आइपुगेन सरकारी राहत, पोलिहाउसमा भूकम्पपीडितको बास



डोटी । 

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्पपीडित तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलिहाउसमा रात बिताउन बाध्य भएका छन् । भूकम्पपीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ । पटकपटक गइरहने गरेको परकम्पनका कारण पीडितहरूमा झनै त्रास थपिँदै गएको भूकम्पपीडित भरत बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटकपटक गइरहने परकम्पनले पीडितहरूमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोलिहाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।’नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरूप वितरण गरे पनि पीडितहरूलाई अपुग भएका कारण उनीहरूको दैनिकी कष्टकर बन्दै गएको बताइएको छ । पीडितहरूलाई रात काट्नै मुस्किल हुने गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले १ लाख ५० हजार तथा नेकपा एमालेले प्रदान गरेको १ लाख रुपियाँ आर्थिक सहयोगका भरमा अहिले त्यहाँका पीडितहरू आफ्नो छाक टार्न बाध्य भएको भूकम्प पीडित खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बस्नलाई घर छैन, पकाउनलाई भाँडा छैन, आलेजी र एमालले दिएको रकमले हामीले छाक टार्दै छौँ, अन्य क्षेत्रबाट राहत आएन, हाम्रा पीडा कसले सुन्ने ।’

यति मात्र नभई कतिपय पीडितहरू त पोलिहाउस र पाल नभएका कारण खुला चौरमा पराल ओछ्याएर रात काट्न थालेको अर्का पीडित जगतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीसँग ओच्छ्याउनलाई पनि कपडा छैन, शरीरमा लगाउने लुगा घरैमा पुरिए, पराल ओछ्याएर र आगो बालेर रात बिताउन थालेका छौँ ।’ पीडितहरूलाई लगाउने र ओछ्याउने लुगा नभएकाले बालबालिका तथा वृद्धवृद्धाहरू समस्यामा परेका छन् ।

भूकम्पले चिराचिरा परेका घरहरू आफ्नै आँखा अगाडि समयसमयमा भत्किने गरेका कारण खेतबारी र पोलिहाउसमा रात बिताइरहेका पीडितहरूका मन मुटु कटक्क खाइरहने गरेको अर्का पीडित केशर बोहराले बताउनुभयो । अस्थायी रूपमा भए पनि टहरा निर्माण तथा एक छाक खान र एक सरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएको छ ।
खानका लागि एक मानो चामल र पीठो समेत नभएका कारण स साना केटाकेटीहरू भोकले रुने कराउने गरेको अर्की पीडित मनसरा बोहराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘खानलाई अन्नको नाममा एक दाना पनि छैन, हामी त भोक सहन गथ्र्यौं, साना बालबालिका छन्, उनीहरूलाई कसरी के दिएर शान्त पारौँ, हामी त जिउँदै मरेसरह भएका छौँ ।’

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्पपीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले विपद् व्यवस्थापनको मिटिङ राखी वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।’

पीडितका समस्या उस्तै

भूकम्पले पीडित बनेका गैरागाउँका पीडितहरूका पीडाका विषयमा राजनैतिक दलहरूले खासै चासो नदिएको पीडितहरूको आरोप छ । विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता अहिले भोट माग्न तथा चुनावी प्रचारप्रसारका लागि गाउँगाउँमा पुगेका भए पनि भूकम्पपीडितका लागि आर्थिक सहयोग संकलनदेखि अन्य काम कुनै दलले नगरेको पीडित खडकबहादुर बोहराको आरोप छ ।

‘हामी के खाने, कहाँ सुत्ने पीडामा छौँ’, उहाँले भन्नुभयो– ‘दलका नेताहरू लाखौँ खर्च गरेर गाउँगाउँमा छन्, हाम्रा बारेमा कसैले पनि बोलेन आखिर भगवान त हाम्रा थिएन, नेता के आफ्ना हुन्थे र ?’ भूकम्प आएको पहिलो दिन जिल्लामा रहेका सबै पार्टीका नेता कार्यकर्ता आए पनि अहिले पीडिहरूका लागि बस्ने तथा खानका लागि खासै चासो नदेखाएको पीडितहरूको आरोप छ । पीडितहरू भन्छन्– ‘सेना, प्रहरी रातदिन हाम्रा लागि खटिएका छन्, तर हाम्रो अवस्था देखेर गएका हाम्रा नेता भने कता हराए हराए ।’

प्रतिक्रिया दिनुहोस्