साँच्चिकै माननीय, सम्माननीय को ?



कसैप्रति मान–सम्मान व्यक्तिको भावनाको कुरा हो । श्रद्धाको कुरा हो । अन्ततः तर्कसम्मत समझको कुरा हो । विभिन्न प्रलोभन बाँड्दै, जनमत बटुल्दै त्यसैको आधारमा पदको भ¥याङ चढेर बार्दलीमा उक्लेपछि आफैंले कानुन बनाएर माननीय÷सम्माननीय भनाइनुचाहिँ कस्तो कुरा हो त ? यससम्बन्धमा व्यापक जनताबीच हुनुपर्ने आवश्यक छलफल अद्यावधि भएको छैन । साँच्चिकै माननीय, सम्माननीय को ? निक्र्यौल भएकै छैन ।

आफ्ना बाल्यकालका घटना सम्झँदै उमेश भाइ भन्नुहुन्छ, ‘हाम्रा गाउँमा डाँकाहरु आउँथे । बन्दुक पड्काउँथे, गाउँलेमाथि लाठा बर्साउँथे । घर–घर पसेर लुटपाट गर्थे । तिनै डाँकाहरु हामी लुटिएका गाउँलेलाई लाइनमा उभ्याएर आदेश दिन्थे– हामी डाँका, हामी महान्, हामी ठूला मान्छे, हामीलाई सम्माननीय डाँका महोदय, भनेर सलाम ठोक् ! गाउँलेहरु सलाम ठोक्थे । हाम्रा गोडामा ढोग् भन्थे । गाउँलेहरु ढोग्थे ।

म युवा भएपछि गाउँकै मारुती दाइले गाउँलेलाई जुटाएर लाठी चलाउने तालिम दिनुभयो । अब डाँकाहरु आए भने यिनै लाठाले ठोक्नुपर्छ । रात–रातभरि गस्ती गर्न परे पनि गर्नुपर्छ । डाँकाहरु आए भने धूलो चटाएर लखेट्नुपर्छ । हामी डराएसम्म तिनले हामीलाई लुट्छन् । हामीले माननीय, सम्माननीय भनेर ढोग्दासम्म तिनले हाम्रा अगाडि पाँसुल्ला तेस्र्याउँछन् । हाम्रो डरले ती बलिया भएका हुन् । हामी नडराएर सामना गर्न कस्सियौं त, ती हाम्रा अनुहारमा हेर्न पनि सक्दैनन् ।

मारुती दाइले भन्नुभएजस्तै हामी गाउँलेले लाठा बोकेर गस्ती गर्न थालेपछि डाँकाहरु हाम्रा गाउँमा छिर्न सकेनन् । अहिले हाम्रो गाउँ ढुक्क छ । यस्तो पनि हुँदो रैछ है ।’

‘हिजोआज राजधानीमा ठूलाबडाका सवारीले लाठा उजाएर टाउको ताक्दै–ठोक्दैै लखेटिएका जनता देख्दा तपाईं आफ्ना गाउँका ती दिन सम्झनुहुन्छ होला हगि ?’ बूढा रमेश गुरुले हाँस्दै सोध्नुभयो ।

‘उमेशजीका अनुभवको लाक्षणिक अर्थ र महत्व छ । जनताका मतले पदासीन भएर जनताकै टाउका फोर्ने सत्ता–संस्कृतिका वाहकहरुलाई जनताले माननीय, सम्माननीय भन्दै आफ्ना श्रमका रगत–पसिना अर्र्पेर पाल्नुपर्ने नै किन ?’ विद्यार्थी भाइ उद्धवले प्रश्न राख्नुभयो ।

छाप्रे चियापसलमा उठेको यस गफमा अर्को टेबलका एक अपरिचित चायपायी युवाले जोडिन खोज्दै भन्नुभयो, ‘गलत व्यक्तिहरुप्रतिका सम्बोधनले सम्मानित भाषाका कति शब्दहरु अपमानित भएका छन् । अब विश्वविद्यालयका गुरुहरु र विद्यार्थीहरु अगाडि आउनुप¥यो ।’

‘गुरुहरु र तिनका बिचरा विद्यार्थीहरु पार्टीका झन्डा बोकून् कि देशदुनियाँका समस्या बोकून् । अहिलेका गुरु गुरु छैनन् । विद्यार्थी विद्यार्थी छैनन् । अब परिवर्तनको आशा कतै बाँकी छ भने आम जनतामा छ’, त्यसै टेबलका अर्का प्रौैढ चायपायीले भने ।

