नेपाः सभ्यताको एउटा धरोहर



कुनै पनि कला, संस्कृति, साहित्यले कुनै कालखण्डको समाज र सभ्यतालाई प्रस्तुत गरेको हुन्छ । व्यक्ति, समय र सन्दर्भ अनुसार ती सभ्यताहरुमा पनि परिवर्तन हुँदै जान्छ । सही कारणसहित ती सभ्यताहरुको वर्णन गरिएन भने कि त ती सभ्यताहरु हराउँदै जान्छन्, कि त त्यसका स्वरुपहरु नै बदलिन थाल्छन् ।

यस्तै परीक्षाको घडीमा उभिएको एउटा सभ्यता हो नेवाः सभ्यता । निकै लामो इतिहास बोकेको यो सभ्यताले हालसम्म पनि गति त पाएको छ तर सही रुपमा पुस्तान्तरण नहुनाले यसको स्वरुपमा बिस्तारै फरकपन आउँदै छ । नेवाः समुदायमा प्रायः वैदिक सनातन तथा बौद्ध धर्मावलम्बीको संख्या बढी भेटिन्छ भने न्यून प्रतिशतमा मुस्लिम तथा क्रिश्चियन धर्मावलम्बीहरु पनि भेटिन्छन् । शैव सनातन धर्म वैदिक तथा तान्त्रिक मार्गमा आधारित हुन्छन् । तन्त्रपथमा आधारित नेवाः संस्कृतिका मुख्य तन्त्रहरु (आगम तन्त्र, महापरिनिर्माण तन्त्र, कुब्जिका तन्त्र, कौल तन्त्र तथा रुद्रयामले तन्त्र) अन्तर्गत वाममार्गी (अर्थात् बायाँ हातले पूजा गर्र्ने) भएकोले गर्दा यो अरु संस्कृतिभन्दा पृथक छ । तन्त्र नारीप्रधान भएकोले पनि यसको छुट्टै विशेषता छ । नेवाः समुदायमा आफ्नो मौलिक सभ्यताभन्दा पनि बाह्य संस्कृतिहरु हाबी हु्ँदै छन्, जसले गर्दा नेवाः समुदायमा कतै आफ्नो मौलिकता नै हराउने पो हो कि भन्ने चिन्ता पनि बढ्न थालेको छ । तर चिन्ता मात्रै समस्याको समाधान भने पक्कै होइन । यसको लागि हरेक नेवाःले आ–आफ्नो ठाउँबाट सक्ने प्रयासको थालनी आजैबाट शुरु गर्नुपर्दछ र बिस्तारै ती प्रयासहरु परिवार, समाज, समुदाय गरी देशभरि नै फैलाउनुपर्दछ । देशबाहिर जहाँ–जहाँ नेवार परिवारहरुको बसोबास भएको छ, ती ठाउँसम्म नेवाः कला संस्कृतिलाई पु¥याउनुपर्दछ । नेवाः हुँदै गैह्रनेवाः अनि बिस्तारै विदेशी समुदायमाझ पनि नेवाः संस्कृतिलाई पु¥याउन सकिन्छ । यसको लागि बलियो नेतृत्व र ठूलो जमातको अनवरत प्रयासको खाँचो हुन्छ ।

