेका छौं’–अनमी विपनाले भन्नुभयो–‘स्वास्थ्य संस्था नजिकै डेरा लिएर बसेको छु । स्वास्थ्य संस्थामै बच्चा लिएर जाने गरेका छु ।

बच्चालाई समय समयमा खुवाउनु पर्ने भएकाले पनि आमासँग नै बच्चा राख्नु पर्ने बाध्यता छ ।’ जिल्लामा, पालिकामा जानु पर्दा दुई मध्ये एक जना पालो पालो मिलाएर जाने गरेको उहाँले बताउनु भयो ।

‘जिल्लाबाटै विषय तोकेरै आउँदा सोहि ब्यक्ति जानु प¥यो नत्र स्वास्थ्य संस्था खाली नहुने गरी सेवालाई प्रभावीत नपार्ने गरी जाने गरेका छौं’–विपनाले भन्नुभयो–‘गर्भवती परिक्षण, घाउ चोटपटक लाग्दा गर्ने उपचार, ड्रेसिङ्ग, सामान्य औषधी उपलब्ध गराउँछौं । त्यसको अलावा नियमित खोप र अन्य कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरेका छौं । बच्चा सानो छ भनेर सेवामा कहिल्यै प्रभावित हुन दिएका छैनौं ।’

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा तथा अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा समेत प्रमुख रहनु भएका हरि सिं विष्ट र वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठको उत्साह र समन्वय अविश्मरणीय रहेको उहाँले बताउनुभयो । बच्चा सानो छ भनेर नागरिकलाई दिने सेवा छाड्न मिल्छ र ? विपनाले भन्नुभयो–‘नियमित खानपान तथा रेखदेखका लागि सकेसम्म आफै र नभ्याउँदा माईतीका आफन्तलाई बोलाउने गरिएको छ ।’

श्रीमान भाषा सिक्ने गरी राजधानीमा बस्नु भएको छ । आफ्नै बच्चा विरामी हुँदा पिसाव जचाउँन भक्तपुर, धुलिखेल आउनु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले अस्पताल संचालन गर्नु पर्ने उहाँको सुझाव छ । अस्पताल संचालन गरिरहँदा आवश्यक पर्ने उपकरण संचालनका लागि राष्ट्रिय विद्युत्तीकरणको प्रसारण लाईनको कार्य भईरहेको छ । अध्यक्ष कान्छालाल जिम्बाले महाभारतबासीको स्वास्थ्य लगायतका पूर्वाधारका सपना पुरा गर्न निरन्तर सक्रिय भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्