उमा कुङ्फुमा समर्पित भएका संजित



काठमाडौं । 

नेपालमा मार्शल आर्ट्स भित्रिएदेखि यस खेलअन्तर्गत विभिन्न विधामा गरी हजारौं संख्यामा खेलाडी जन्मिसकेका छन् । कोही लामो समयसम्म टिके, कोही केही समयको लागि चर्चित भए । कोही यसमा सफल भएनन् त कोही यसै खेलको लागि समर्पित भए ।

यसमा बुढानीलकण्ठ निवासी संजितकुमार राई मार्सल आर्टस्को लागि केही गरौं भन्ने खेलाडीको रूपमा चर्चित भए ।
बुढानीलकण्ठ माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दा नै संजित खेलक्षेत्रमा होमिएका थिए । उनका बुबा कृष्णबहादुर राई ३० को दशकमा खेलाडी हुनुहुन्थ्यो । बुबाकै प्रेरणा पाएका संजितले मार्सल आर्टस्लाई नै रोजे । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाइन्छ भन्ने सोचले संजितले यो क्षेत्रमा पाइला चालेका थिए ।

९ कक्षामा पढिरहँदा उनले जाडो बिदाको समय तेक्वान्दो प्रशिक्षणमा बिताएका थिए । यहीबाट उनको करियर खेलक्षेत्रमा शुरु भयो । पहिले त संजितले तेक्वान्दो नै खेलेका थिए । यसपछि उशुमा उनले पाइला चाले । तीन वर्षपछि उनले उमा कुङ्फुमा आफ्नो पाइला चालेका थिए । उमा भन्नाले कसैको नेपाली नाम जस्तो लाग्छ तर, यो व्यक्तिको नाम भने होइन । यो वल्र्ड युनाइटेड मार्सल आर्टस्को संक्षिप्त नाम हो ।

संजितले गएको सेप्टेम्बरमा ठूलो उपलब्धि हासिल पनि गरेका छन् । उनले स्लोभेनियामा भएको विश्व उमा खेलकुदमा स्वर्ण र कांस्य पदक प्राप्त गरेका थिए । उनले सो प्रतियोगितामा ३५ वर्षमाथिको प्रतिस्पर्धाअन्तर्गत चाइनिज क्रिएटिभ विधामा अस्ट्रियाका खेलाडी थोमसलाई हराएर स्वर्ण जितेका थिए । तर, सोहीअन्तर्गत टे«डिसनल विधामा उनले कांस्य पदक प्राप्त गरेका थिए ।

राष्ट्रिय खेलकुदको लागि पहल

उमा कुङ्फु नेपालमा लोकप्रिय भएपनि यसलाई राष्ट्रिय खेलकुदमा भने समावेश गरिएको छैन । पहल नभएको हो कि भन्दा संजितले प्रयास गरिरहेको बताए । उनले बताए—हुन त अहिले बल्ल लगभग ३५ खेललाई राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ । उमा कुङ्फुलाई राष्ट्रिय खेलकुदमा सामेल गर्न हामी प्रयासरत छौं । हामीले पहल गरिरहेका छौ । हेरौ अर्कोमा पर्छ कि ?
त्यसो त नेपाल उमा कुङ्फु राष्ट्रिय खेलकुद परिषद्मा खेलको रुपमा दर्ता छ । यसको बावजुद नेपाल उमा कुङ्फु संघले परिषद्बाट सहयोग भने पाउन सकेको छैन । न यता सरकारले नै उमा कुङ्फुलाई सहयोग गरेको छ । परिषद्ले सहयोग गर्ने भनेको हल उपलब्ध गराइदिने संजितले बताए । उनले बताए—संघको लागि खेल क्षेत्रमा रमाउने र खेल मनपराउने व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्ने हो ।