यस्तै प्रश्नहरुको बीचमा उदाएको एउटा आशलाग्दो उदाहरणीय नाम हो श्री बासव जुजु राजोपाध्याय । काठमाडौंको न्ह्योखा टोलमा पिता श्री अच्युतानन्द तथा माता श्रीलक्ष्मी राजोपाध्यायको कोखबाट जन्मिनुभएका जुजुले नौ वर्षको उमेरमा बुबाबाट संस्कृत भाषा सिक्नुभयो (नेपाल भाषामा सामान्य रुपमा जुजु भन्नाले राजा भन्ने बुझिन्छ । नेवार समुदायमा पुरोहितलाई ‘द्यभाजु’, ‘द्यबाज्या’, ‘जुजुबाज्या’, ‘गुरुजु’, ‘जुजु’ भन्ने चलन छ) । पुख्र्यौली रुपमा तलेजु भवानी तथा पशुपति दक्षिणामूर्तिका पूजारी भएकोले उहाँले सानै उमेरदेखि नै तन्त्रमा आधारित पाठपूजा घरबाटै सिक्नुभयो । १३ वर्षको उमेरमै पूजाआजाको काम शुरु गर्नुभएका जुजुले १६ वर्षको उमेरमा निपुणता हासिल गरिसक्नुभएको थियो । सानैदेखि नै नेवा संस्कृतिलाई विशेष रुपमा अध्ययन गर्दै आउनुभएका जुुजुले साउथ एसिया इस्न्टिच्युटसँग आबद्ध भएर २६ वर्षको उमेरदेखि नै नेपालमा अध्ययनार्थ आएका विदेशीहरुलाई नेवाः संस्कृतिसम्बन्धी अध्यापन पनि गराउनुहुन्थ्यो । नेवाः दर्शनसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रस्तुतीकरणबाट प्रभावित भई नेवाः संस्कृति अनुसार विवाह गर्न नेपालमा आएका जापान, अस्ट्रेलिया, अमेरिका तथा क्यानाडाका नागरिकहरुलाई नेवाः विधिबाट उहाँले विवाहसमेत गरिदिनुभएको थियो । नेवाः संस्कृतिलाई विश्वले फरक किसिमले हेर्दै आएको कुरा यसबाट पुष्टि हुन्छ । तसर्थ नेवाः संस्कृतिलाई सही विश्लेषण गर्न सकेमा यसको प्रभाव नेवाः समुदायमा मात्र सीमित नरही देश तथा विदेशका अन्य समुदायसम्म पु¥याउन सक्ने सम्भावना प्रशस्त छ भन्ने बुझ्न जरुरी छ ।

कामकै सिलसिलामा सन् २००७ मा युनिभर्सिटी अफ वासिङ्टन स्टेटको निमन्त्रणामा ‘इन्टरनेसनल रिलिजन वर्कशप’ मा स्रोतव्यक्तिको रुपमा जुजु पहिलोपटक अमेरिकामा आउनुभएको थियो । यस भ्रमणको बेला उहाँले अमेरिकाको भर्जिनिया राज्यमा शुक्रलाल श्रेष्ठको घरमा नेवाः विधिबाट श्री सत्यनारायणको पूजा गर्नुभएको थियो । यो पूजा नै तान्त्रिक विधिबाट अमेरिकामा पहिलोपटक गरिएको पूजा हो भन्दा आपत्ति नहोला । उक्त पूजामा करिब ७० जना नेपालीहरुको भेला भएको र जुजुले सबैलाई बुभ्mने भाषामा अथ्र्याउँदै गरेको पूजाबाट सबैजना प्रभावित भएका थिए । यसबाट नेवारहरुले अमेरिकामा उहाँको उपस्थित अपरिहार्य रहेको महसुस गरी उहाँलाई स्थायी बसोबास गर्न पटक–पटक आग्रह गरिएपछि उहाँले सन् २००८ मा अमेरिकामा पुनः प्रवेश गर्नुभयो ।

शुरुवातका दिनहरु त्यति सहज थिएनन् । विदेशी भुमिमा स्थापित हुन उहाँले पनि निकै संघर्ष गर्नुभएको थियो । काठमाडौंभन्दा बाहिरका नेवारहरुका संस्कृतिहरु फरक भैसकेकाले उहाँको काम गर्ने क्षेत्र भनेको काठमाडौंका रैथाने नेवारहरु मात्र थिए । जुजुले जुनसुकै पूजा गर्दा पनि के गरेको, किन गरेको र यसका वैज्ञानिक कारणहरु के–के हुन् भन्ने कुराहरु अंग्रेजी, नेपाली र नेपाल भाषामा स्पष्ट रुपले बुझाउनुहुन्छ । साथै पूजाको बेला लिच्छविकालीन भोटो–जामाको पहिरनमा देखिनुहुने जुजुको पहिरन तथा पूजाशैली अरुभन्दा बेग्लै र विशिष्ट छ । उहाँको यही विशेषताले उहाँको कामप्रति नेवाः समुदायको लगाव बढ्दै गयो ।

