खेलको माध्यबाट देश चिनाउँदै नकुल



ह्यारिसवर्ग, अमेरिका ।

आफ्नो देश भुटानबाट लखेटिनु परेको पीडा र पूर्वी नेपालका विभिन्न शरणार्थी शिविरमा बसेर लामो दुखपछि अमेरिका पुगेका नकुल शर्मा अहिले पेन्सिलभेनियामा खेलको माध्यबाट देश चिनाउन थाल्नु भएको छ ।

पेन्सिलभेनिया राज्यको ह्यारिवर्गमा हिमालयन तेक्वान्दो स्कुल संचालन गर्दै आउनु भएका शर्मा अहिले सो क्षेत्रमा बसोबास गर्ने सबै अमेरिकी नागरिकमा एक उदाहरणीय पात्र बन्नु भएको छ ।

जीवनमा केही न केही गरेर आफ्नो नाम राख्ने उद्देश्य बोक्नु भएका शर्मा सन १९९२ मा भुटान सरकारले नेपाली भाषी भुटानीलाई देश छाड्न बाध्य पारेपछि शर्माको परिवार पूर्वी नेपालको झापाको बेलडाँगी शिविर–३ मा बसोबास गर्दै आउनु भएको थियो ।शिविरभित्र जीवन विताउने क्रममा उहाँले विभिन्न शिविरमा पुगेर प्रशिक्षण समेत गर्नुभएको थियो।

तेक्वान्दो खेल खेल्न थालेपछि उहाँले सिक्ने र सिकाउने कामलाई सँगै अघि बढाउनु भएको थियो । पैसाको अभावकाबीच पनि शर्माले आफ्नो खेल जीवनलाई भने निरन्तरता दिनु भएको थियो ।

आफ्नो खेल जीवनलाई निरन्तरता दिँदादिँदै पैसाको अभावका कारण शर्माले गाईघाटको उदयपुरमा पुगेर शिक्षण पेशालाई समेत निरन्तरता दिनु परेको अनुभव सुनाउँदै शर्मा भन्नुहुन्छ–आर्थिक अवस्था कमजोर थियो । शिक्षण पेससँगै तेक्वान्दो खेललाई आफूले जीवनको अभिन्न अंगको रुपमा लिएकाले यसलाई निरन्तरता दिदैं व्याकवेल्ट लिएपछि विभिन्न ठाउँमा पुगेर तेक्वान्दोको प्रशिक्षकको रुपमा पनि काम गरियो ।

उच्च शिक्षा अध्ययनका लागि छिमेकी मुलुक भारत जाँदासमेत उच्च शिक्षा र तेक्वान्दो खेललाई निरन्तरता दिनु भएका शर्माले यो क्षेत्रमा केही गर्ने अठोट गर्नु भएको थियो ।

भुटानी शरणार्थीलाई अमेरिका लैजाने भएपछि उहाँ सन २०१३ मा अमेरिका जानु भएको थियो । अमेरिकाको मेरिल्यान्ड पुग्नु भएका शर्माको मनमा भने खेललाई निरन्तरता दिने नै थियो । उहाँले भर्जिनिया स्थित एचकेली तेक्वान्दो स्टुडियोमा कुमार कार्कीलाई फेला पारेपछि यस खेललाई अमेरिकामा आफूले निरन्तरता दिने र तेक्वान्दो स्टुडियो खोल्ने योजना बनाउनु भएको थियो ।

उहाँको योजनामा ह्यारिसवर्ग निवासी भुटानी अभिभावकहरुले साथ दिएपछि सन २०१८ को अगष्ट १५ बाट हिमालयन तेक्वान्दो स्कुल सञ्चालनमा ल्याउनु भएको थियो । अमेरिकामा त्यस्ता स्कुल स्थापना गर्नका लागि लगानी पनि मनग्य लाग्ने र स्कुल खेलेर विद्यार्थी आएनन् भने के गर्ने भन्ने चिन्ताले शर्मालाई नसताएको पनि होइन ।

उहाँले हिम्मत गरेपछि कसो सफल नभइएला र भनेर स्कुल सञ्चालनमा ल्याएपछि स्थानीय बालबालिका उक्त स्कुलप्रति आकर्षित भएपछि भने उहाँले आफ्नो उद्देश्यले सार्थकता पाएकोमा खुसी देखिनु भएको थियो । अहिले सो स्कुलका सबै समुदायका १ सय ५० भन्दा बढी बालबालिका युवा युवतीले तेक्वान्दो सिकिरहेका छन् ।

सुरुमा थोरै विद्यार्थीबाट सुरु भएको उक्त स्कुलमा अहिले सिक्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य वढेको छ।

शर्माले श्रीमतीलाई समेत तेक्वान्दो सिकाएर अहिले प्रशिक्षकको रुपमा काममा लगाउनु भएको छ । श्रीमती पुनम दुलाल र अर्का प्रशिक्षक टेक दर्जीले शर्मालाई साथ दिइरहेका छन् ।

उक्त स्कुलबाट प्रशिक्षित भएका बिद्यार्थीहरुले न्युजर्सी, मेरिल्यान्ड, ओहायो, न्युर्योक लगायतका राज्यस्तरीय खेलमा सहभागी भएर विभिन्न मेडल समेत प्राप्त गरिसकेको र अव पुरै देशभरबाट हुने प्रतियोगितामा आफ्नो स्कुलका विद्यार्थीले प्रतिस्पर्धा गर्ने शर्मा दाबी गर्नुहुन्छ ।

नेशनल क्यापिटल तेक्वान्दो च्याम्पियनसिपमा तीन पटक अवार्ड जितिसक्नु भएका शर्मा अमेरिका गएर बस्ने भुटानी समुदायको पहिलो तेक्वान्दो इन्सटक्टर समेत बन्नु भएको छ । आफूलाई यो क्षेत्रमा सबै भन्दा बढी सहयोग मास्टर कृष्ण वलाल र कुमार कार्कीको रहेको शर्माले बताउनुभयो । तेक्वान्दो खेलबाट आफू मुलुकभर चिनिन चाहेको शर्मा बताउनुहुन्छ ।

उहाँले आफ्नो स्कुलवाट व्लाक वेल्ट निकाल्न सफल हुनुभएको छ र उहाँको स्कुलवाट हालसम्म ११ जनाले सेकेन्ड डिग्री व्लाक वेल्ट लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्