३९ वर्ष पुरानो पोल्ट्रि व्यवसाय जोखिममा

चल्ला उत्पादनमा नेपालमै पहिलो जिल्ला



काभ्रे।

२०४० सालबाट शुरु भएको काभ्रेपलाञ्चोक जिल्लाको पोल्ट्रि व्यवसायमा करिब १२ अर्ब लगानी भएको छ । लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसक्दा व्यवसायीहरू जोखिममा परेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

‘२०४० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, नाला हुँदै नेपालकै दोस्रो जिल्लाका रुपमा परिचित पोल्ट्रि व्यवसाय यतिखेर जोखिममा परेको छ’–पोल्ट्रि व्यवसायका संस्थापक एवं नेपालमा पहिलो पटक चल्ला उत्पादन शुरु गर्ने उद्योग कव नेपालका अध्यक्ष ईश्वर शर्माले भन्नुभयो–‘नेपालमा चल्ला उत्पादन शुरु नभएको भए अहिलेसम्म भारतको भर पर्नु पर्दथ्यो । कव नेपाल संस्थाले २०१३ बाट नेपालमा पहिलो पटक व्यवसायी चल्ला उत्पादन शुरु गरेको हो ।’

उद्योगसम्बन्धी आवश्यक नीति नहुँदा र भएका नीतिहरुलाई कार्यान्वयन गर्न नसक्दा पोल्ट्रि व्यवसाय दिनप्रतिदिन जोखिममा पर्दै गएको शर्माले बताउनु भयो । दशौँ राष्ट्रिय पोल्ट्रि दिवसको अवसर पारी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको पोल्ट्रि क्षेत्रका व्यवसायी कृषक तथा सरोकारवालाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा व्यवसायी कृषकहरुले राज्यको नीति सहज बन्न नसक्दा पोल्ट्रि व्यवसाय संकटमा परेको बताएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा बार्षिक ४ लाख ८० हजार कुखुरा उत्पादन हुन्छ । सोही कुखुराहरुबाट २८ हजार मेट्रिक टन मासु र ७ करोड ७० लाख गोटा अण्डा उत्पादन भएको छ ।

पछिल्लो तथ्यांक अनुसार ३ लाख चल्ला दैनिक उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाईँले जानकारी दिनुभयो । ‘काभ्रेपलाञ्चोक जिल्ला कुखुराको मासु उत्पादनमा दोस्रो, अण्डा उत्पादनमा तेस्रो र चल्ला उत्पादनमा दोस्रो जिल्लाका रुपमा स्थापित भएको छ’– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजकुमार हुमागाईँले भन्नुभयो–‘ सरकारी कागजातमा दर्ता भएका १३ वटा ह्याचरी, ३ सय ५० वटा ब्रोइलर फार्म, २ वटा ग्राण्ड प्यारेन्ट उत्पादन गर्ने फार्म र ११ वटा दाना उद्योग संचालनमा छन् । जसमा १७ हजार भन्दा धेरै रोजगारीमा संलग्न भएका छन् । करिब १२ अर्ब लगानी छ ।’

जिल्लामा दर्ता नगरी कुखुरा फार्म संचालन गर्नेहरु पनि धेरै भएको सहभागीहरूले बताए । जिल्लाको धेरै लगानी भएको फार्म कव नेपाल हो ।

अन्तर्क्रिया कार्यक्रममा डा. सुदिप हुमागाईँले जिल्लाको समग्र पोल्ट्रि ब्यवसायको अवस्था र आगामी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने डा. गणेश बञ्जाराले जैविक सुरक्षाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

काभ्रे जिल्लाको पोल्ट्रिको इतिहास र पछिल्लो अवस्थाका बारेमा व्यवसायी ईश्वर शर्माले जानकारी गराउनु भएको थियो । पोल्ट्रि व्यवसायका कारण कुपोषण न्यूनिकरण, रोजगारको सिर्जना, मल उत्पादनबाट तरकारी तथा अन्य उत्पादन वृद्धि र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान रहेको व्यवसायी शर्माले बताउनु भयो ।

नेपालमा पोल्ट्रि व्यवसाय आत्मनिर्भर हुँदाहुँदै धेरै समस्या भोग्नु परेको सहभागीहरूले बताए । ‘राजनीतिक अस्थिरता, मुलुकमा देखिएका विपत्तिहरू तथा विविध कारण पोल्ट्रि व्यवसायमा अवसरसँगै चुनौती थपिएका छन्’–पोल्ट्रि व्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले भन्नुभयो–‘उत्पादन छ, उपभोग कम छ । नीति छ कार्यान्वयन छैन । नीजि क्षेत्रको ठुलो लगानी भएको व्यवसायलाई राज्यले उपेक्षा गरेको छ ।’

कार्यक्रममा पोल्ट्रि व्यवसायी मञ्चका सल्लाहकार मधुसूदन गुरागाईँ, पशुपक्षी औषधी व्यवसायी संघ काभ्रेका पूर्वका अध्यक्ष यज्ञ पन्त, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर सविता ज्ञवाली, पशु सेवा प्राविधिक उद्धव सापकोटा लगायतले पोल्ट्रि व्यवसायीहरूका समस्या र अवसर तथा समाधानका लागि खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राख्नु भएको थियो ।

नेपालमा आर्थिक समृद्धिका लागि पोल्ट्रि व्यवसायीहरूले ४ प्रतिशत योगदान पुर्‍याएका छन् । विश्वमा १ सय १२ औ स्थानमा कुखुराको मासु उत्पादन गर्ने देशका रुपमा नेपाललाई चिनिन्छ भने अण्डा उत्पादनमा ९१ औ स्थानमा पर्छ । ६० अर्ब भन्दा धेरै लगानी भएको यो व्यवसाय समय समयमा विभिन्न कारण संकटमा पर्दै आएको छ ।

पोल्ट्रि दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्भवति महिला, सामुदायिक विद्यालयका विद्यार्थीहरु र श्रमिकहरुलाई अण्डा वितरण गरेको छ भने जिल्ला प्रवेशद्वार रोशीको मंगलटारमा सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्