बासव जुजुका अनुसार इहि संस्कार एकदम महत्वपूर्ण संस्कार हो । नेपाल भाषामा ‘इ’ भन्नाले समय र ‘हि’ भन्नाले रगत भन्ने बुझिन्छ । छोरी बच्चाहरुको रगत देखिनुअगाडि अर्थात् रजस्वला हुनुअगाडि गरिने भएकोले यस संस्कारलाई इहि भन्ने गरेको हो । यस संस्कारमा शिवको रुपमा बेल, जुन कहिल्यै पनि नसुक्ने भएकोले यसलाई साक्षी राखेर इष्ट देवतासँग आध्यात्मिक सम्बन्ध कायम गरिन्छ । यस बेला छोरीको सिउँदोमा सिन्दुर लगाइदिइन्छ । यसको अर्थ ती छोरी अब युवावस्थामा प्रवेश गरेको संकेत हो र त्यस पूजा भएको दिनदेखि छोरीलाई महालक्ष्मीको रुपमा लिइन्छ । इहिभन्दा अगाडि छोरीलाई कुमारीको रुपमा पूजा गर्ने चलन छ । अब त्यो छोरीले जिम्मेवारी सिक्न तयार हुनुपर्ने संकेत यस संस्कारले दिन्छ । जब विवाह हुन्छ, त्यतिखेर ज्वाइँलाई महालक्ष्मीका पतिको रुपमा ज्वाइँ नारायण भन्ने चलन छ । नेवाः संस्कारमा सनातन विवाहमा ससुराले बुहारीलाई महालक्ष्मीको प्रतिक मानेर खुट्टामा तुतीवग्गी (पाउजु) लगाइदिने चलनसमेत रहेको छ । त्यसै गरी विवाहलाई इहिपा भनिन्छ । ‘पा’ को अर्थ जोडी हो । नेवार संस्कारमा विवाह तथा विधवा भन्ने शब्द नै छैन । त्यसकारण इहि भनेको बेलविवाह होइन । साथै नेवाः समुदायले विधवा मान्ने चलन पनि गलत हो भन्दा आपत्ति नरहला ।

बाह्रा संस्कारलाई गुफा राख्ने अथवा सूर्यसँग विवाह गर्ने भन्दै आएको छ, जुन गलत हो । बाह्राको अर्थ बाह्रेयायेगु (बार्नुपर्ने) भन्ने बुझिन्छ । पहिलोचोटि रजस्वला हुँदा छोरीलाई १२ दिनसम्म गुप्तरुपमा राखेर शिक्षा दिने चलन रहेकोले यसलाई बाह्रा भन्ने गरेको हो । परम्परागतरुपमा बाह्रालाई ३ भागमा विभाजन गरेको हुन्छ । पहिलोचोटि रजस्वला हुँदा सबैजना आत्तिने हुँदा सुरक्षित ठाउँमा लगेर जीवनको महत्वपूर्ण शिक्षा दिइन्छ । पहिलो चार दिनसम्म घरका परिवार तथा जान्नेबुभ्mने महिलाहरुबाट यौन शिक्षा दिने गरिन्छ । बाह्रामा कपासको बाह्राख्या पनि राख्ने गरिन्छ । बाह्राख्या सुरक्षा तथा पुरुषको प्रतिकको रुपमा मानिन्छ । दोस्रो चार दिनमा शरीरबाट रगत बग्ने भएकोले त्यसको लागि आवश्यक पौष्टिक तत्वहरु प्राप्त होस् भनेर विभिन्न गेडागुडी (जसलाई छुस्यामुस्या भनिन्छ) खुवाउने चलन छ । तेस्रो चार दिनमा आफ्नो सौन्दर्यको ख्याल राख्ने र शृङ्गार गर्न सिकाउने गरिन्छ । यसलाई महिलाहरुको लागि आवश्यक शिक्षाको रुपमा मान्दै आएको छ । हाल आएर यसको स्वरुपमा परिवर्तन आइरहेको छ । १२ दिनसम्म सूर्यको किरण नदेखिने गरी राखिने चलनको ठाउँमा आजकल ३ रात ४ दिनमा नै सकाउने र कतिपयले बिहारहरुमा लगेर यो संस्कारलाई मान्ने गरेको पनि देखिन्छ । ‘समय अनुसार चल्दै आएका रीतिरिवाजहरुमा परिवर्तन गर्न सक्नुपर्दछ, तर परिवर्तनको नाममा संस्कारकै आत्मा मर्नुहुँदैन’ भन्ने कुरामा बासव जुजुले जोड दिँदै आउनुभएको छ ।

