हुम्लाका धेरै महिला गर्भपतन गराउँछन्, परिवार नियोजनको साधन प्रयोग गर्दैनन्



हुम्ला। 

नेपालको मध्यपश्चिममा पर्ने हुम्ला जिल्ला कर्णाली प्रदेशको सिमिकोटका महिलाहरुको स्वास्थ्य अवस्था अत्यन्तै कष्टकर भएको पाइएको छ।

झन्डै ३ हजार मिटर उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुका सिमिकोटमा सञ्चालित ३ दिने वृहत् एकीकृत स्वास्थ्य शिविरमा आएका अधिकांश महिलाहरुको स्वास्थ्य अवस्था जटिल पाइएको  प्रसूति विज्ञ डा. रश्मि बस्ताकोटी बताउनुभयो । ३ दिने स्वास्थ्य शिविरमा ३ हजारको हाराहारीमा स्त्रीरोगका बिरामी हेरियो । बिहान सबेरै शिविरमा पुगेर साँझ आँखा देखुन्जेल बिरामी हेर्दा पनि सकिँदैनथ्यो । यहाँका अधिकांश महिलाहरुको समस्या सरसफाइमा ध्यान नदिँदा धेरैजसो समस्या देखिन्थ्यो ।  प्रसूति विज्ञ डा. रश्मि बस्ताकोटीले भन्नुभयो -महिनौँसम्म ननुहाएका कारण पिसाबको समस्या र योनीबाट फोहोर पानी जाने, चिलाउने, गन्हाउने जस्ता समस्या धेरै देखियो । यसका साथै गर्भवती महिलाले स्वास्थ्य संस्थानै गएका छैनन् । कति निसन्तान भएका महिलाहरुले उपचार के गर्ने भन्ने जानकारी नै छैन।

यतिबेलै  जिल्ला अस्पतालमा एउटा प्रसूतिको लागि ल्याइएको महिलाको रक्तचाप उच्च भएको भएकै भयो । यस्तो भएपछि प्रिक्ल्याम्सीया, इक्ल्यामसियातिर जाने हुन्छ । त्यस्तो कन्डिसनमा यहाँ सर्जरी गरिसकेपछि आइसियु चाहियो भने आइसियु छैन, बच्चालाई एनआईसियू चाहियो भने एनआईसियुमा राख्ने व्यवस्था छैन । यी कारणले बिरामीहरुलाई यहाँ भन्दा नेपालगन्ज या काठमाडौँ पठाउनुपर्ने बाध्यता देखियो । त्यस्तो अवस्थामा आफन्त र डाक्टर दुवैले यहाँ अप्रेसन गर्दा केही भैहाल्ने होकि भनेर जोखिम मोल्न चाहँदैनन् । मैले यहाँ आएर अप्रेसन गर्न सक्थे यस्तै जटिलताका कारण नेपालगंजको डाक्टरसँग कुरा गरेर उही पठाउन सल्लाह दिए डा. रश्मि भन्नुहुन्छ ।

डा. रश्मिले हुम्लामा गर्भपतन गराउँदा जटिलता आएको केस पनि हेर्नुभयो । ती महिलाको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पतालका चिकित्सकहरुले भएभरको उपाय लगाए र नसकेपछि उहाँसँग सहयोग मागे । अप्रेसन कोठामा लाइट पनि थिएन मोबाईलको लाइट बालेर हेर्दा रक्तस्राव पाठेघरको भित्रैबाट आएको देखियो । त्यतिबेर रगत रोकिने सबै खाले औषधि चलाई सकेको थियो । प्रेसर नघटोस् भनेर दुबैतिर खोलेर सलाईन पनि दिइराखेको थियो । केही उपाय नलागेपछि मैले हेरेर अर्को मेडिकल विधि अपनाएर पाठेघरमा बगेको रगत रोक्न सफल भए । त्यसपछि उनलाई रगत चढाएर अस्पतालमा राखियो अहिले राम्रै सुधार भएको छ । म आउँदा देखिएका यी दुवै बिरामीको अवस्था जटिल थियो र रातपरिसकेको थियो अन्त पठाउने कुनै उपाय पनि थिएन ।

