हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई स्पष्टीकरण



 काठमाडौं ।

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट चुनाव प्रचारप्रसार गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली सो पार्टीका विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । यसरी चुनाव प्रचारप्रसार गर्ने कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदातासमेतलाई भ्रमित गर्ने भन्दै स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लंघन गरिएको आयोगले निष्कर्ष निकालेको छ ।

आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरूमा काठमाडौं क्षेत्र नं. ५ का मधुसूदन पाठक, सिराहा क्षेत्र नं. २ का शिवशंकर यादव, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका सर्लाही क्षेत्र नं. २ का वीरवंश बैठा, प्रतिनिधिसभा सदस्यका रूपन्देही क्षेत्र नं. ३ का प्रख्यात बञ्जाडेलाई स्पष्टीकरण साधेको थियो ।त्यस्तै, प्रदेशसभा सदस्यका उम्मेदवारहरू नुवाकोट क्षेत्र नं. १ (ख) का उम्मेदवार दिपेश ढुंगाना, सुनसरी क्षेत्र नं. १ (क) विजय कालिकोट, सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, सिरहा क्षेत्र नं. २ (ख) का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौं क्षेत्र नं २ (क) का राजकुमार तिमिल्सिनालाई स्पष्टीकरण सोधिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ ।‘दलले कुनै स्वतन्त्र उम्मेदवारलाई लौरो चिह्नको नाममा प्रचारप्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन चिह्न रहेको भनी प्रचारप्रसार गर्न पाउँछ । लौरो निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारले परिपूरक चिह्न भनी प्रचारप्रसार गर्न पनि मिल्दैन’, स्पष्टीकरण पत्रमा भनिएको छ– ‘लौरो चिह्न भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएका व्यक्तिले कानुनी रूपमा लौरो निर्वाचन चिह्नमार्फत आफ्नो मत माग्न सक्दछन् तर आफूहरू स्वतन्त्र अभियानको अङ्ग भएको वा देशभरका स्वतन्त्रहरू लौरो निर्वाचन चिह्नको छातामा रहने भनी प्रचारप्रसार गर्न पाउँदैनन् ।’

साथै, अन्य कुनै उम्मेदवारले समेत यस्तै प्रकृतिको कार्य गरेको पाइएमा जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले यसैबमोजिम सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया प्रारम्भ गरी आयोगलाई सोको जानकारी दिनसमेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्