नेवाः समुदायमा ७७ वर्ष ७ महिना ७ दिन ७ घडी ७ पलामा गरिने पहिलो जंक्वलाई ‘ज्या जंक्व (भीमरथारोहण)’ भनिन्छ । यो संस्कार गर्नुको पछाडि आमाबुबाले गर्भदेखि पालनपोषण गरी जीवनका हरेक पलहरुमा स्याहारसुसार, साथ, सहयोग, शिक्षा अझ भन्ने हो भने आफ्नो जीवन नै समर्पित गर्दै घरपरिवार र समाजमा महत्वपूर्ण योगदान पु¥याउनुभएकोले छोराछोरी, नातिनातिनी, छरछिमेकी तथा नातासम्बन्धीहरुले सामूहिक रुपमा भेला भएर भगवान्को रुपमा पुज्ने र बाजागाजाका साथ रथमा राखी शहरबजार घुमाई भव्यरुपमा यो संस्कार गरिन्छ । साथै आफ्नो क्षमताले भ्याए अनुसार भोज गर्ने गरिन्छ । पूजा तथा भोजमा समावेश हुने सबैले बुबाआमालाई भगवान्कै रुप मानी ढोगेर आशिष लिने चलन पनि छ । नेवाः समुदायमा श्रीमान्को उमेर श्रीमतीको भन्दा ठूलो हुने भएकोले श्रीमान्को उमेरलाई आधार मानी श्रीमान्–श्रीमती दुवैलाई रथमा राखेर साथमा यो संस्कार गरिन्छ । श्रीमान्को स्वर्गे भएको अवस्थामा भने श्रीमतीलाई पनि उमेर पुग्नुपर्ने नियम छ ।

दोस्रो जंक्वलाई ‘निक्वगु जंक्व (सहस्र चन्द्र दर्शन वा चन्द्र रथारोहण)’ भनिन्छ, जुन ८३ वर्ष ४ महिनामा बेलुकी चन्द्रोदय भएपछि गरिन्छ । तेस्रो जंक्व ८८ वर्ष ८ महिना ८ दिन ८ घडी ८ पलामा गरिन्छ । यसलाई ‘स्वक्वगु जंक्व (देवरथारोहण )’ भनिन्छ । यस बेला बुबाआमालाई रथमा राखी तानेर झ्यालबाट भित्र्याउने गरिन्छ । तसर्थ यसलाई आकाशमार्ग गमन गरेको पनि मानिन्छ । चौथोपटक गरिने जंक्वलाई ‘प्यक्वगु जंक्व (दिव्यरथारोहण)’ भनिन्छ । ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पलामा गरिने यो जंकोमा गर्भको संकेत घ्याम्पोलाई मानी घ्याम्पोभित्र राखेर पूजा गर्ने र घ्याम्पो फुटाएर निकाल्ने अर्थात् पुनर्जन्म भएको मान्यता अनुरुप यस संस्कारमा बुबाआमाको पुनः व्यंकेगु (न्वारान), नामाकरण, कयेतापूजा (व्रतबन्ध) तथा विवाह संस्कारसमेत गरिन्छ । अति नै विरलै हुने भनेको पाँचौंपटक १०८ वर्षको उमेरमा गरिने जंक्व हो, जसलाई ‘न्याक्वगु जंक्व (अतिदिव्यरथारोहण)’ भनिन्छ । नेवाः समुदायको यो अत्यन्त महत्वपूर्ण संस्कार बासव जुजुको उपस्थितिले अमेरिकामा पनि सम्भव भएको छ । सन् २०२१ अप्रिल २५ मा न्युयोर्कमा श्री कृष्णबहादुर श्रेष्ठ तथा उहाँकी धर्मपत्नी ईश्वरी श्रेष्ठको दिव्यरथारोहण गराउन पाउँदा आफूलाई भाग्यमानी ठान्नुहुने जुजुले हालसम्म दुई दर्जनभन्दा बढी जंक्व गराइसक्नुभएको छ ।