‘भेडा–संस्कृतिबाट बाहिर ननिस्केसम्म जनता पनि ‘डाडु ज’ मात्रै हो, अथवा ‘नता– निहुँरिएको’ दुनिएको दुनियाँ मात्रै हो । ‘सशक्त र सचेत मानिसहरुको जुलुस’ होइन । हाम्रै टेबलका युवा चियापायी रेवन्त पण्डित गर्जिए ।

‘जनतालाई गाली नगरौँ । जनतामा असल मानिस धेरै छन् । खराब त पार्टीका बिचौलिया मात्रै हुन् । भनौँ भने पार्टीहरुमै पनि असल मान्छे छन् । ती पाखा पारिएका छन् । समय आएपछि ती हामी जनतासँगै हुन्छन्’, हामीसितैका गुरु काकाले भन्नुभयो, ‘अहिलेको यो भाषाको सवाल पनि मलाई रोचक लाग्यो ।’

छिमेकी टेबलका अर्का एक युवाले भन्नुभयो, ‘यो सवाललाई लिएर एकदिन मैले पनि काठमाडौंका दुई–चार जनासँग सोधेँ । केही नमुना सवाल जवाफ म भनौं है त । एकजना बौद्ध भिक्षुले भन्नुभयो, ‘म त समाजका दुःखी, गरिब, रोगाक्रान्तहरु र अशक्त बूढाबूढीहरुको निःशुल्क सेवा गर्ने मानिसलाई माननीय, सम्माननीय मान्छु । तिनीहरुलाई भेट्दा श्रद्धाले शिर निहुँरिन्छ । जसको अगाडि पर्दा डरले होइन, श्रद्धाले शिर निहुँरिन्छ, त्यही माननीय हो, त्यही सम्माननीय हो ।’

असन, त्यौडकी एक बूढी आमाले भन्नुभयो, ‘बिहानबिहानै घर–घर र टोल–टोलको फोहोर उठाएर लाने भाइहरु, दिनदिनै सडक बढार्ने बहिनीहरु र ढल सफा गर्दै शहरलाई फोहोर र दुर्गन्धबाट जोगाउने सफाइकर्मी ज्यामीहरु नै मेरो विचारमा माननीय र सम्माननीयहरु हुन् । तिनीहरुले त्यति नगरे शहर फोहोर र दुर्गन्धमा डुब्छ । हामी सास फेर्न पनि सक्दैनौँ ।’

बालाजुका ९५ वर्षीय एक वृद्ध किसान–हजुरबाले भन्नुभयो, ‘माननीय–सम्माननीय भनेको धेरै ठूलो मान्छे भनेको होला हैन ? ल, आफ्नो विवेकलाई साक्षी राखेर तपाईं नै भन्नुस् त यहाँ को ठूलो ? अन्न उब्जाउने किसान ठूलो कि त्यही किसानलाई दिनदहाडै निचोरेर पिउने साहू ठूलो ? फोहोर गर्ने भ्रष्ट नेताहरु र ठालुहरु ठूलो कि फोहोर सफा गर्ने ज्यामी ठूलो ? उत्पादन गर्ने ज्यामी ठूलो कि लुटिखाने लुटाहा ठूलो ? कसैको ज्यान बचाउने ठूलो कि ज्यान लिने ठूलो ? बाली लगाउने किसान ठूलो कि बाली बिमाख पार्ने साँढे ठूलो ? नेता ठूलो कि जनता ठूलो ? देश ठूलो कि राजनीति ठूलो ?’

बूढा किसान हजुरबाका कुरा घत लाग्दा थिए । मैले उहाँका कुरामा समर्थन जनाउँदै भनेँ, ‘भ्रष्ट फोहोरीहरु ठूला होइनन्, सफाइकर्मी जनता नै ठूला हुन् । किसान, मजदुरलगायत श्रमिक जनता नै ठूला हुन् । तिनै श्रमिक जनता माननीय, सम्माननीय हुन् ।’

हाम्रा कुरा सुनिरहेका छिमेकी टेबिलका एकजना वयोवृद्ध व्यक्तिले भन्नुभयो, ‘मुलुकको चौतर्फी फोहोरको गाथा–कथा धेरै छन् । म आपूmलाई बिझेको एउटा घटना सुनाउँछु । ०६३ साल साउनको घटना थियो यो । मुलुकका राजनेताहरु तुक्केबाका गोरुगाडामा चढेर अमेरिका भ्रमणमा निस्केका थिए । मुलुक अन्यौलको भुमरीमा घुमिरहेको थियो । दुनियाँ दुनिइरहेकै थियौँ । यसै बीच मेरी एउटी छोरी जापानबाट काठमाडौं फर्कंदै थिइन् । सगरमाथा र बुद्धको देश नेपालका राजधानीको सौन्दर्य हेर्ने रहरले उहाँका तीन जापानी सँगिनीहरु पनि सँगै काठमाडौं विमानघाटमा ओर्लनुभयो । उहाँहरुलाई लिएर भाडाको मोटरमा हामी कलङ्कीतिर लाग्यौँ ।