डा. रश्मि भन्नुहुन्छ अर्को डरलाग्दो अवस्था यहाँका धेरै महिला १६ वर्षको हुँदा गर्भवती भैसकेका छन् र २५ वर्षको हुँदा ४ देखि ५ वटा बच्चा जन्माइसकेको पाइयो । धेरै बच्चा भएकाले परिवार नियोजनको साधन प्रयोग गर्ने भन्दा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी पाइयो । एउटै व्यक्तिले ५ वटा सम्म गर्भपतन गराएको पाइयो । धेरैको ३ देखि ४ वटा बच्चा छन् र गर्भपतन पनि त्यति नै गरेको पाइयो । शिविरमा आएका एकादुईले मात्र परिवार नियोजनको साधन डिपो, नरप्लान्ट प्रयोग गरेको पाइयो । धेरैले परिवार नियोजनको साधन प्रयोग नै नगरेको पाइयो ।

धेरै टाढादेखि आउने बिरामीलाई पोषणको कमी भएको, सरसफाइ नभएको, २ देखि साढे दुई दिनसम्म हिँडेर उपचारका लागि आएको बताउँथे । महिलामा सबैभन्दा जटिल समस्या पिसाबको सङ्क्रमण र योनीको समस्या देखियो भने झन्डै २० जनामा निःसन्तानको समस्या देखियो । केहीले काठमाडौँ  गएर पनि परीक्षण गराएको भने पनि खासै उपलब्धि भएको पाइएन । निःसन्तानका लागि आईभीएफ सम्मको सुविधा र दक्ष जनशक्ति, उपकरण आवश्यक पर्छ । धैर्यता पनि उत्तिकै हुनुपर्छ । यहाँ त्यस्तो अवस्था देखिन्न र काठमाडौँ  नै जानुको विकल्प छैन । हुम्लाका बासिन्दालाई आर्थिक, सामाजिक र भौगोलिक रुपले पनि निकै कठिन छ । उपचारमा आउने अधिकांश बिरामीहरू यहाँ निको भए हुन्छ नभए यही मर्ने हो भन्छन् यो सुन्दा मलाई भित्रै देखि मनै दुख्यो डा बस्ताकोटी भन्नुहुन्छ ।

 जेष्ठ २५ गते देखि सुरु भएको शिविर तीन दिनसम्म चलेको थियो । शिविरमा मुटुरोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी,  नशा, नाक, कान तथा घाँटी, बाल रोग,अकुपञ्जर लगायतका उपचार र पाँच जनाको सर्जरी समेत गरिएको थियो । शिविरका लागि  काठमाडौंबाट डा. रश्मि सहित ६ जना विशेषज्ञ चिकित्सकहरू पुग्नुभएको थियो । त्यसैगरी जिल्ला अस्पताल हुम्लामा कार्यरत  प्रसूति विज्ञ डा.सागर कोइराला ३ दिनसम्म बिरामीको चाप देख्दा यहाँको स्वास्थ्य अवस्था निकै जटिल भएको पुष्टि गर्छ भन्नुहुन्छ । नेपालको ७७ जिल्ला मध्ये हुम्लामा अहिले सम्म कुनै पनि जिल्लाबाट सडक जोडिएको छैन । यहाँ उपचार गराउन आउने अधिकांश बिरामी २ देखि ३ घण्टाको पैदल यात्रा तय गरी आएका छन् । सयौँको संख्यामा बिरामीहरू २ दिनको पैदल यात्रा तय गरी सदरमुकाम आइपुगेको डा.कोइराला बताउनुहुन्छ ।

सिमिकोटमा ३ दिने स्वास्थ्य शिविर सञ्चालन हुने सूचना स्थानीय  रेडियो मार्फत सार्वजनिक भएसँगै लामो समय देखि स्वास्थ्य समस्या भोगेर बसेका बिरामीहरू निकै सास्ती भोग्दै बास बसेर स्वास्थ्य शिविरमा आइपुगेका छन् स्थानीय ३८ वर्षीय जगमति साहीले बताउनुभयो ।

प्रारम्भ सामाजिक संस्था र  सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेको थियो । शिविरमा करिब ५ हजार बढी सेवा लिएका थिए ।

यो जिल्लामा अहिलेसम्म  अर्को जिल्ला जाने सडक बाटो जोडिएको रहेनछ । जनजीवन अत्यन्तै कष्टकर रहेछ । खाद्यान्न देखि हरेक चीज हवाईजहाजबाट ल्याउनुपर्ने रहेछ । स्वास्थ्य समस्या जटिल पाइयो । उपचारका लागि काठमाडौँ  या नेपालगन्ज जान खल्तीमा ५० हजार हुनुपर्दो रहेछ डा.रश्मि भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्