बासव जुजु आफैंमा एउटा परिचय बनेको छ । उहाँको दक्षता, निपुणता र कार्यशैलीले उहाँलाई लोकप्रिय नेवाः पुरोहितको रुपमा चिनिन थालिएको छ । अमेरिकामा बस्नुभएको १५ वर्षको दौरानमा उहाँले अमेरिकाका विभिन्न ४८ वटा राज्यहरुमा छरिएर रहेका नेवाः समुदायलाई नेवा विधिबाट पूजा सम्पन्न गराइसक्नुभएको छ । अमेरिकाको बासव जुजुको शुरुवाती दिनदेखि नजिकिंँदै उहाँसँगै नेवाः सस्कृति संवद्र्धनमा लागिरहनुभएका ‘वल्र्ड नेवाः अर्गनाइजेसन’ का पूर्वअध्यक्ष श्री सिजन श्रेष्ठज्यू (मेरिल्यान्ड राज्य निवासी) बासव जुजुलाई सांस्कृतिक विद्वान्, अध्यात्मिक परामर्शदाता तथा प्रेरकका रुपमा व्याख्या गर्नुहुन्छ ।

आफ्नो परिवारमा विभिन्न संस्कारहरु समापन गराइसक्नुभएका र मेरिल्यान्ड तथा भर्जिनियामा बासव जुजुको कामलाई नजिकबाट बुभ्mने मौका पाउनुभएका मेरिल्यान्ड राज्य निवासी प्राध्यापक श्री कुलदेवी श्रेष्ठज्यू उहाँको हरेक रीतिरिवाजलाई कारणसहित बुझाउने कार्यबाट निकै प्रभावित हुनुहुन्छ । अमेरिकाको हवाई राज्यमा आफ्नो सालीको विवाह समारोहमा बासव जुजलाई पुरोहितको रुपमा पहिलोचोटि भेट भएको बताउनुहुने श्री अनिभ केशर मास्केज्यू (एरिजोना राज्य निवासी) उहाँको पूजाशैलीलाई अन्य पुरोहितहरुको भन्दा फरक तर उच्च किसिमको भएको दाबी गर्नुहुन्छ ।

तान्त्रिक विधिबाट अमेरिकामा गरिएको पहिलो सत्यनारायण पूजामा सहभागी हुनुभएका टेक्सस राज्य निवासी श्री प्रमेश श्रेष्ठज्यू बासव जुजुसँग सहकार्य गर्दै अमेरिकामा नेवाः कला र संस्कृतिको स्थापनाको लागि अनवरतरुपमा लाग्दै आउनुभएको छ । अमेरिकाको टेक्सस राज्यमा ‘युनाइटेड नेवाः यु.एस.ए.’ को संस्थापनादेखि बासव जुजुसँगै काम गर्दै आउनुभएका प्रमेशज्यू हाल वल्र्ड नेवाः अर्गनाइजेसन यु.एस.ए.का अध्यक्ष पनि हुनुहुन्छ । उहाँका अनुसार नेपालपश्चात् नेवाः कला संस्कृतिको संरक्षण गर्दै यी संस्कृतिहरुलाई लागू गर्दै आएको देश भनेको अमेरिका नै हो ।

