शैक्षिक सुधारका लागि चामल र तरकारी उठाएर सामुदायिक विद्यालयमा ‘होस्टेल’



पर्वत।  

सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था खस्कँदै गएको बेला पर्वतको महाशिला गाउँपालिकामा भने शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयमा होस्टेल सञ्चालन गर्न थालिएको छ ।

अभिभावकको जिन्सी र महाशिला गाउँपालिकाको नगद साझेदारीमा  ७ वटा  सामुदायिक विद्यालयमा दिवा होस्टेल सञ्चालन गरिएको हो ।

गाउँपालिकाले प्रस्ताव आव्हान गरे अनुसार ६ माध्यमिक र १ निम्न माध्यमिक विद्यालयले प्रस्ता पेश गरेपछि अहिले दिवा होस्टेल सञ्चालनमा छ । सामुदायिक विद्यालयमा बिहान देखि बेलुका सम्म नै विद्यार्थीलाई अध्ययनको वातावरण बनाउन दिवा होस्टेल सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बाल शिक्षा देखि १० कक्षाका विद्यार्थीलाई बिहान ६ बजे देखि साँझ ६ बजे सम्म विद्यालयमा राखेर अध्ययन गर्ने वातावरण मिलाइएको छ । भौतिक पूर्वाधारको अभावमा रात्रिकालीन होस्टेल भने चलाउन नसकिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । होस्टलमा खानाका लागि स्थानीय परिकार नै तयार हुने गरेका छन्। अभिभावकले चामल, तरकारी, दाल लगायतका सामाग्री सहयोग गरेका छन् भने गाउँपालिकाले अतिरिक्त कक्षा सञ्चालनका लागि शिक्षकलाई भत्ता तथा खाना पकाउने सहयोगी कर्मचारीहरूको तलब भत्ता उपलब्ध गराउन थालेको छ ।

अहिले तत्कालका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनीहरू विद्यालयमा नै रहेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासबिना अरु विकासका कुराहरु जति अगाडि बढाए पनि देश अघि सर्ने दर कम हुने भएकाले शैक्षिक सुधारका  आर्थिक लगानी गाउँपालिकाले गर्ने गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालको भनाई छ ।  ‘विद्यालयका ८ जना शिक्षकलाई प्रति शिक्षक मासिक १४ हजार रुपैयाँ गाउँपालिकाकातर्फबाट थप रकम दिन्छौँ। दुई जना सहयोगी कर्मचारीलाई मासिक १५ हजारका दरले राखेका छौँ। विद्यालयकै अर्का एक जना कर्मचारीलाई मासिक १० हजार थप गरेका छौँ।’उहाँले भन्नुभयो ‘गाउँपालिकाले मासिक १ लाख ५२ हजार रुपैयाँ विद्यालयमा लगानी र अभिभावकको अन्न तथा सागपात साझेदारीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।’ ८ जना शिक्षकले थपिएको तलबबाट बिहान बेलुकाका अतिरिक्त कक्षामा शिक्षण गर्नुपर्ने छ भने सहयोगीका रुपमा राखिएका तीन जना कर्मचारीहरुले खाना तयार गर्नेदेखि व्यवस्थापकीय पक्षका अरु काम गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाले आर्थिक बहन लिएको भए पनि खाद्यान्न आपूर्तिको सबै काम अभिभावकबाट हुने र विद्यालयले कुनै पनि आर्थिक लेनदेनको काम नगर्ने होटल सञ्चालन गरिरहेको स्वर्ध मावि पाखापानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत सुवेदीले बताउनुभयो ।  अभिभावकहरुले मासिक ६ किलो, ४ किलो र ३ किलोको दरमा चामल उठाएर विद्यालयमा सहयोग गरिरहेका छन्। घर गाउँमा नै उब्जने गरेका हरिया तरकारी, दाल, लगायतका खाद्य वस्तुहरुको आपूर्ति उनीहरू आफैले गरिरहेका छन्। होस्टेल सञ्चालनपछि विद्यार्थीमा पठनपाठनको संस्कृति बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्