हुम्लाका धेरै महिलाले गराउँछन् गर्भपतन



हुम्ला । नेपालको दुर्गम जिल्ला हुम्लाका महिलाहरूको स्वास्थ्य अवस्था अत्यन्तै कष्टकर भएको पाइएको छ । झण्डै ३ हजार मिटर उचाइमा रहेको हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित ३ दिने बृहत् एकीकृत स्वास्थ्य शिविरमा आएका अधिकांश महिलाहरूको स्वास्थ्य अवस्था जटिल पाइएको प्रसूति रोग विज्ञ डा. रश्मी बस्ताकोटीले बताउनुभयो ।

३ दिने स्वास्थ्य शिविरमा ३ हजारको हाराहारीमा स्त्रीरोगका बिरामीको चेकजाँच भएको थियो । बिहान सबेरै शिविरमा पुगेर साँझ आँखा देखुन्जेल बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरू तल्लीन रहेका थिए । यहाँका अधिकांश महिलाको समस्या सरसफाइमा ध्यान नदिँदा देखिने समस्या देखिएको थियो ।

महिनौंसम्म ननुहाएका कारण पिसाबको समस्या र योनीबाट फोहोर पानी जाने, चिलाउने, गन्हाउने जस्ता समस्या धेरै देखिएको डा. बस्ताकोटीले जानकारी दिनुभयो ।

यसका साथै गर्भवती महिलाले स्वास्थ्य संस्था नै नजाने गरेको शिविरमा सहभागी महिलाहरूले बताएका थिए । शिविर चलिरहेको बेला जिल्ला अस्पताल सीमकोटमा एउटा प्रसूतिको लागि ल्याइएकी महिलाको रक्तचाप उच्च भएको थियो । यस्तो भएपछि प्रिक्ल्याम्सीया, इक्ल्यामसियाको समस्या देखा पर्ने डर बढ्दै गएको थियो ।

त्यस्तो अवस्थामा सर्जरी गरिसकेपछि आईसीयू चाहिने थियो । जिल्ला अस्पतालमा आईसीयू थिएन भने बच्चाको लागि चाहिने एनआईसीयू थिएन ।

यी कारणले बिरामीलाई यहाँभन्दा नेपालगञ्ज या काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ । त्यस्तो अवस्थामा आफन्त र डाक्टर दुवैले यहाँ अप्रेसन गर्दा केही भइहाल्ने हो कि भनेर जोखिम मोल्न नचाहाने स्वयम स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

मैले यहाँ आएर अप्रेसन गर्न सक्थें यस्तै जटिलताका कारण नेपालगञ्जको डाक्टरसँग कुरा गरेर उहीँ पठाउन सल्लाह दिएँ डा.बस्ताकोटी बताउनुहुन्छ । डा. बस्ताकोटीले हुम्लामा गर्भपतन गराउँदा आएको जटिलताको बारेमा समेत अध्ययन गर्नुभएको थियो । ती महिलाको अत्यधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालका चिकित्सकले भएभरको उपाय लगाए र नसकेपछि उहाँसँग सहयोग मागेका थिए ।

अप्रेसन कोठामा लाइट पनि थिएन मोबाइलको लाइट बालेर हेर्दा रक्तश्राव पाठेघर भित्रैबाट आएको देखियो । त्यतिबेर रगत रोकिने सबै खाले औषधि चलाइसकेको थियो ।

डा. वस्ताकोटी भन्नुहुन्छ– अर्को डरलाग्दो अवस्था यहाँका धेरै महिला १६ वर्षको हुँदा गर्भवती हुने र २५ वर्षको हुँदा ४ देखि ५ वटा बच्चा जन्माउने गरेका छन् । धेरै बच्चा भएकाले परिवारनियोजनका साधन प्रयोग गर्ने भन्दा पनि गर्भपतन गराउनेको संख्या बढी हुने गरेको एक अध्ययनले देखाएको छ । सो क्षेत्रमा एउटै महिलाले ५ पटकसम्म गर्भपतन गराउने गरेको पनि अध्ययनले देखाएको छ ।

धेरै टाढादेखि आउने बिरामीमा पोषणको कमी भएको, सरसफाइ नभएको, २ देखि साढे दुई दिनसम्म हिँडेर उपचारका लागि आउनु पर्ने बाध्यतामा हुम्ली महिलाहरू रहेका छन् । महिलामा सबैभन्दा जटिल समस्या पिसाबको संक्रमण र योनीको समस्या देखिएको थियो ।

जेठ २५ गते देखि शुरू भएको शिविर तीन दिनसम्म चलेको थियो । शिविरमा मुटुरोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी, नशा, नाक, कान तथा घाँटी, बाल रोग, अकुपञ्जरलगायतका उपचार र पाँच जनाको सर्जरी समेत गरिएको थियो ।

शिविरका लागि काठमाडौंबाट डा. बस्ताकोटीसहित ६ जना विशेषज्ञ चिकित्सकहरू रहेका थिए । त्यसै गरी जिल्ला अस्पताल हुम्लामा कार्यरत प्रसूतिविज्ञ डा.सागर कोइराला ३ दिनसम्म बिरामीको चाप देख्दा यहाँको स्वास्थ्य अवस्था निकै जटिल भएको बताउनुनुहुन्छ ।

७७ जिल्ला मध्ये हुम्लामा अहिलेसम्म कुनै पनि जिल्लाबाट सडक जोडिएको छैन । यहाँ उपचार गराउन आउने अधिकांश बिरामी २ देखि ३ घण्टाको पैदल यात्रा तय गरी आएका थिए । सयौंको संख्यामा बिरामीहरू २ दिनको पैदल यात्रा तय गरी सदरमुकाम आइपुगेको डा.कोइराला बताउनुहुन्छ ।

सीमकोटमा ३ दिने स्वास्थ्य शिविर सञ्चालन हुने सूचना स्थानीय रेडियोमार्फत सार्वजनिक भएसँगै लामो समयदेखि स्वास्थ्य समस्या भोगेर बसेका बिरामीहरू निकै सास्ती भोग्दै बास बसेर स्वास्थ्य शिविरमा आइपुगेका थिए

प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेको थियो । शिविरमा करिब ५ हजार बढी सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्