यहाँ प्रस्तुत गरेका अभिव्यक्तिहरु अमेरिकामा रहेका व्यक्ति, संस्था र संस्थाका प्रतिनिधिहरुका बुझाइका संकेत मात्रै हुन् । यी अभिव्यक्तिबाट अमेरिकाको नेवाः समुदायमा बासव जुजुको लोकप्रियतालाई आँकलन गर्न सकिन्छ । पूजाको लागि उहाँलाई नेपाललगायत विभिन्न देशहरुबाट धेरै अनुरोध गर्ने गरिएको छ । तर बासव जुजुलाई एक्लैले सबैतिर भ्याउन असम्भव नै भैरहेको छ । उहाँकै हातबाट संस्कार सम्पन्न गराउन सन् २०१६ मा नेपालबाट अमेरिकाको जर्जिया राज्यमै ल्याएर नानीहरुलाई इहि गराएको उहाँको अनुभवले उहाँप्रतिको नेवाः समुदायको आस्थालाई आँकलन गर्न सकिन्छ । यसै गरी २०११ मा अमेरिकाको क्यालिफोर्नियामा रहेका ३ जना स्थानीय अमेरिकन (गोरा जाति) नानीहरुलाई उहाँकै घरमा नेवाः विधिबाट इहि गरिएको र २०१३ मा ब्राह्मण परिवारका ५ जना नानीहरुलाई पनि इहि गरिएको थियो ।

उहाँको संलग्नता केवल पारिवारिक पूजाआजामा मात्र सीमित छैन । सन् २००८ मा मेरिल्यान्डमा ‘नेपा पासा पुचः अमेरिकाय (एन.पी.पी.ए.) को आयोजनामा उहाँले ‘सामूहिक इहि’को कार्य सम्पन्न गर्नुभयो । यो काम हालसम्म पनि वार्षिक रुपमा मेरिल्यान्डमा हुँदै आएको छ । यो कार्यलाई हाल न्युयोर्क, टेक्सस, बोस्टन, क्यालिफोर्निया, फ्लोरिडा राज्यका नेवाः संस्थाहरुले पनि निरन्तरता दिन थालेका छन् । यसबाट इहिको लागि नेपाल जानुपर्ने बाध्यता तथा जान नसकेर चाहँदाचाहँदै पनि इहि गराउन नसक्ने बाध्यात्मक अवस्थामा परिवर्तन आएको छ ।

यसै गरी मेरिल्यान्डमा नेवाः अर्गनाइजेसन अफ अमेरिकाले ‘सामूहिक म्हःपूजा’ गर्दै आएकोमा उहाँकै सक्रियतामा सन् २००९ मा पहिलोपटक तान्त्रिक विधिपूर्वक गर्ने कार्यको शुरुवात भयो र यस कार्यलाई हालसम्म पनि निरन्तरता दिइँदै आएको छ । मेरिल्यान्डजस्तै अमेरिकाका अन्य राज्यहरु सिकागो, न्युयोर्क, टेक्सस, फ्लोरिडा, क्यालिफोर्निया, जोर्जिया, डेनभर आदि राज्यहरुमा पनि सामूहिक म्हःपूजा भव्यताका साथ मनाउँदै आएका छन् । पहिलोचोटि कसैले सामूहिक म्हःपूजा गर्ने र सहयोग माग्ने गरेमा जुजुले आफैं उपस्थित भई प्रत्यक्षरुपमा सिकाउने काम गर्दै आउनुभएको छ ।

सन् २०१२ मा नेवाः अर्गनाइजेसन अफ अमेरिकाको संलग्नतामा पहिलोपटक मेरिल्यान्ड राज्यमा ‘येंया पुन्हि (इन्द्रजात्रा)’ को शुरुवात भयो । शुरुवात नै नेपालमा झैं कलात्मक सम्यबजी र देवी कुमारीको प्रतिकात्मक स्वरुप नेवाः कन्यालाई सजाउने कार्यबाट भएको थियो । यो एउटा नेवाः समुदायको मात्र नभएर नेपाली समुदायकै साझा पर्वको रुपमा स्थापित हुँदै आएको छ । हाल आएर बाल्टिमोर र वासिङ्टन राज्यहरुमा गणेश, भैरव तथा कुमारीको रथहरुका साथै लाखे झ्यालींचा नाच, धिमे बाजा, अष्टमात्रिका, हाथाहायेकेगु, कलात्मक सम्यवजी, पुलुंकिसीजस्ता गतिविधिहरु थपिँदै आएका छन् । यो चाड हाल आएर वासिङ्टन, मेरिल्यान्ड, न्युयोर्क, सिकागो, टेक्सस, कोलोराडो, जर्जिया, फ्लोरिडा, क्यालिफोर्निया, बोस्टन, पोर्टल्यान्ड, सियाटल आदि राज्यहरुमा पनि मनाउन थालेका छन् ।

