पोली हाउसमा भूकम्प पीडितको बास : अहिलेसम्म आइपुगेन सरकारी राहत



डोटी।

डोटीको पूर्वीचाँैकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरुले तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य भएका छन् । भूकम्प पीडितहरुलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआईपुगेका कारण उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । पटक पटक गइरहने गरेको पराकम्पनका कारण पीडितहरुमा झनै त्रास थपिँदै गएको संचारकर्मीतथा भूकम्प पीडित भरत बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने पराकम्पनले पीडितहरुमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोली हाउसमा आगोबालेर रात बिताउँन बाध्य छौँ ।’नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहत स्वरुप बितरण गरेपनि पीडितहरुलाई अपुग भएका कारण उनीहरुको दैनिकी कष्टकर बन्दै गएको बताइएको छ । पीडितहरुलाई रात काट्ने मुस्किल हुने गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले एकलाख ५० हजार तथा नेकपा एमालेले प्रादन गरेको एक लाख रुपैयाँ आर्थिक सहयोगका भरमा अहिले त्यहाँका पीडितहरु आफ्नो छाक टार्न बाध्य भएको भूकम्प पीडित खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बस्नलाई घर छैन, पकाउनलाई भाडा छैन, आले जी र एमालले दिएको रकमले हामीले छाक टार्दै छौँ, अन्य क्षेत्रबाट राहत आएन, हाम्रा पीडा कस्ले सुन्ने ।’

यतिमात्र नभई कतिपय पीडितहरु त पोलिहाउस र पाल नभएका कारण खुल्ला चौरमा पराल उछ्याएर रातकाट्न थालेको अर्का पीडित जगतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग ओछ्याउनलाई पनि कपडा छैन, शरिरमा लगाउने लुगा घरैमा पुरिए, पराल ओछ्याएर र आगो बालेर रात बिताउन थालेका छौँ ।’ पीडितहरुलाई लगाउने र ओछ्याउने लुगा नभएका बालबालिक तथा बृद्धबृद्धाहरु चिसोले कठ्याङ्ग्रीने गरेको बताइएको छ ।

भूकम्पले चिरा चिरा परेका घरहरु आफ्नै आँखा अगाडी समय समयमा भत्किने गरेका कारण खेतवारी र पोली हाउसमा रात बिताइ रहेका पीडितहरुका मन मुटु कटक्क खाइ रहने गरेको अर्का पीडित केशर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘के गर्ने सर वर्षौदेखि बसेको आफ्नो घर समय समयमा भत्किन थाल्छ, त्यो बेला कटी मुटु दुःख भनेर साध्य छैन् ।’ अस्थायी रुपमा भएपनि टहरा निर्माण तथा एक छाक खान र एक सरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् ।

गाउँभरीमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेका धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतवारीमै बादर र मुसाले खान थालेको पीडितहरु बताउछन् । खानका लागि एक मानो चामल र पीठो समेत नभएका कारण स साना केटाकेटीहरु भोकले रुने कराउने गरेको अर्की पीडित मनसरा बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खानलाई अन्नको नाममा एकदान पनि छैन, हामी त भोग सहन गथ्र्यो, साना बालबालिका छन, उनीहरुलाई कसरी के दिएर शान्त परौँ, हामी त जिउँदै मरे सरह भएका छौँ ।’

उता बिपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृहमन्त्रालयबाट भूकम्प पीडितहरुका लागि त्रिपाल र कम्वल आइपुगेकाले आजै बिपद् व्यवस्थापनको मिटिङ राखी सम्भवतः आजै बितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्वल आइपुगेको छ, अन्य राहतको लागि प्रकृया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्वल र त्रिपाल बितरण गछौहोला ।’

बुधबार राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको गएको भुकम्पमा परि उक्त गाउँका ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए । उक्त भूकम्पमा परि आठ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दजर्नौँ घरमा क्षेत्री पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्