सबै पाठ्यपुस्तक छापियो



–भर्नासँगै विद्यार्थीको हातमा पुस्तक
–एक साताभित्र सबै जिल्लामा पुगिसक्ने

काठमाडौं । चालु शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएको छ । शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी क्षेत्रले गरी २ करोड ६८ लाख पाठ्यपुस्तक छपाइ पूरा गरेको जानकारी दिनुभयो । सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० को १ करोड ५० लाख थान र निजी क्षेत्रले कक्षा १ देखि ५ को १ करोड १८ लाख थान पाठ्यपुस्तक छापेका हुन् ।

जनक शिक्षाले आइतबारसम्म अति दुर्गम र हिमाली गरी ६० जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको छ । पाँच दिनअघि हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ, कालिकोट र जाजरकोट जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको जानकारी दिँदै जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बाँकी जिल्लामा चार दिनभित्र पाठ्यपुस्तक पु¥याइसकिनेछ ।’ उहाँका अनुसार रौतहट, बारा, पर्सा, रूपन्देही, कास्की, बाँके, बर्दिया, दैलेख, सुर्खेत, बैतडी, डोटी, कैलालीलगायत सुगम जिल्लामा ४ दिनभित्र पाठ्यपुस्तक पुगिसक्नेछ । केन्द्रले आज सानोठिमीबाट सोलुखुम्बु, बारा र पर्सा, दैलेख र सुर्खेत जिल्लामा पाठ्यपुस्तक पु¥याउने तालिका तय गरेको छ ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको निजी क्षेत्रले छपाइ पूरा भई धमाधम बिक्री भइरहेको जनाएको छ । निजी प्रकाशक तथा बिक्रेताका प्रतिनिधि दीपक भण्डारीले देशैभर पाठ्यपुस्तक पुगिसकेको जानकारी दिँदै भन्नुभयो– ‘हामीले १३ वटा मुद्रकमार्फत छपाइ गरी बिक्री शुरू गरेका छौं । कतै अभाव हुन नदिन सबैतिर प्रतिनिधि खटाएका छौं ।’ उहाँका अनुसार कक्षा १ देखि ५ का लागि १ करोड १० लाख थान छपाइ भएको छ ।

मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले १ हजार २ सय ६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी संख्याका आधारमा रकम निकासा गरिसकेको छ ।

हिजो आइतबारबाट शैक्षिक सत्र शुरू भइसकेको छ । सरकारले बालबालिका भर्ना भएसँगै हातहातमा नयाँ पाठ्यपुस्तक वितरण गर्ने कार्यक्रम तय गरेको थियो । सोही आधारमा केही जिल्ला सुगमका क्षेत्रबाहेक सबै स्थानीय तहमा पाठ्यपुस्तक पु¥याइसकेको छ । जनक शिक्षाले पाठ्यपुस्तक अभाव हुन नदिन र समयमै विद्यालयमा पुस्तक पु¥याउने वातावरण बनाउन बिक्रेतालाई आग्रह गरेको छ ।

केन्द्रले सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री शुरू गर्न लागेको हो । सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुुर्गम र अन्तिममा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गर्नेछन् ।

प्रबन्ध सञ्चालक झाका अनुसार कक्षा ६ को ३० लाख, ७ को २९ लाख, ८ को २८ लाख र ९ को ३१ लाख र १० को ३२ लाख थान पाठ्यपुस्तक छपाइ पूरा भएको छ । १० कक्षाको ३०–३० लाख थान पाठ्यपुस्तक छपाइ भइसकेको छ । बाँकी छिटपुट र संख्या बढी भएका कारण अपुग भएका जिल्लामा १५ गतेभित्र पुस्तक पुगिसक्ने झाको भनाइ छ ।

जनक शिक्षाले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, कास्की, बुटवल, सुर्खेत र काठमाडौंस्थित मुख्यालयको बिक्री केन्द्रबाट पाठ्यपुस्तक बिक्री खुलाएको छ ।

जनक शिक्षाले ६ देखि १० कक्षासम्म प्रत्येक कक्षामा ५–५ लाख विद्यार्थी भएको अनुमानको आधारमा पाठ्यपुस्तक छपाइ गरेको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले करिब ५ महिनाअघि सबै स्थानीय तहमा विद्यार्थी संख्याको आधारमा रकम निकासा गरिसकेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १० सम्म ३ अर्ब ४० करोड रुपियाँ बजेट स्थानीय तहमार्फत विद्यालयमा पुग्नेगरी विनियोजन भएको बताउनुभयो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पाठ्यपुस्तक नपुगेको अवस्थामा तत्काल सम्पर्क गर्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्