मानव जगतको आस्थाको केन्द्रको रुपमा रामनदी धाम



स्याङ्जा।

पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीलाई त्रिवेणीको रुपमा लिइन्छ । अगाहखोला, गुरुवाखोला र कालीगण्डकी मिसिएर त्रिवेणी बनेको हो । अगाहखोलालाई प्राचीन समयमा अंगीरखोला र गुरुवाखोलालाई गुरुखोला भनिन्थ्यो । बशिष्ट ऋषिको तपोभूमिबाट आउने खोला गुरुखोला हुँदै गुरुवाखोला बनेको पाइन्छ ।

स्याङ्जा र पाल्पा जिल्लाको संगमस्थलमा रहेको रामनदी धाम (राम्दी) मानव जगतको आस्थाको केन्द्रको रुपमा रहेको छ । उत्तरवाहीनी कालीगण्डकीले समेत यसको महत्व बढाएको छ । सम्पूर्ण मानव जगतको कल्याण गरी धार्मिक र आध्यात्मिक चेतना फैलाउने उद्देश्यले यहाँ गुरुकुल पाठशालाको समेत स्थापना गरिएको छ ।

कालीगण्डकीको सभ्यता र राम्दीको धार्मिक सांस्कृति पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको छ । धर्म संस्कृतिको विकासको धरोहर कालीगण्डकी र हिन्दूहरुको आस्थाको केन्द्र राम्दी अनि त्यहाँको पुल आकर्षणका केन्द्रविन्दु हुन पुगेका छन् ।

सबैको जीवन भित्र देखिने र रहने आस्थाको केन्द्र रामनदी धामको विकासमा लाग्ने कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ रामनदी धाम (राम्दी) स्थित रामनदीधाम संस्कृत गुरुकुलम्को आयोजनामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे पक्की भवन शिलन्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।नगर प्रमुख भट्टराईले भन्नुभयो, ‘जीवनको फराकिलो यात्रालाई अझै फराकिलो बनाउन र भोलि जीवन रहेसम्म हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्न रामनदीधामलाई बृहत योजनाका साथ अगाडि वढ्नेछौं ।’

उहाँले स्याङ्जा र पाल्पा मात्रै नभै सम्पूर्ण हिसावले यससंग जोडिएको प्रभावित क्षेत्रको विकास र समृद्धिमा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताउनुभयो । सबै वर्ग, जातजाति, धार्मिक, सांस्कृतिक क्षेत्रको विकास गर्ने पक्षमा आफू निरन्तर लागि परेको उहाँको भनाई छ ।कुरा जति गरिन्छ त्यती नै काम गर्ने पक्षमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

आफ्नो धर्म, संस्कार र संस्कृति संरक्षण गरेर सभ्यता बचाउदै अगाडि वढ्न आवश्यक रहेको उहाँको तर्क छ । सम्पूर्ण मानव जातिको कल्याण गरेर अगाडि वढ्ने कुरामा आफू र नगरपालिका सधै लागि पर्ने कुरा नगर प्रमुख भट्टराई बताउनुभयो ।
गंगा, यमुना र सरस्वतीको संगम त्रिवेणी प्रयागमा कुम्भको बेला, कुरुक्षेत्रमा ग्रहणको बेला र नैमिषारण्यमा १०० पटक नुहाएर मिलेको मोक्ष राम्दी त्रिवेणीमा एक पटक नुहाउँदा मिल्ने किवंदन्ती पाइन्छ । ‘अन्य तीर्थ स्थलमा स्नान गर्नु र राम्दीमा गर्नु धेरै फरक छ,’ दर्शनार्थी शारदा पंगेनीले भन्नुभयो, ‘साच्चिकै मोक्ष प्राप्तिका लागि राम्दीमा स्नान गर्नुको बिकल्प छैन् ।’

 

प्रतिक्रिया दिनुहोस्