असहजताका बीच ‘ह्याट्रिक’ गर्ने दाउमा केसी



काठमाडौं ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्रनम्बर १० मा चुनावी सरगर्मी बढ्दो छ । देशभरका निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन आबद्ध दलका उम्मेदवार र नेकपा नेतृत्वको प्रतिपक्षी दल एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तर, काठमाडौंमा–१० को चुनावी समीकरण अलिक भिन्न छ ।

नेपाली कांग्रेसका तर्फबाट राजेन्द्र कुमार केसी (राजन) तेस्रोपटक मैदानमा हुनुहुन्छ । माओवादी केन्द्रकी अंजना विशंखे पनि प्रतिस्पर्धामा उत्रिएपछि यो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार भन्ने छैन । केसी र विशंखेले मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै गठबन्धन तोड्नुभएको थियो । त्यस्तै, मुख्य प्रतिस्पर्धीका रूपमा रहेको नेकपा एमालेको तर्फबाट हिमेश केसी मैदानमा हुनुहुन्छ । तीन मुख्य उम्मेदवारबाहेक स्वतन्त्र र अन्य दलका उम्मेदवारहरू पनि घरदैलोमा व्यस्त छन् । यद्यपि, यहाँ त्रिपक्षीय भीडन्त हुँदै छ ।

कांग्रेसका तर्फबाट एकल सिफारिस भएका राजन केसी लगातार तेस्रोपटक चुनाव जित्दै ह्याट्रिक गर्ने अभियानमा हुनुहुन्छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई करिब सात हजार मतान्तरले हराएर चर्चा बटुलेका केसीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कम्युनिस्ट गठबन्धनतर्फका माओवादी नेता हितमान शाक्यलाई हराएर संसद्मा जानुभएको थियो ।

२०७० सालमा केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मत पाउनुभएको थियो । त्यसबेला केसीले ‘म्यान अफ दी इलेक्सन’को चर्चा कमाउनुभएको थियो ।२०७४ सालको निर्वाचनमा केसीले २४ हजार १ सय ९० भोट पाउँदा निकटतम प्रतिस्पर्धी हितमान शाक्यले २१ हजार ९ सय ७ मत पाउनुभएको थियो । यसपटक त्रिपक्षीय भिडन्त हुँदा आफूले सहज जित हात पार्ने केसीको दाबी रहे पनि उहाँलाई त्यति सहज भने देखिँदैन ।

एक दशक सांसद हुँदा सदनमा नेतृत्वदायी भूमिका नखेलेको, काठमाडौं–दक्षिणकाली सडक अलपत्र छाडेको, खानेपानीको विकराल समस्या हल गर्न नसकेको, ग्रामीण र कृषि सडकका लागि प्रभावकारी योजनाहरू ल्याउन नसकेको भन्दै विपक्षी उम्मेदवारहरूले केसीको आलोचना गरिरहेका छन् ।

सहज छैन अवस्था

गठबन्धनमै आबद्ध दल माओवादी केन्द्रकी अन्जना विशंखे चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राजन केसीलाई विगतमा जस्तो सहज छैन । किनकी माओवादीसहितका गठबन्धनमा आबद्ध दलहरूको मत केसीलाई खस्ने अवस्था देखिँदैन । मत विभाजनको अवस्था छ । माओवादी केन्द्रकै केन्द्रीय सदस्य दिलिप महर्जनलाई प्रदेश सभा (क) र वागमती प्रदेश सदस्य गणेश कुँवर प्रदेश सभा (ख) मा उम्मेदवार बनाएर घरदैलो गरिरहेकी विशंखे केसीका लागि चुनौती बन्नुभएको छ ।

०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका विशंखेले संसद्मा आफूले प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गर्दै आउनुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा प्रशस्त योजनाहरू भित्र्याउन सफल भएको भन्दै चुनाव जित्ने दाबी गर्नुभएको छ ।क्षेत्रनम्बर १० मा केसी र विशंखेसहित १८ उम्मेदवार मैदानमा छन् । जसमा तीन जना स्वतन्त्र उम्मेदवार छन् । मैदानमा रहेका उम्मेदवारहरूले आफ्नोबाहेक मुख्य दलकै मत तान्ने भएकाले मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूका लागि असहज हुनसक्छ ।

एमालेका उम्मेदवार हिमेश केसीले कांग्रेसका उम्मेदवार केसीमाथि युवाहरूका लागि बाधक भएको र विकासे काममा समेत अवरोध पु¥याइरहेको आरोप लगाउँदै आउनुभएको छ । उहाँले क्षेत्रनम्बर–१० पछि पर्नुमा केसीमाथि दोष थोपर्दै युवाले नेतृत्व लिनुपर्ने भन्दै चुनावी अभियानलाई चर्काउनुभएको छ । पटकपटक टिकट लिएर नेतृत्व जाम गराएको भनेर केसीमाथि आफ्नै कार्यकर्ताको असन्तुष्टि पनि उत्तिकै छ । तर, केसीले भने युवाहरूको राजनीतिक भविष्यका लागि आफूले सहयोग गर्ने भन्दै युवापुस्ताका मतदाताहरूलाई आफ्नो पक्षमा पार्न लागि पर्नुभएको छ ।

