शनिबारदेखि रसुवागढी-केरुङ नाका खुल्ने



काठमाडौं । रसुवागढी–केरुङ नाका पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधबार ल्हासामा बसेको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिअनुसार चैत १८ गतेदेखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन हुनेछ । नेपाली महावाणिज्यदूतावासका अनुसार तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ तारिखदेखि सुचारु हुनेछ ।

बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।

नेपालको अनुरोधमा चिनिया“ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ । नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनिया“ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको महावाणिज्यदूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै दुवै प्रतिनिधिमण्डलले चीनमा ‘सिट्रस’ फलफूल, ‘ड्राइ मिट’ र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे विचार आदानप्रदान गरेका थिए ।

सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई चाँडै नै सिधा उडान सुचारु गर्न आग्रह गर्नुभएको थियो । दुवै पक्षले नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लामा बसोबास गर्ने मानिसको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका छन् । चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ ।

कोभिड–१९ को प्रतिक्रियामा दुवै देशले हालै अपनाएका नीतिलाई मध्यनजर गर्दै दुवै पक्षले नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति गरेका छन् ।
कोरोना रोगको सक्रमणको कारण देखाई चिनियाँ पक्षले उताबाट उनीहरुकै कन्टेनरमा दैनिक १४ कन्टेनर सामाग्रि नेपालतर्फ पठाउदै आएको भएपनि यता नेपालबाट भने चीनतर्फ कोरोनाको कारण देखाएर प्रभावित हुदै आएकोमा अब भने दुई तर्र्फी नै नाका सञ्चालन गर्न दिने चिनियाँ पक्षले जनाएको छ ।

२०७६ साल मंसिरमा चीनमा कोरोना रोगको सक्रमण देखिएसगैँ २०७८ सालसम्म नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसपछि आंशिक रुपमा चिन सरकारले एकतर्फी नाका खुलाएको भएपनि तोकिएको परिणामको सामाग्रि मात्रै नेपाल ल्याइने गरिएको थियो । नेपालको सामाग्रि चीन लैजान भने कोरोना रोगको सक्रमणको कारण देखाई अस्वीकार गर्दै आएको चिनियाँ पक्षले यही चैत १८ गतेदेखि भने दुईतर्फी रुपमा नाका सञ्चालन गर्न लागेको पत्र नेपाली पक्षलाई पठाएको छ ।

दुईतर्फी सञ्चालन हुने नाकामा कति परिणामको सामाग्रि र सवारीसाधन आउजाउ गर्ने त्यो भने अस्पष्ट रहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । चीनबाट नेपालमा तयारी पोषाक, विद्युतीय सामाग्रि, फलफूल, विद्युतीय सवारीसाधन, जलविद्युत आयोजना निर्माणको लागी चाहिने सामाग्रिहरु प्रमुख रुपमा भित्रने गरेका छन् भने नेपालबाट जडिबुटी, हस्तकलाका तयारी सामाग्रिहरु त्यसतर्फ जाने लैजाने गरेको ब्यापारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्