प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै



काठमाडौं ।

आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट नदिने गरेको महिला नेताहरूको गुनासो छ ।

दलहरूले भने संविधानमै सुरक्षित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था समानुपातिक प्रणालीबाट पूर्ति गर्नेगरी प्रत्यक्षमा महिलालाई कम ठाउँमा प्रतिस्पर्धा गराएको बताएका छन् ।राजनीतिमा महिला सहभागिताको प्रश्न सबै फोरमहरूमा उठ्ने गरे पनि जिम्मेवारी दिने बेलामा पछाडि पारिएको गुनासो गर्दै नेपाली कांग्रेसकी नेतृ लक्ष्मी परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘महिलाले जित्दैनन् भन्ने भ्रम सिर्जना गरेर प्रत्यक्ष निर्वाचन प्रणालीलार्र्र्र्र्र्ई पुरुष नेताहरूकै दाइजो जस्तोगरी टिकट वितरण हुनेगरेको छ । यो समस्या सबै दलमा देखिएको छ । तर, सबै पार्टीले महिला र महिलाबीच वा पुरुष र महिलाबीच प्रतिस्पर्धा गराए पनि हामी उहाँहरूजत्तिकै काम गर्न र प्रतिस्पर्धामा भाग लिन सक्छौं ।’

दलहरूले यसअघि पनि समानुपातिक प्रणालीबाट ल्याएर समग्रमा महिला सहभागिता ३३ प्रतिशत पु¥याउने गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र सात प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार आसन्न आमनिर्वाचनमा १ करोड ७९ लाख ८ हजार ५ सय ७० जना मतदाता रहेका छन् । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यसपटक २ लाख ५४ हजार ८ सय ४७ मतदाता बढी छन् । कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष रहेका छन् भने १ सय ८५ अन्य मतदाता रहेको आयोगले जनाएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए । थपिएका मतदाताले कतिपय निर्वाचन क्षेत्रको नतिजामा फरक पार्न सक्ने देखिएको छ  । २०७४ सालको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा १ करोड ५४ लाख मतदाता थिए । त्यसबेला प्रतिनिधिसभाका लागि समानुपातिकमा ९५ लाख ४४ हजार ७ सय ७९ मत खसेको थियो ।२०७४ सालमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कुल ९१ महिलामध्ये ९२ प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित थिए । जसमा प्रत्यक्षतर्फ ७ जनामात्रै निर्वाचित भएका थिए भने समानुपातिकबाट ८४ जना निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसका ७, एमालेका ५ र माओवादीका ४ महिलाले उम्मेदवारी दिएकोमा कांग्रेसबाट कसैले पनि जितेनन् भने एमालेबाट २ र माओवादीबाट ३ जना निर्वाचित भएका थिए । त्यसै गरी एमालेसँगको गठबन्धनका कारण राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल निर्वाचित हुनुभएको थियो ।

दलहरूले एक तिहाइ महिलालाई उम्मेदवार बनाउँदा प्रतिनिधिसभातर्फ १ सय ६५ मध्ये हरेक दलबाट ५५ जना महिला उम्मेदवार हुनुपर्ने भए पनि गठबन्धनका कारण टिकट वितरणमै सिट घटेको दलहरूको प्रष्टीकरण छ । महिलालाई प्राथमिकतामै राखिएको जिकिर गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो– ‘संविधानले ग्यारेन्टी गरेको कुरालाई कसैले काट्न सक्दैन । प्रत्यक्षमै चाहिन्छ भन्ने संवैधानिक व्यवस्था छैन तर, संविधानमा उल्लेख भएअनुसार महिलाको ३३ प्रतिशत अनिवार्य गराउने कुरामा कांग्रेस सचेत छ । महिलाको प्रतिनिधित्व त्योभन्दा पनि बढी हुनसक्छ ।’

यो निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ९१ जना उम्मेदवारमध्ये पाँच ठाउँमा मात्रै महिला उम्मेदवार अघि सारेको छ । कांग्रेसको तर्फबाट तेह्रथुममा सीता गुरुङ, मोरङ–२ मा सुजाता कोइराला, सिराहा–२ बाट चित्रलेखा यादव, मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय डिना, अर्घाखाँचीबाट पुष्पा भुसाल प्रत्यक्षमा चुनाव लड्दै छन् ।त्यस्तै, एमालेले स्याङजा–२ बाट पद्मा अर्याल, दाङ–३ बाट कोमल वलीलाई उम्मेदवार बनाएको हो । एमालेले सुनसरी–३ बाट भगवती चौधरी, बारा–३ बाट ज्वाला साह, उदयपुर–१ बाट मञ्जु चौधरी, धनुषा–३ बाट जुलीकुमारी महतो, कास्की–२ बाट विद्या भट्टराई, बाग्लुङ–२ बाट मञ्जु शर्मा चालिसे, दाङ–१ बाट शान्ता चौधरी, डोटीबाट गौरी ओली र कञ्चनपुर–३ बाट निरु पाललाई उम्मेदवार बनाएको छ । धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकाले एमालेले तुलनात्मक रूपमा बढी महिला उम्मेदवार अघि सारेको देखिन्छ ।

माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रका जिल्लामा तुलनात्मक रूपमा अरू दलले भन्दा बढी महिलालाई अघि सारेको छ । माओवादी केन्द्रले काठमाडौं–२ बाट ओनसरी घर्ती, काठमाडौं–७ बाट मानुषी यमी भट्टराई, काठमाडौं–९ बाट कल्पना धमला र ललितपुर–३ बाट पम्फा भुसाललाई उम्मेदवार बनाएको छ । त्यसै गरी माओवादी केन्द्रले दाङ–२ बाट रेखा शर्मा, काठमाडौं–१० मा अञ्जना विशंखे, कञ्चनपुर–१२ मा बीना मगर उम्मेदवार बनाएको छ । राप्रपाले दैलेखबाट कुन्ती कुमारी शाही, काठमाडौं–२ बाट कुन्ता पोखरेललाई टिकट दिएको छ । काठमाडौं–५ मा महिला स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले केही क्षेत्रमा महिलालाई अघि सारेको छ ।

क्षेत्रगत रूपमा हेर्दा काठमाडौं र तराईका केही जिल्लामा महिला उम्मेदवारको संख्या केही बढी देखिन्छ भने अरूमा नगन्य छ । काठमाडौं–१ मा १० जना महिला उम्मेदवार छन् । झापा–५, धनुषा–३, दाङ–१, रूपन्देही–३ र मोरङ–३ मा ४–५ जना महिला उम्मेदवार छन् । अरू निर्वाचन क्षेत्रमा भने मुस्किलले १–२ जनाको अनुपातमा उम्मेदवारी दिएको देखिन्छ । करिब ६० भन्दा बढी निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ । प्रदेशतर्फ पनि महिला उम्मेदवारको अनुपात उस्तै छ । प्रदेशसभाका १ सय ६२ क्षेत्रमा महिलाहरूको कुनै उम्मेदवारी नपरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका सदनमा हरेक दलले एक तिहाई महिला प्रतिनिधि पठाउनुपर्ने संवैधानिक व्यवस्थालाई दलहरूले अंगीकार गरेको भए पनि प्रत्यक्ष निर्वाचन प्रणलीमा पुरुष उम्मेदवारकै वर्चश्व कायम रहेको छ । प्रत्यक्षमा उम्मेदवारी नहुने जोखिम टार्न निर्वाचन आयोगले समानुपातिकको सूचीमा कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्