यस्ता प्रशंसनीय सामूहिक कार्यले नेपालको संस्कृतिलाई नेपालबाहिरसम्म पु¥याउन सफल भएको महसुस छ । आपूmलाई संस्कार र संस्कृतिका विद्यार्थी भन्न रुचाउनुहुने बासव जुजु सही अर्थमा संस्कृतविद् पनि हुनुहुन्छ भन्दा फरक नपर्ला । उहाँले ४५०० वर्षपहिले देखिका इतिहास र त्यससँगै विकसित हुँदै आएको नेवाः सभ्यताको विकासक्रमलाई पनि अध्ययन गर्दै आउनुभएको छ । उहाँले अध्ययन र ज्ञानको कारण पुस्तौंदेखि गर्दै आएका रीतिरिवाजहरु मनाउनुका वैज्ञानिक कारणहरु बुझाउँदै आउन सफल हुनुभएको छ । उहाँले विभिन्न सभा–सम्मेलनमा नेवाः रीतिरिवाज, संस्कृति र तन्त्रसम्बन्धी विषयहरुमा बोल्दै र बुझाउँदै आउनुभएको छ । उहाँको व्याख्याकै कारण नेवाः समुदायको हराउँदै गएको तन्त्र र त्यससँग सम्बन्धित विषयहरु बिस्तारै ब्युँतिन थालेका छन् । यस अर्थमा नेवाः सभ्यताको विकास र विस्तारमा उहाँको योगदान निकै नै भारिलो छ ।

वास्तवमा भन्नुपर्दा बासव जुुजुको उपस्थितिले अमेरिकाजस्तो विशाल देशमा नेवाः संस्कृतिले स्थान पाएको छ, नेवाः समुदायबीच गुथीको भावना पुनः जागरण भएको छ, नेवाः संस्थाहरुको जन्म भएको र हुँदै आएको छ । उहाँकै अथक मेहनतको फलस्वरुप सन् २०१८ मा अमेरिकामा रहेका सबै नेवाः संस्थाहरुलाई एउटै सञ्जालमा ल्याई नेवारहरुबीच एकता बढाउने लक्ष्यसहित ‘वल्र्ड नेवाः अर्गनाइजेसन यु.एस.ए’ को स्थापना भएको छ र उक्त संस्थामा उहाँले महासचिवको रुपमा काम गर्दै आउनुभएको छ ।

उहाँले गर्नुभएको अर्को उल्लेखनीय कार्य भनेको उहाँका पिता तथा मेरा पूजनीय गुरु मास्टर अच्युतानन्द राजोपाध्यायले नेपाल भाषामा लेख्नुभएको स्वस्थानी पुस्तकलाई उहाँले नेपाल भाषामै पढेर भिडियो बनाई सबैले सुन्न सक्ने गरी युट्युबमा हाल्नुभएको छ । आफ्ना मातापिताको सम्मानस्वरुप उहाँका पिताले पढाउनुभएको कन्या मन्दिर माध्यमिक विद्यालमा पठनपाठन गर्दै आएका तर आर्थिक रुपले विपन्न परिवारका विद्यार्थीहरुको सहयोगार्थ जुजुले ‘मास्टर अच्युतानन्द श्रीलक्ष्मी स्मृति कोष’ खडा गर्नुभएको छ । सन् २०१६ मा खडा भएको उक्त कोषले शुरुमा ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो भने हाल ८० जना विध्यार्थीलाई पढाउंदै आएको छ र उहाँकी दिदी श्री सजनी राजोपाध्यायले यस कोषको कार्यक्रम संयोजकको रुपमा काम गर्दै आउनुभएको छ । ‘लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज’ नामक संस्थाको संस्थापकको रुपमा रहनुभएका जुजुले सन् २०१९÷२०२० मा सभापतिको रुपमा पनि काम गर्नुभएको थियो ।

