दुर्घटनाको छानबिन



मुलुकमा सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था डरलाग्दो छ । त्यसमाथि विमान दुर्घटनाको क्षति उत्तिकै कहालीलाग्दो छ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलसहित विमानमा सवार ७२ जनाको ज्यानै जानेगरी भएको दुर्घटनाले सबैलाई शोकाकूल बनाएको छ नै । त्यसमाथि यो दुर्घटना अहिलेसम्म भएका आन्तरिक विमान दुर्घटनामध्ये क्षतिका हिसाबले सबैभन्दा ठूलो दुर्घटना हो ।

विमानमा ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, दक्षिण कोरियाली दुई, फ्रान्सेली एक गरी ६८ जना यात्रु र चारजना चालक दलका सदस्य थिए । पोखरा विमानस्थलदेखि २ किलोमिटर वर सेतीको खोंचमा विमान खसेको थियो । विशेषगरी यती एयरलाइन्स र यसकै अर्काे सहायक कम्पनी तारा एयर गरी सन् २००४ देखि हालसम्म सातवटा विमान दुर्घटनामा परिसकेका छन् ।

यात्रुका लागि सडक मात्र नभई आकाश पनि सुरक्षित नभएको एकपछि अर्को दुर्घटनाले देखाइरहेको छ । विभिन्न समयमा भएको विमान दुर्घटनाले अमूक कम्पनीको हवाई उडान सुरक्षा, विश्वसनीयता, गुणस्तरीयता, व्यवस्थापन लगायत थुप्रै विषयमा प्रश्न उठाएको छ । विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित विमान दुर्घटना जाँच आयोगले सोमबारदेखि काम शुरु गरेको सार्वजनिक जानकारीमा आएको छ । कुनै पनि जहाज सही तवरले उडान भर्न र अवतरण गर्न मौसम, उपकरण, सञ्चार, नियमन आदि लगायत सबै पक्षको एकसाथ सहयोग चाहिन्छ ।

कुनै एक पक्षको मात्र गल्ती वा कमजोरीले घातक दुर्घटना निम्तिन सक्छ । नेपालको सन्दर्भमा नियमन अति कमजोर छ । त्यही भएर हाम्रो उडानलाई युरोपियन युनियन लगायत आइकाओले कालो सूचीमा राखेको थियो । कालोसूचीमा राखेर विश्वका सामू नेपालको हवाई यात्रा असुरक्षित छ भन्ने सन्देश गइरहँदा पनि कुनै पनि दलका सरकारले यस्तो कालोसूचीबाट हट्न गर्नुपर्ने सुधारात्मक क्रियाकलाप कहिल्यै गरेनन् । नेपालको भौगोलिक जटिलता आफैमा चुनौतीपूर्ण छँदैछ ।

त्यसमाथि अनिवार्य रुपमा अपनाउनुपर्ने सजगता, पालन गर्नुपर्ने उडड्यनका नियमहरु, नियमनकारी निकायले गर्नुपर्ने कामहरु उपेक्षित हुँदा अक्सर विमान दुर्घटनामा परेका हुन्छन् । यस दुर्घटनाले आपत्कालीन उद्धार गर्न संयन्त्रको व्यवस्थापनमा चुकेको पनि देखाएको छ । आपत्कालीन उद्धार र खोज गर्नुपर्ने घटना मुलुकभित्र पटकपटक भइरहेका छन् । जहाजको अवस्था ठीक थियो–थिएन वा छ कि छैन भन्ने विषय सधंै महत्वपूर्ण हुन्छ । त्यस्तै दुर्घटनामा नयाँ विमानस्थलको प्राविधिक पक्ष जिम्मेवार छ कि छैन प्रश्न उठेको छ । छानबीन आयोगको ध्यान पनि यतातिर आवश्य गएको हुनु्पर्दछ।

साथमा, मुलुकको प्रतिष्ठा र छवि गाँसिएको विषय भएकोले कुनै दबाब, प्रभावमा नपरीकन घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने राज्यको दायित्व हो । आगामी दिनमा कुनै पनि विमान दुर्घटना हुन नदिन उडड्यन क्षेत्रको समस्त सुधार कार्य जरुरी छ । फेरि यस्तो कहिल्यै नहोस् । छानबिन आयोगले पनि मृतक चालक दलका सदस्यलाई मात्र दोषी देखाउने प्रवृत्तिबाट मुक्त भई यथार्थ कुरा के हो सार्वजनिक गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्