हुम्लामा मतदाता शिक्षा प्रभावकारी बन्दै



हुम्ला ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको सातैवटै गाउँपालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सातैवटा पालिकामा मतदाता शिक्षा सञ्चालन गरिएको हो ।

गाउँपालिकाले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरिरहेको निमत जिल्ला निर्वाचन अधिकारी श्याम रानाले बताउनुभयो । ‘निर्वाचनमा कतिपय मतदाताले पहिलोपटक मतदान गर्दै छन् । उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन पनि सक्ने भएकाले मत कसरी दिने, मतपत्र कसरी पट्याउने लगायतका बारेमा सिकाइँदै छ ।’ –उहाँले भन्नुभयो ।
मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको बताउदै नाम्खा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहोनबहादुर शाही बताउनुहुन्छ ।

तर, हिमपातका कारण नाम्खा गाउँपालिका–६ लिमीका तीनवटा गाउँमा मतदात शिक्षा दिन जान नसकिएको उहाँको कथन छ । निर्वाचन आयोगको मापदण्डअनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको हो । मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग–अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ ।

‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो’, खार्पुनाथा गाउँपालिका अध्यक्ष कर्ण रावल भन्नुहुन्छ–‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’

१८ कैदीबन्दीले मतदान गर्ने

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हुम्ला कारागारमा रहेका थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएका छन् । सदरमुकाम सिमकोटमा रहेको कारागारका १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।उनीहरुका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । मतदाता नामावली ऐन–२०७३ अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ । सोहीअनुसार त्यसका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्न पाउने व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

२४ मतदानस्थल अति संवेदनशील

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेको छ । जिल्लाको सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अति संवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अति सम्वेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले अन्य वस्तुुस्थिति मूल्यांकन गर्दा ती मतदानस्थललाई सुरक्षाका हिसाबले अतिसंवेदनशील र सवेदनशील ठहर गरेको उहाँको कथन छ ।

अति संवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार, खार्पुनाथमा दुुई, सर्केगार्डमा चार, चंखेलीमा चार, अदानचुलीमा एक र ताँजाकोटमा चारवटा रहेका छन् । अति संवेदनशील ठहर गरेका ती मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको छ । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि त्यहीअनुसार खटिने छन् । त्यसै गरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुुसार नाम्खामा तीनवटा, सिमकोटमा दुुई, खार्पुनाथमा दुुई, सर्केगार्डमा चार, चंखेलीमा चार, अदानचुलीमा पाँच र ताँजाकोटमा दुुईवटा रहेका छन् । कुलमध्ये १२ वटा मतदानस्थललाई सामान्य रूपमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्