चीन प्रवेश गर्ने हवाई यात्रुले कोभिड परीक्षण गर्नु नपर्ने



काठमाडौं । 

चीन प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुले यही पुस २४ गतेदेखि कोभिड–१९ परीक्षण गर्नुपर्ने छैन । चीन सरकारको प्रवक्ता मानिएको टेलिभिजन सीजीटीएनले जनाएअनुसार कोभिड परीक्षणका लागि न्यूक्लिक एसिड टेस्ट गर्ने गरिएकोमा अब यस प्रकारको व्यवस्था करिब एक साता मात्र रहनेछ । चीनको भन्सार प्रशासन कार्यालयलाई उद्धृत गर्दै टेलिभिजनले भनेको छ, ‘चीन प्रवेश गर्नुभन्दा ४८ घण्टाभित्र यस प्रकारको परीक्षण गरिएको प्रमाण भए पुग्छ ।’

असफलसिद्ध शून्य कोभिड नीतिका कारण अन्तर्राष्ट्रिय व्यापार क्षेत्र नराम्रोसँग प्रभावित भएपछि चीन ‘युटर्न’ भएको विश्लेषकहरू बताउँछन् । ‘अब वैदेशिक व्यापार विस्तारै बढ्नेछ, विदेशी पर्यटक भित्रिनेछन्, लगानी पनि बढ्नेछ’ सीजीटीएनले भन्सार प्रशासनलाई उद्धृत गर्दै भनेको छ ।‘शून्य कोभिड नीतिले चीनमा संक्रमितको संख्या त घटायो तर आर्थिक जगत् धराशायी बनायो’ भारतबाट प्रकाशित इकोनोमिक टाइम्स लेख्छ, नीति परिवर्तन गर्नासाथ त्यहाँ संक्रमितको संख्या ह्वात्तै बढेको र अमेरिकालगायतका मुलुकले चीनबाट आउने यात्रुमाथि विशेष परीक्षणको प्रावधान राखेका कारण चीनले आफूकहाँ आउने यात्रुको प्रवेशमा खुकुलो नीति बनाएको हो ।

यता, चीनमा संक्रमण बढेसँगै भारतमा पनि कोरोनाभाइरसको त्रास फैलिएको छ । भारतले निगरानी तीव्र पारेको छ । चीन तथा अन्य चारवटा एसियाली मुलुकबाट आउने यात्रुलाई कोभिड–१९ नेगेटिभ भएको पक्कापक्की भएपछि मात्र प्रवेश गर्न दिने नीति भारतले अख्तियार गरेको छ ।भारत सरकारको तथ्यांकअनुसार, हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार चार सय छ । भारतमा सन् २०२० र २०२१ मा फैलिएको कोरोनाले ठूलो संख्यामा मानिसको मृत्यु भएका कारण चीनको असर नपरोस् भनेर अधिकारी सक्रिय रहेको बताइएको छ ।

‘यदि भाइरससँग सम्पर्कमा नआएको जनसंख्या रहेको अवस्थामा संक्रमण दर बढ्नु स्वाभाविक हो’ भारतीय इपिडिमियोलोजिस्ट तथा स्वास्थ्य प्रणाली विज्ञ डा.चन्द्रकान्त लहरियाको भनाइ बीबीसीले उद्धृत गरेको छ । खासगरी चीनले जिरो कोभिड–१९ अन्तर्गत गरेको बन्दाबन्दी, क्वारेन्टिन र सीमा बन्दका प्रावधानलाई हटाएपछि संक्रमण दर बढेको हो । कोरोना वृद्धिले स्वास्थ्य चुनौती दिन सक्ने भएकाले चीन हाल जोखिम समूहमा रहेका वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप विकासमा लागिरहेको छ ।

चीनमा कोरोना वृद्धि भएसँगै विगतमा आमरूपमा लगाइएका खोप सिनोभ्याक र सिनोफर्मको प्रतिरक्षा प्रभावकारिताबारे पनि शङ्का उत्पन्न भएको छ । भाइरोलोजिस्ट ज्याकोब जोनको भनाइ बीबीसीले उल्लेख गरेको छ, ‘यदि मानिसमा प्रतिरक्षा छैन भने रोग लाग्ने सम्भावना अधिक हुन्छ र यस्तो अवस्थामा वृद्धवृद्धा र प्रतिरक्षा कमजोर भएको जनसंख्या मारमा पर्छन् ।’

गत तीन वर्षमा तीव्र पारिएको खोप कार्यक्रमका कारण भारतमा संक्रमण दर कम भएको थियो । हजारौं कोभिड–१९ का बिरामी जाँचेका क्रिटिकल केयर विज्ञ डा. ए. फताउद्दीनका अनुसार, भारतको कोरोना विरुद्धको ‘ठिमाहा प्रतिरक्षा पर्खाल’ लाई सन्तोषजनक मान्नुपर्छ किनभने धेरै मानिसले दुई वटा खोप लिएका छन् भने कतिपय संक्रमितमा प्राकृतिक रूपमा प्रतिरक्षा प्रणाली विकसित भएको छ । उहाँका अनुसार, भारतमा उपयोग गरिएको खोप चीनको भन्दा प्रभावकारी थियो ।

भारतले २ अर्ब २० करोड खोप लगाएको छ, त्यसमा दुई डोज र बुस्टर डोज सामेल छन् । तेस्रोपटक दिइएको बुस्टर डोजलाई भारतमा ‘सावधानी डोज’ नाम दिइएको थियो । यद्यपि, कुल जनंख्याको २७ प्रतिशतले मात्र खोप लिएका छन् । नेपालको अवस्था पनि छिमेकी भारतकै जस्तो छ । कोरोनाविरुद्धको भ्याक्सिनमा उदारताका साथ नेपाललाई सघाएको भारतकै अवस्थामा नेपाली नागरिक छन् ।

नेपालमा २०७७ साल माघबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भयो । नेपालमा कोरोना भाइरस संक्रमण देखिएको झण्डै एकवर्षपछि खोप अभियान शुरू भएको थियो । खोप भने भारतबाट अनुदानमा माघ ८ गते नै आइसकेको थियो । तर, खोप लगाउन आवश्यक तयारी गर्नुपर्ने भएकाले सरकारले १४ गतेबाट खोप अभियान शुरू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्