बिजनेस नपाउँदा विमान आएन



बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार एक वर्ष पूरा भएको छ । पर्यटकलाई लक्षित गरी खोलिएको १ वर्ष पुग्दा पनि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी व्यवसायीहरू निराश भएका छन् ।

विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् । नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणका लागि पूर्वाधार पूर्णरूपमा तयार हँुदा पनि विमानस्थलले अहिलेसम्म एउटा पनि डाइभर्ट विमान अवतरण गराउन सकेको छैन । हप्ताको ३ दिन उडान भर्दै आएको जजिराले समेत विगत १ महिनादेखि उडान पुनः बन्द गरेकाले उद्योगी व्यवसायी थप तनावमा परेका छन् ।
गत फागुन १४ गते काठमाडौंको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान र दुबईबाट

काठमाडौं उडेको फ्लाइ दुबईको विमान भारतको लखनउ डाइभर्ट भएको थियो । वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हँुदै आफ्नो गन्तव्यतर्फ लागेको थियो ।

यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरूले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउनुपरे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरेको प्रस्ट हुन्छ ।

प्रायः सबै विमानहरूले वैकल्पिक विमानस्थलका रूपमा भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन् । वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म यहाँ डाइभर्ट भएको एउटा पनि विमान अवतरण भएको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले ‘बिजनेस’ नपाएका कारण विमानहरू यहाँ आउन रुचि नदेखाएको बताउनुहुन्छ । सिमराबाट छिरेका विमानलाई काठमाडौं जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीका दृष्टिले केही टाढा रहे पनि काठमाडौंजस्तो अवरोध यहाँ छैन । आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन । विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटलहरू खुल्ने क्रम बढ्यो ।

विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना ठूला गरी १ सय ४६ वटा होटल खुलेको र यिनीहरूमा करिब ३० अर्ब लगानी भएको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउनुहुन्छ । विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बांैको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको भन्दै अध्यक्ष श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि राज्य स्तरबाट पहल हुनुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनमा आएपछि दैनिक २० हजार व्यक्तिको चाप हुने आँकलन उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको थियोे । तर, विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्बभन्दा बढी रुपियाँ लगानी गरेको र सो जोखिममा परेको उहाँले गुनासो गर्नुभयो ।

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न अवतरण शुल्क, विमान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएकोमा सो सुविधाको अवधि पुनः एक वर्षका लागि थपिएको महाप्रबन्धक पाण्डेले बताउभयो ।

२०२१ सालमा घाँसे हवाई मैदानबाट शुरू भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा चालु भएको थियो । २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरी ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको होे । यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा हुने गरेको बताइएकोे छ ।

प्रतिक्रिया दिनुहोस्