बर्सातको रात । लोडसेडिङमा परेर निर्वाण प्राप्त गरेका सडकबत्तीहरु । सडककिनारमा यत्रतत्र सगरमाथाको अभिनय गर्दै उभिएका फोहोरका डुङ्गुरहरु । डुङ्गुरहरुबाट नाकतिर दगुरिरहेका दुर्गन्धका हुलाकीहरु । हिलाम्मे सडक गल्ली । ट्राफिक नियम मिच्न तँछाडमछाड गर्दै कुहिरीमण्डल धुवाँ उडाई गुडेका थोत्रा गाडीहरु । जापानी पाहुनाहरुले सरप्राइज ठानेछन् । ‘यो काठमाडौं त हो ?’ एक जापानी सँगिनीले छोरीसँग सोधिन् । भावार्थ बुझेर हामी सबै हाँस्यौँ । तत्काल लाजले छपक्कै छोपेको अनुभूति भयो । अँध्यारोमा बल्लतल्ल बलिरहेका मनका बत्तीहरु पनि झ्याप्पैै निभे । बडो कष्टले घर आइपुगियो ।

सपनाको काठमाडौं हेर्न आउनुभएका जापानी पाहुनाहरुलाई घरमै थुनिराख्ने कुरा थिएन । भोलिपल्ट शहर घुमाउन लगियो ।
सन्जोगले त्यस दिन घाम लाग्यो । रातको अँध्यारोमा सडककिनारमा गजधम्म देखिएका फोहोरका थुप्राहरु घमाइलो दिनका उज्यालोमा ‘हामी यहाँ छौँ !’ भन्ने घमण्डका नेताशैलीमा गजक्क गज्किरहेभैmँ देखिन्थे । थुप्राका टाउकाहरुमा ताजा फोहोर थपिँदै थिए । त्यसताका डम्पसाइटका बासिन्दाहरुसँग कुरा नमिलेर शहरको फोहोर उठ्न सकेको थिएन । गान्धीवादी सत्याग्रही शैलीमा थुप्रँदै पलेँटी मारेर थचक्क बसेका थिए फोहोरहरु । बर्सातले सडक हिलाम्मे थिए । सडकका हिलोमा फोहोर मिसिएर वातावरणले बीभत्स रुप लिएको अवस्था थियो । पाँच दिन उपत्यका घुम्न आएका जापानी पाहुनाहरु यहाँको फोहोर, दुर्गन्ध र हिलोबाट दुई दिनमै आत्तिए ।

जापानीहरु दुई दिनमै आत्तिएर जापान फर्किए । हामी उपत्यकाको त्यस्तो नारकी अवस्था पटक–पटक भोगेर पनि आत्तिएका छैनौँ । किनभने अत्तिएर फर्कने जापान हामीसँग छैन । हामी यहीँका बासिन्दा छौँ । हामीले यहीँ रहेर सङ्घर्ष गर्नु छ ।

हो, हामी जनतामा अभैm चेतनाको खडेरी छ । लुटेराहरुलाई मान–सम्मान दिइआएका छौँ । मजदुर किसानलाई सम्मान दिन जानेका छैनौँ । घर–घरमा फोहोर उठाउने सफाइकर्मीहरुलार्ई आदरणीय भाइ, भनेर सम्बोधन गर्नसम्म जानेका छैनौँ । गल्लीमा घण्टी बजेपछि टोलका घर–घरमा ‘ए, आयो ! आयो !! फोहोर आयो !!!’ भन्दै कराएको आवाज सुनिन्छ । ‘ए फोहोर, एकछिन् पख् त !’ भन्दै कराएको सुन्दा टिठ लाग्छ । फोहोर उठाउनेहरु सफाइ अभियन्ता हुन्, फोहोर होइनन् भन्ने प्रतिक्रिया सुनिँदैन ।

सफाइकर्मीहरु मान–सम्मान नपाएको गुनासो गर्दैनन् । सम्मान खोज्ने अनौठा फोहोर त आजका राजनीतिक नेताहरु हुन् । यसै भएर त हामीलाई श्रमिक जनता महान् लाग्छन् । सम्माननीय लाग्छन् । यो हामी जनताको सोच हो । सत्ताका भीमसेनहरु यसरी सोच्दैनन् ।

फोहोरलाई पन्छाउने र सफाइलाई सम्मान गर्ने, उज्यालो संस्कृतिको अभावकै कारण हाम्रो देशमा भ्रष्टाचारको फोहोरी संस्कृति बेजोडसँग मौलाएको हो । मलाई त यस्तै लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्