विदेशमा निर्णायक

संजितले यस क्षेत्रमा लाग्दा राखेको उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउने उनको सपना पूरा भएको छ । हाल नेपाल उमा कुङ्फु संघमा वरिष्ठ उपाध्यक्ष रहेका संजितले विश्वका विभिन्न देशमा गएर निर्णायकको भूमिका निभाएका छन् । उनले स्लोभेनिया, जर्मनी, अमेरिका, अस्ट्रिया, क्रोएसिया, भारत, स्विट्जरल्यान्डमा यही खेलको कारण भ्रमण गरेका छन् ।विदेशमा पनि उमा कुङ्फुको निकै लोकप्रियता रहेको संजितको भनाइ छ ।

उनले बताए-नेपालको लागि युरोपेली राष्ट्र र अमेरिकाले राम्रो सदभाव देखाएका छन् । नेपाललाई सम्मान गरिएको छ । हालै मात्र पनि मलाई भारतीय कुङ्फु महासंघले प्राविधिक मानार्थ सदस्य प्रदान गरेको छ । उनीहरूले नेपाल उमा कुङ्फुलाई उत्थान गर्न सहयोग गरिरहेका छन् । यो भनेको नेपाल उमा कुङ्फुमा लाग्ने खेलकर्मीका लागि निकै गर्वको विषय हो । अझ नेपालका भेटरान खेलाडीको लागि यो एक प्रेरणादायक पनि बन्न सक्छ । उता जुनसुकै उमेरमा पनि खेल्न सकिने वातावरण छ । यसलाई नेपालमा पनि अरू खेलमा प्रयोग गर्ने हो भने शायद नेपालका खेलाडीले हतोत्साहित हुनुपर्ने अवस्था आउँदैन ।

फुर्सद छैन

नेपाल उमा कुङ्फुमा लागेका संजितलाई फुर्सदै छैन । एक त खेलाडीलाई प्रशिक्षण दिनुपर्ने जिम्मेवारी छ उनलाई । अर्को प्रशासनको पनि रेखदेख गनुपर्ने थप जिम्मेवारी उनीमाथि छँदैछ । वसुन्धरास्थित ऋत एकेडेमीमा उनले प्रशासन हेर्नुका साथै खेलकुद विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । खेल क्षेत्रमा लागेर हो कि ३५ कटे पनि उनले ड्युटी राम्ररी निर्वाह गरेका छन् । उनी उमा कुङ्फुलाई अझ माथि लाने र खेलाडी धेरै उत्पादन गर्नेमा जोडतोडका साथ लागिरहेका छन् ।उनी भन्छन्-खेल क्षेत्रमा लागेर पनि आउने भाइबहिनीहरूले जीवन निर्वाह गर्न सकून् । यो मेरो लक्ष्य हो, खेलेर नै जीवन निर्वाह गर्नको लागि खेलाडीबाहेक अर्को भूमिकामा पनि आउन सक्नुपर्छ भन्ने मेरो विचार हो । जस्तै, निर्णायक, प्रशिक्षक, इन्सट्रक्चर हुने धेरै माध्यम छ, खेल सकिएको खेलाडीको लागि ।

संजितको उपलब्धि
पद
— नेपालतर्फ महासचिव—अन्तर्राष्ट्रिय कुङ्फु महासंघ, बेइजिङ
– टीओए कुङ्फु महासंघ, डेनमार्क
— नेपाल उमा कुङ्फु संघका पहिलो उपाध्यक्ष
पदक
–स्लोभेनियामा भएको डब्ल्यूएमएसी उमा विश्व खेलकुद २०२२ अन्तर्गत चाइनिज क्रिएटिभ विधामा स्वर्ण
— सोही प्रतियोगिताअन्तर्गत ट्रेडिसनल विधामा कांस्य

राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिप २०१५ मा स्वर्ण पदक
प्रमुख निर्णायक
— खुला उमा कुङ्फु प्रतियोगिता २०१८, काठमाडौं
— पाँचौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता २०२०, काठमाडौं
— राष्ट्रिय नेपाल केम्पो खुकुरी मार्सल आटर््स २०२१, त्रिपुरेश्वर
— दोस्रो राष्ट्रिय नेपाल केम्पो खुकुरी मार्सल आर्टस २०२२ त्रिपुरेश्वर
— १४औं राष्ट्रिय कुङ्फु च्याम्पियनसिप, २०२२, लखनउ (भारत)

प्रतिक्रिया दिनुहोस्