स्थानीय तहमा बलियो

आरोप–प्रत्यारोप जेसुकै भए पनि कांग्रेसका राजन केसी नै काठमाडौं १० का बलिया उम्मेदवार भएको गत निर्वाचनका परिणामहरूले देखाउँछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई नै हेर्ने हो भने कांग्रेसको मत अग्र स्थानमा छ । दक्षिणकाली, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका वडानम्बर २ देखि ११ सम्म यो निर्वाचन क्षेत्रमा पर्छ । यी तीनवटै नगरपालिकाको नेतृत्व कांग्रेसले लिएको छ भने अधिकांश वडाको नेतृत्व पनि कांग्रेसकै हातमा छ ।वडाअध्यक्षहरूले प्राप्त गरेको मत जोड्दा कांग्रेसको २४ हजार ६ सय ७५ मत छ । दोस्रो स्थानमा रहेको रहेको एमालेले १८ हजार ८ सय ३८ मत ल्याएको थियो ।

यस हिसाबले कांग्रेसको मत एमालेको भन्दा ७ हजार १ सय ६१ मतले बढी देखिन्छ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)को १ हजार ३ सय ४२ मत छ । यसरी हेर्दा गठबन्धनका संयुक्त उम्मेदवार ८ हजार बढी मतले अगाडि देखिन्छन् ।आफ्नो क्षेत्रमा खासै काम नगरेकोे आरोप खेप्दै आएका केसी भन्नुहुन्छ– ‘मतका हिसाबले हामी बलियो छौं । त्योभन्दा पनि मैले असंख्य कामहरू यस क्षेत्रका लागि गरेको छु । विपक्षी साथीहरूले आरोपका लागि आरोप लगाएको कुरा जनताले बुझ्नुहुन्छ भन्नेमा म ढुक्क छु ।

काठमाडौं–दक्षिणकाली सडक अहिलेको अवस्थामा पुग्नु, ग्रामीण र कृषि सडकहरू विस्तारका कारण कषि उत्पादन बढ्नु, पर्यटनका पूर्वाधारहरूको विकास हुँदै जानुमा मेरो प्रमुख भूमिका छ ।’हाल मैदानमा रहेका उम्मेदवारहरू भन्दा सबैभन्दा धेरैपटक जनताको घरदैलोमा पुग्ने आफू नै भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘हरेक मतदाताको दुःख–सुखमा साथ दिनुमात्र होइन जनताका सामान्यभन्दा सामान्य कामहरूमा पनि मैले सयौं पटक साथ दिएको छु । यो कुरा मतदाताले मजाले अनुभूत गर्नुभएको छ ।’अर्थशास्त्रमा स्नाकोत्तर गरेका केसीले विकासका साथै राजनीतिक स्थायित्वका लागि आफ्नो उम्मेदवारी रहेको जिकिर गर्दै आफ्नो निर्वाचन क्षेत्रमा दुईवटा केवलकारको योजना पनि पाँच वर्षभित्रमा पूरा गर्ने बताउनुभयो विकास सँगसँगै हाम्रो संविधान जोगाउन र लोकतन्त्रको रक्षा गर्न पनि आफ्नो उम्मेदवारी अपरिहार्य भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘ग्रामीण स्तरमा रहेका कृषि सडकहरूलाई पूरा गर्ने, कीर्तिपुर र दक्षिणकालीको पर्यटन र कीर्तिपुर तथा चन्द्रागिरिको उद्योग क्षेत्रलाई अघि बढाउँदै युवाहरूलाई रोजगारी दिने किसिमका महत्वपूर्ण योजनाहरू अघि सारेको छु ।’

केसीले प्रत्यक्षतर्फ आफ्नो यो उम्मेदवारी अन्तिम हुने र अब नयाँ पुस्तालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
२०४६ सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका केसी २०४७ सालमा नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति हुनुभएको थियो । २०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडानम्बर २ को वडाअध्यक्ष हुँदै २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति भएका केसीले अनुभवी राजनीतिज्ञका रूपमा पहिचान बनाउनुभएको छ ।

उहाँसँग प्रतिस्पर्धामा रहेका माओवादीकी विशंखे र एमालेका केसी प्रत्यक्ष निर्वाचनमा नयाँ अनुहार हुन् । यो क्षेत्रमा नयाँ र खारिएको पुरानो अनुहारबीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । पूर्वमन्त्रीसमेत रहेका केसीलाई प्रदेशसभा (क) मा कांग्रेसका पुकार महर्जन र प्रदेशसभा (ख) मा नेकपा (एकीकृत समाजवादी) कारमा आलेले साथ दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्