कर्णेल थापाको बिदाइ

‘संकटको सारथी सेना’



काभ्रे। 

कालीजंग गणका गणपति कर्णेल मिलन थापाको बिदाइ गरिएको छ । गणपति कर्णेल थापाको कार्यकालमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक तथा गण मातहतका क्षेत्रमा भएका प्रमुख र महत्वपूर्ण कार्य सम्पादन गरेको भन्दै जिल्लाबासीहरुले नेपाली सेना कालीजंग गणको चर्चा गरेका छन् ।

कर्णेल थापालाई जिल्लाका विभिन्न निकाय तथा संघ संस्थाले जिल्लामा कार्यरत रहँदा जिल्लाबासीहरुको सेवामा पुर्‍याएको योगदानको कदर गर्दै आभार व्यक्त गरेका छन् । बिहीबार जिल्लाका विभिन्न निकायले थापालाई बिदाइ गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार लगायत कार्यालय प्रमुखहरुले एकमुष्ट बिदाइ गर्दै थापाको कमाण्डमा काभ्रेपलाञ्चोक जिल्लामा भएका विपद तथा सामाजिक उत्तरदायित्वका विभिन्न पक्षहरु र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा अन्य स्थानमा भएका विपदहरुमा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो । ‘नेपाली सेनाको कालीजंग गण र गणका कमाण्डर कर्णेल मिलन थापाले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक लगायतका जिल्लाका विभिन्न क्षेत्रमा गरेको सामाजिक कार्य अनुकरणीय छन्’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सुरक्षा संयन्त्रको कार्य योजनालाई सफल बनाउन नेपाली सेना र कर्णेल थापाको कमाण्ड सफल भयो ।’

कर्णेल थापाले प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन २०७५ अनुरुप २०७७ फागुन २९ गते धुलिखेल देखि पनौतीसम्मको १० किलोमिटर क्षेत्रको एकीकरण मार्ग पदयात्रा आयोजना गर्नु भएको थियो । २०७७ चैत्र ७ गते बेथान्चोक गाउँपालिका ३ स्थित नारायणस्थान मन्दिरको भिरबाट एक किमी तल खसेर मृत्यु भएका धुलिखेल ७ का निरोज रिजालको शव खोजतलास गरी मृतकका आफन्तलाई बुझाईएको थियो । उक्त क्षेत्र अत्यन्तै जोखिमपूर्ण थियो । थापाले आफ्नै कमाण्डमा टोली सहित शव निकाल्नु भएको थियो । सोही क्षेत्रमा २०७८ माघ १ गते भएको अर्को घटनामा पनि पनौतीका १२ वर्षीय बालक सौरभ सापकोटाको शव निकालिएको थियो । हाल उक्त क्षेत्रमा स्थानीय, प्रदेश सरकारका साथै नेपाली सेनाको सहयोगमा बार लगाइएको छ । सोही गणले सिन्धुपाल्चोक जिल्ला हेलम्बु १ मा हराएका क्षिरिङ्ग शेर्पालाई मेलम्ची ११ बाट उद्धार गरेको थियो ।

कालीजंग गणले भूतपूर्व सैनिक, उनीहरूका एकल महिला र आश्रित परिवारहरूको भेला तथा सम्मेलन, शिविर आयोजना गरेको थियो । कोभिड १९ को महामारीमा कोभिडबाट मृत्यु भएका शवहरुको सलामी सहितको व्यवस्थापन, अक्सिजन प्लान्टमा नियमित उत्पादनका लागि जनशक्ति सहित अक्सिजन व्यवस्थापन गरी नागरिकहरुको ज्यान बचाउन कालीजंग गणले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

२०७८ असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढी पछि सोही क्षेत्रमा भएको जनधनको क्षतिमा उद्धार, राहत वितरण र विस्थापित परिवारलाई अस्थायी बास निर्माणमा कालीजंग गणले महत्त्वपूर्ण भूमिका खेलेको थियो । ‘विपदमा नेपाली सेना हरेक नागरिकको सारथि बन्न सक्यो’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘काभ्रे र सिन्धुपाल्चोकको विपदमा नेपाली सेनाको कालीजंग गणले खेलेको भूमिका महत्त्वपूर्ण छ ।’ नेपाली सेनाको टोलीले मेलम्ची र हेलम्बु जोड्ने मार्गमा बेलिृज निर्माण गरेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सेनाले गढी, किल्ला तथा पदमार्गहरूको पहिचान, संरक्षण र प्रचार प्रसार गरेको छ । धुलिखेल देखि बनेपा नगरपालिका ३ काशी भन्ज्याङसम्मको १६ किमी पदमार्गमा पदयात्रा सहित वृक्षारोपण, फस्कोट शारदाकोट बुच्चाकोट पदमामार्गमा पदयात्रा, सरफाई, एकीकरण मार्गमा शौचालय निर्माण, पनौतीमा लाग्ने १२ वर्षे मकर मेलाका लागि ९ फिटे गणेशको मूर्ति वरिपरी वृक्षारोपण, चण्डेश्वरी मन्दिरको सरसफाइ, धुलिखेलको सरस्वती बजार तथा विभिन्न क्षेत्रमा स्थानीयहरूको समन्वयमा सरसफाइ, रक्तदान लगायतका कार्यहरूमा सेनाले सशक्त सहभागिता जनाएको छ ।

बनेपाको आशापुरीमा भएको दुर्घटना, राजमार्ग बन्दका क्रममा राखिएका होक्स लगायतका शंकास्पद बस्तुको डिस्पोज, सामुदायिक विद्यालयमा पर्खाल निर्माण, स्वास्थ्य चौकी पुनर्निर्माण सहयोग, सामाग्री हस्तान्तरण, बेथान्चोक नारायण स्थानमा बुद्धको मूर्ति सहित पार्क निर्माण, विपद न्यूनीकरण तथा उद्धारका लागि डेमो प्रर्दशन गरेको थियो । निर्वाचन लगायतका राष्ट्रिय अभियानमा सरकारको निर्णय अनुसार भूमिका निभाएको नेपाली सेनाको कालीजंग गणले बनेपा ६ नैमिषारन्य संस्कृत गुरुकुल विद्यालयको ४ कोठे भवन निर्माणमा सहयोग पुर्‍याएको थियो ।

सडक दुर्घटना तथा विभिन्न स्थानमा वृक्षारोपण र विपदमा उद्धार मानवीय सेवाका हिसवाले सेनाको पहिलो प्राथमिकतामा रहेको गणका गणपति कर्णेल मिलन थापाले बताउनु भयो ।

नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन भएको एनसिसि क्याडेट तालिमका लागि विद्यालय छनौट, तालिम र उत्कृष्ट बनाउन विशेष भूमिका खेलेको गणले एकीकरण पदमार्गहरूको प्रचार प्रसार, प्रवर्द्धन र संरक्षण विशेष प्राथमिकतामा राखेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्