नेपालगञ्जमा दादुराको महामारी



–एकको मृत्यु, २९ बढी संक्रमित
–घर–घरमा संक्रमित
–खोप अभियानको तयारी
बाँके । 

नेपालगञ्जमा सात वर्षपछि दादुरा महामारी फैलिएको छ । सात वर्षअघि दादुरा फैलिएको वडाबाट नै यसपालि पनि दादुराले महामारीको रूप लिएको छ ।

आर्थिक वर्ष ०७२÷७३ मा नेपालगञ्ज उपमहानगरपालिका–५ मा दादुरा फैलिएर दुई जनाको मृत्यु भएको थियो । त्यही वडामा यसपालि पनि एक बालकको मृत्यु भएको छ । बुधबार दुई वर्ष सात महिनाका बालकको मृत्यु भएको हो । उनी एक हप्तादेखि संक्रमित थिए ।

नेपालगञ्जमा पुस १३ गते दादुरा संक्रमित देखा परेका थिए । एकै घरका पाँच जना संक्रमित देखिएपछि उनीहरूको स्याम्पल जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । १९ गते साँझ दादुरा पुष्टि भएको रिपोर्ट आयो । पाँच जनामध्ये चार जनालाई दादुरा पुष्टि भएको थियो ।

त्यसपछि उक्त घर आसपासमा खोजतलास गर्दा दादुराका धेरै बिरामी फेला परेका हुन् । उक्त वडासँगै नगरका नौ वटा वडामा दादुराका बिरामी देखा परेका छन् । दादुरा दिनप्रति दिन फैलिँदै गएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

नेपालगञ्जको ५, ७, ८, ९, १०, ११, १४, १५, २२ नम्बर वडामा दादुराका संक्रमित देखा परेका छन् । बिहीबारसम्ममा २९ जनामा दादुरा देखिएको छ । नेपालमा वर्षौंदेखि दादुराको खोप लगाउने गरिएको छ । अहिले दादुरा देखिएका बालबालिकाले उक्त खोप नलगाएको पाइएको छ । नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ ।

सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई दादुराको खोप लगाउने गर्दछ, नौ महिना र १५ महिना उमेरमा । १५ महिनाभित्र खोप लगाउन छुटेका बालबालिकालाई ५ वर्षभित्र पनि खोप लगाउने गरिन्छ । नेपालगञ्जको दादुराको कभरेज ९० प्रतिशत छ । यो कभरेजको प्रतिशत बढी भए पनि खासमा यहाँका स्थानीय बासिन्दाका बालबालिकाले खोप लगाएको पाइँदैन । बाहिरबाट यहाँ बसोबास गरेका अन्य समुदायका बालबालिकाले खोप लगाउँछन् ।

संक्रमित सबैजसोले खोप नलगाएको पाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य कार्यालयसँग मिलेर शुक्रबारदेखि संक्रमित देखिएका वडाहरूमा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य कार्यालयमा ४५ सय डोज भ्याक्सिन आइपुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख चन्दले शुक्रबारदेखि नौ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाउने बताउनुभयो ।

उपमहानगरपालिकाले अहिले घरघरमा स्वास्थ्यकर्मी र स्वयंसेविका खटाएर लक्षण चिह्न देखिएका बालबालिकालाई छुट्टै राखेर घरमै उपचार गर्ने र गम्भीर अवस्थामा पुगेका बालबालिकालाई अस्पतालमा लैजान आग्रह गरिरहेको छ । दादुरा अत्यन्त छिटो सर्ने भएकाले संक्रमितलाई छुट्टै राख्न आग्रह गरिएको हो । उपमहानगरपालिकाले संक्रमितको तथ्यांक पनि संकलन गरिरहेको छ ।

नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने उद्घोष गरेको छ । निवारण भन्नाले दश हजारमा एक जना भन्दा कम रोगी देखिनु हो । विश्व स्वास्थ्य संगठनले कुनै टोलबस्तीमा ५ जनाभन्दा बढी संक्रमित देखा परेमा त्यसलाई महामारीको रूपमा लिने गर्दछ । नेपालगञ्जमा एकै घरमा चार जनामा संक्रमण देखिएको र आसपासका अरू घर र बस्तीहरूमा संक्रमित बढ्दो क्रममा रहेकाले यसलाई महामारीको रूपमा लिँदै विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारी दादुरा नियन्त्रणमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्