कोभिडको लकडाउनमा उहाँले इन्टरनेट र जुमको प्रयोग गरी विभिन्न कार्यहरु (इहि, बाह्रा, विवाह, जंक्व, गृहपूजा, श्रीस्वस्थानी आदि) कार्यलाई निरन्तरता दिनुभएको थियो । निष्कर्षमा भन्नुपर्दा बासव जुजुको अमेरिका बसाइ नेवाः समुदायको लागि वरदान साबित भएको छ । उहाँको कारण नेवाः समुदायले नेपालमै गरेजस्तै गरी अमेरिकामा पनि तान्त्रिक विधिबाट पूजाहरु गर्न पाएका छन् । उहाँका ती कामहरुलाई अमेरिकामा मात्र नभएर विश्वभरि छरिएर रहेका नेवाः समुदायहरुमा पु¥याउन उहाँको आवश्यकतालाई महसुस गरी ‘वल्र्ड नेवाः अर्गनाइजेसन’ ले उहाँलाई सांस्कृतिक राजदूतको पद जिम्मा दिएको छ । उहाँको कार्यको मूल्यांकन गरी नेपाल सरकारको तर्पmबाट वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँलाई ‘सोसियल लिडर’ को रुपमा सन् २०१६ र सन् २०२१ मा दुईपटक सम्मान गरेको थियो ।

उहाँले जसरी अमेरिकामा रहेर आफ्नो संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि काम गरिरहनुभएको छ, त्यसरी नै नेवारहरुको बस्ती भएका अन्य देशहरुमा पनि कम्तीमा एकजना पुरोहित भएर यही काममा लागेको हेर्न उहाँ इच्छुक हुनुहुन्छ । पूजा भनेको मानिसहरुको संवेदनासँग जोडिएको विषय हो । तर कतिपय पुरोहितहरुले यस कार्यलाई हचुवाका भरमा लिने, सही रुपमा पूजाका अर्थहरु नबुझाएर जथाभावी गर्ने र केवल कमाउने भाँडोमात्र बनाएर मानिसहरुलाई रीतिरिवाज, धर्म–संस्कृतिप्रति वितृष्णा जगाउने खालका कार्यहरुले पुरोहितजस्तो सम्माननीय एवं जिम्मेवारीपूर्ण कार्यलाई बदनाम गर्दै आएका छन् । तसर्थ यस पेसालाई सम्मान गर्ने व्यक्तिहरुले यसलाई अपनाऊन् र यस गरिमामय कार्यद्वारा नेवाः संस्कृतिलाई देश तथा विदेशमा सम्मानपूर्वक स्थापित गरियोस् भन्ने उहाँको अपेक्षा छ । कतिपय अवस्थामा संस्कृतिभित्रका कुरीतिहरुलाई हटाउनका लागि सांस्कृतिक क्रान्तिको पनि आवश्यकता पर्दछ, जसले देश, काल, परिस्थिति र समयानुकूल सिद्धान्त र दर्शनको मूल्य स्थापित गर्न सकिन्छ । उहाँको यसै सोच र क्रान्तिले गर्दा नै अमेरिकामा समेत नेवाः संस्कारहरु विकसित हुँदै आएका छन् ।

(लेखिका सिंह अमेरिकाको लुइजियानामा बस्दै आउनुभएको छ । अमेरिकामा बसोबास गर्दै आएका नेवाः संस्कृतिप्रेमी एवं संघसंस्थाका प्रतिनिधिहरुसँग लेखिका सिंहद्वारा गरिएको कुराकानीमा आधारित लेख ।)

प्रतिक्रिया दिनुहोस्