श्रीमानको स्मृतिमा विद्यालयलाई २० लाख सहयोग



लमजुङ  । 

उत्तरी लमजुङको मस्र्याङदी गाउपालिका ८ बडागाउँ पुख्र्यौली घर भई हाल काठमाडौं निवासी सनमाया गुरुङले श्रीमानको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।

गुरुङले स्वर्गीय श्रीमान् सुबेदार पूर्णवहादुर गुरुङको स्मृतिमा नगद २० लाख आर्थिक विद्यालयलाई सहयोग गर्नुभएको हो ।
विद्यालयका सस्थापक समेत रहनुभएका तत्कालिन राजसभाका स्थायी समिति सदस्य स्व. सुवेदार पुर्णबहादुर गुरुङको स्मृतिमा उहाँकी धर्मपत्नी सनमाया गुरुङले विद्यालयको हीरक जयन्तीको अवसरमा सो सहयोग रकम प्रदान गर्नुभएको हो ।

उहाँले यसअघि विद्यालयमा श्रीमानकै सम्झनामा पाँच लाखको पूर्णसनमाया अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्यानरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरेको अक्षयकोषदाता सनमाया गुरुङले बताउनु भयो ।

विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने, अंगे्रजी माध्यमबाट पठनपाठन गर्ने, प्राविधिक शिक्षा सञ्चालन गर्ने, विद्यालयमा आवश्यक भौतिक संरचना निमार्ण गर्ने उद्धेश्य लिएर विद्यालयले सञ्चालन गरेको हिरक जयन्तीको अवसरमा स्वर्गिया श्रीमानको नाममा परिवारको तर्फबाट आर्थिक सहयोग गरेको सनमाया गुरुङले बताउनुभयो ।

स्वर्गिया सुवेदार पुर्णबहादुर गुरुङले आफ्नो समयमा समाजमा शिक्षाज्योती बाल्न तत्कालिन समयमा तितौरी चौतारा र बेलको रुखमुनी गुरुकुल शिक्षा सञ्चालन गरि शिक्षाको ज्योति बाल्ने कामको सुरुवात गर्नुभएको थियो । खुल्ला आकामुनि ढुंगामाथि बसेर गुरुकुल शिक्षाको सुरुवात गर्नुभएका गुरुङले २०१२ साल चैतको १२ गते साविकको भुलभले १ मा करिब २ रोपनी जग्गा खरिद गरी पाँच कक्षा सम्मको प्राथामिक विद्यालय स्थापना गर्नुभएको थियो ।

स्वर्गिय सुवे. गुरुङले २०३० सालमा निमावि तहको अनुमति लिएपछि स्थानीयहरु डिल्लीराम घिमिरे, स्वर्गिय युक्तप्रसाद घिमिरे, स्वर्गिय नारायण प्रसाद घिमिरे र स्व. हिमलाल घिमिरेले करिब ३ रोपनी जग्गा विद्यालयलाई दान गरेपछि आश्यकक भौतिक संरचनाको निर्माण गरी निमावि सञ्चालन गरिएको थियो भने २०३४ सालमा नेपाल सरकारबाट निमावि तहको लागि स्वीकृति पाएको थियो ।

त्यस्तै २०४८ सालमा कक्षा ८ सम्मको लागि अनुमिति लिएर सञ्चालनमा आएको उक्त विद्यालयमा खेलमैदानको अभाव भएकाले स्थानीय स्व. कुलबहादुर गुरुङ र स्व. हर्कबहादुर गुरुङले विद्यालयलाई करिब २ रोपनी जग्गा दान गुर्नभएको थियो । पछि २०५८ सालमा तत्कालिन विद्यालय व्यस्थापन समितका अध्यक्ष हरिप्रसाद गुरुङ, प्रधानाध्यपक पुर्णबहादुर गुरुङ र शिक्षक जितबहादुर गुरुङको पहलमा कक्षा ९ र १० सञ्चालन गरी प्रभात शान्तिपूर्ण विद्यालयमा माध्यमिक तहसम्मको कक्षा सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।

विद्यालयका सस्थापक तत्कालिन राजसभा स्थायी समिति सदस्य स्वर्गिय सुवे. पुर्णबहादुर गुरुङ पहिले भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । भारतीय सेनामा कार्यरत हुँदा सुवेदार सम्म भई अवकास लिएको गुरुङ गाउँमा शिक्षाको ज्योति बाल्न पुर्याउनुभएको योगदान अविस्मरिणीय रहेको स्थानिय अग्रजहरुको भनाई छ ।

सामाजिक र मानविय सेवा, राजनीतिप्रति चाँसो भएकै कारण भारतीय सेनाबाट अवकास लिएपछि तत्कालिन अवस्थमा गाउको प्रधानपञ्च, जिल्ला विकास समितिको सभापति, राष्ट्रिय पञ्चायत सदस्य, निर्माण तथा यातायात सहायक मन्त्री हुदै राजसभा स्थायी समिति सदस्यसमेत हुन सफल हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्