प्रधानमन्त्री प्रचण्डका ‘किचन क्याबिनेटका’ सारथि



काठमाडौं । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैनिक कार्यसम्पादनलाई सहजीकरण गर्दै चुस्तदुरुस्त राख्न ९ जनाको सचिवालयले काम गरिरहेको छ । तीन हप्तादेखि १६ मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई सचिवालयका अलावा बाहिरबाट उहाँ निकट करिब आधा दर्जन नेताहरूले समेत राजनीतिक सहयोग गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई जिम्मेवारी दिनुभएको छ । त्यस्तै, स्वकीय सचिवमा निजामतितर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्ट रहेका छन् । प्रधानमन्त्रीलाई मिडिया हेर्नका लागि प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा राखिएको छ भने फोटोग्राफीमा प्रदीपराज वन्तलाई नियुक्त गरिएको छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहनुभएको छ । आधिकारिक रुपमा यिनै पात्रहरूलाई जिम्मेवारी दिइए पनि प्रधानमन्त्रीलाई राजनीतिक रूपमा नजिकबाट सहयोग गर्नेहरूमा शक्ति बस्नेत, देवेन्द्र पौडेल, हिमाल शर्मा, जनार्दन शर्मा, सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता रेखा शर्मालगायत छन् ।

प्रधानमन्त्री दाहालले राजनीतिक निर्णय लिँदा प्रायः स्वविवेकीय निर्णय गर्ने गरे पनि निर्णय पछि आउने सकारात्मक र नकारात्मक प्रतिक्रियामा उहाँका निकट नेताहरूले प्रतिवाद गर्ने गरेका छन् । दाहालले गरेका हरेक निर्णयका विषयमा आउने राजनीतिक टिप्पणीलाई देवेन्द्र पौडेलले प्रतिवाद गर्ने गर्नुभएको छ । त्यस्तै, सरकारको तर्फबाट हुने निर्णयलाई सकारात्मक रूपमा सार्वजनिक गर्ने काम मन्त्री रेखा शर्माले गर्दै आउनुभएको छ । प्रधानमन्त्रीलाई सफल बनाउनका लागि अघोषित रूपमा छुट्टै टिमसमेत बनाइएको एक नेताले बताए । उनले भने– ‘प्रधानमन्त्रीलाई कसरी सफल बनाउन सकिन्छ भनेर कार्ययोजना बनाएर त्यहीअनुसार अघि बढाउन पाँच छ जना नेताहरूको अघोषित सल्लाहाकार एवं सहयोगी टिम बनाइएको छ । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि त्यसलाई अझै चुस्त बनाएर काम गर्ने योजनामा छौं ।’ उक्त टिममा रहेका नेताहरूको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले नेपाल समाचारपत्रसँग बताए ।

सचिवालयमा रहेका ९ जनाको टिमबाट प्रधानमन्त्रीले राजनीतिक निर्णय प्रक्रियादेखि सचिवालयसमेत चुस्त बनाउन सहयोग लिइरहनुभएको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीको यो तेस्रो कार्यकाल पूर्ण रूपमा जनताप्रति समर्पित गराउँदै सफल बनाउन हामीले आवश्यक सहयोग गर्दै छौं ।’ यद्यपि, दाहालले कूटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आईटी विज्ञलगायत क्षेत्रमा कसैलाई नियुक्त गर्नुभएको छैन । सरकार गठन भएको तीन महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री दाहालको सचिवालयले समेत पूर्णता पाएको छैन । धेरै निर्णयहरू आफैंले गर्ने स्वभावका प्रधानमन्त्री दाहालले केही महत्वपूर्ण राजनीतिक निर्णय लिने बेलामा आवश्यक राजनीतिक सहयोग र सल्लाहका लागि शक्ति बस्नेतलाई हात लिने गरेको बताइएको छ । प्रचण्डको निकट नेताहरू धेरै भए पनि पछिल्लो समयमा बस्नेत दाहालको सबैभन्दा विश्वास पात्रका रूपमा रहनुभएको छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा शपथ लिएर पुस २६ मा पहिलोपटक संसद्बाट विश्वासको मत लिनुभएको थियो । उहाँलाई त्यस बेला संसद्को २ सय ७५ मध्ये २ सय ६८ जनाको विश्वास प्राप्त थियो । गठबन्धन फेरबदलका कारण उक्त विश्वास दुई महिना पनि टिकेन र उहाँले चैत्र ६ मा पुनः दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो । दोस्रो चरणमा १ सय ७२ सांसद्बाट विश्वासको मत पाएका प्रधानमन्त्री दाहालले समयमा मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा चैत्र १५ सम्म १६ मन्त्रालयको जिम्मेवारी सम्हानुभएको छ ।

उहाँलाई मन्त्रालयका नियमित काम गर्नका लागि पनि ‘किचन क्याबिनेट’ मा रहेका नेताहरूले नै आवश्यक सहयोग गर्दै आएको बताइएको छ । प्रधानमन्त्रीलाई सफल बनाउन बलियो टिमसहितको सचिवालय बनाउने गरिन्छ । सचिवालयलाई चुस्त, दुरुस्त र मजबुतीका लागि प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक, फोटो पत्रकार, परराष्ट्र सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकारलगायत विभिन्न विधाका विज्ञहरूसहितको सचिवालय टिममा बनाउने चलन छ । प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने सूचना आदानप्रदानसमेत सचिवालय टिमले गर्नेछ । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव र प्रमुख सल्लाहाकारले राज्यमन्त्री सरह र सचिवले सहायक मन्त्री सरहको सुविधा पाउँछन् । विषयगत विज्ञ संयोजकहरूले नेपाल सरकारका सहसचिव सरह सेवासुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्