राज्यकोषको दुरुपयोग – पूर्व लडाकुलाई ८० करोड



काठमाडौं । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपियाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले ८० करोड बाँड्न लागिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपियाँका दरले दिनेसम्बन्धी कार्यविधि तयार पारेको मन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं उपसचिव दिलकुमार तामाङले नेपाल समाचारपत्रसँगको कुराकानीमा मन्त्रिपरिषद्को बैठकबाट कार्यविधि बनाएर प्रतिव्यक्ति दुई लाख दिने निर्णय भएअनुसार मन्त्रालयले कार्यविधि बनाएको बताउनुभयो । गत चैत ६ गते मन्त्रिरिषद्ले कार्यविधि बनाउने निर्णय गरेको र सोहीअनुसार कार्यविधि जारी गर्न अर्थ मन्त्रालयले सहमति दिएको थियो ।

चालु आर्थिक वर्ष २०७९÷२०८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामको लागि भनेर १ अर्ब ४० लाख रुपियाँ विनियोजन भएको कार्यविधिमा उल्लेख छ । २०७३ सालमै उक्त रकम दिइने भनिए पनि यसविरूद्ध रिट परेपछि सर्वोच्च अदालतले यो व्यवस्था लागू नगर्न अन्तरिम आदेश दिएपछि तत्कालका लागि रकम बाँड्ने कार्य रोकिएको थियो । सोही रकम अहिले दिन लागिएको गृह मन्त्रालय स्रोतको दाबी छ ।

नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि संयुक्त राष्ट्रसंघको कार्यालय (अनमिन)को प्रमाणीकरणमा नपरेका लडाकुहरूको संख्या चार हजार हाराहारीमा छन् । ४ हजारलाई २ लाखका दरले वितरण गर्दा कुल खर्च ८० करोड हुन आउँछ । बाँकी रकम व्यवस्थापन तथा शान्ति प्रक्रियाका बाँकी काममा खर्च हुने श्रोतको दाबी छ ।

अनमिनको प्रमाणीकरण प्रतिवेदनमा भएका अयोग्य लडाकुको नाम, उपनाम तथा अन्य विवरण र बहिर्गमित जनमुक्ति सेना नेपालले उपलब्ध गराएको विवरणलाई संयुक्त रूपमा जिल्लाअनुसार छुट्याएर जिल्ला प्रशासन कार्यालयमा रकम निकासा पठाउने तयारी भइरहेको छ । तत्कालीन समयमा अनमिनले युद्धमा भाग नलिएका र उमेर नपुगेकाहरूलाई ‘अयोग्य लडाकु’ भनी प्रमाणीकरण गरेको थियो ।

यसैबीच माओवादीले अनमिनले अयोग्य ठहर गरेका लडाकुलाई रकम वितरण गरेर राज्य स्रोतको चरम दुरुपयोग गर्न लागेको भन्दै विरोध भइरहेको छ । सरकारले करिब २० हजार पूर्वशिक्षक तथा केही निजामती कर्मचारीको फागुन महिनाको निवृत्तिभरण भुक्तानी गर्न नसकेको बेलामा अयोग्य लडाकुका नाममा रकम बाँड्ने निर्णय गलत भएको भन्दै सत्ता साझेदार दलका नेताहरूले नै असन्तुष्टि जनाएका छन् ।

माओवादी नेतृ एवं सरकारका प्रवक्ता रेखा शर्माले शान्ति सम्झौताको भावनाअनुसार अयोग्यमा दर्ता भएका जनयुद्धका लडाकुले आर्थिक राहत पाउनुपर्ने जिकिर गर्दै भन्नुभयो– ‘जनयुद्धका करिव चार हजार लडाकुलाई विभिन्न बहानामा ‘अयोग्य’ घोषणा गरेर राहत नदिई अन्याय गरियो । उनीहरू सेनामा समायोजन हुन पनि पाएनन र राज्यबाट दिनुपर्ने राहत पनि पाएका थिएनन् । शान्ति प्रक्रियाको भावनाअनुसार शान्ति सम्झौताको १५ वर्षपछि भए पनि उनीहरूलाई राहत दिन आवश्यक ठानेर सरकारले निर्णय गरेको हो ।’ यद्यपि, सरकारले रकम बाँड्न लागेका व्यक्तिहरू सशस्त्र युद्धका लडाकु नभएको अनमिनको प्रतिवेदनले पुष्टि गरेको छ ।

अयोग्य लडाकुको पहिचान र राहत दिने प्रक्रिया

– गृह मन्त्रालयले अनमिनको प्रतिवेदनमा उल्लेख भएका नाम, उपनाम तथा तथा अन्य विवरण र बहिर्गमित जनमुक्ति सेना नेपालले उपलब्ध गराएको लडाकुको विवरणलाई जिल्ला प्रशासनमा पठाउने ।

– विवरण लिएर स्वघोषणा, सिफारिस पत्र र नागरिकता प्रमाण पत्रअनुसार लडाकुको नाम, थर, ठेगानासमेतका आधारमा अयोग्य लडाकु हो भनेर पछिसम्म फरक नपर्ने गरी प्रशासनले मन्त्रालयमा सिफारिस गर्नुपर्ने ।

–यस प्रक्रियाको सहजीकरणका लागि आवश्यक्ताअनुसार बर्हिर्गमित जनमुक्ति सेनाको प्रतिनिधिसमेत रहेको कार्यदल समेत गठन गर्न सकिने ।

–अर्थ मन्त्रालयबाट रकम निकासा भएपछि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र प्रशासन कार्यालयमार्फत् नै उक्त रकम अयोग्य लडाकुलाई उपलब्ध गराउने ।

–मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा कानुनबमोजिम नजिकको हकदारलाई दिने र नेपालमा नभएका लडाकुले पनि नेपाल आएपछि लिन सकिने ।

–राहत वितरण गर्दा नागरिकता प्रमाणपत्र जारी भएकै प्रशासन कार्यालयले प्रक्रिया पूरा गर्नुपर्ने ।

-बसोबास फरक रहेको अवस्थामा दुई प्रशासन कार्यालयले समन्वय गरी निरूपण गर्ने ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य पूर्वलडाकुको नाममा पैसा बाँड्ने सरकारको निर्णय स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल सञ्जालमार्फत भन्नुभएको छ– ‘विगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब वुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्वशिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्