विना प्रशिक्षक खेलाडी छनौट



 बैतडी । 

आगामी असोज अन्तिम साताबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि जिल्लास्तर र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गरेर उत्कृष्ट खेलाडी छनौट गरिन्छन् । जिल्लास्तरीय छनौटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पुर्वाधारबिनै खेलाडी छनौट गरिएका छन् । उक्त प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका १५६ खेलाडी छनौट गरिए ।

छनौट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । तर जिल्लामा छनौट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनौट गरिएका हुन् ।यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् ।

जिल्लाका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा भाग लिँदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ , न त कभर्डहल नै ।खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताउनुभयो । उहाँले भन्नुभयो,“खेलाडीका लागि आवश्य पर्ने खेलमैदानको अभाव छ,खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन् ।”

कराँते,भारोत्तोलन, ब्याड्मिन्टनलगायतका खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर यहाँ कभर्डहल नै छैन् । खेलाडी छनौट खुला आकाशमा हुने गरेको कराँते खेलाडी नरेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँ खुल्ला आकाशमा प्रतिस्प्रर्धा गरेर छनौट भएका छौं तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्डहलमा खेलाइन्छ । जिल्लामा खुल्ला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्प्रर्धा गर्दा निकै समस्या हुने गरेको छ ।”

यसका साथै यहाँ जहिल्यै प्रशिक्षकबिना खेल्नुपर्ने नियती खेलाडीको रहेको छ । प्रशिक्षकबिनै छनौट खेलमा सहभागीता जनाउँदा सबै कुरा थाहा नहुँने गरेको खेलाडी दिनेश ठगुन्नाले बताउनुभयो । प्रशिक्षणपछि प्रतियोगितामा सहभागिता जनाउँदा धेरै कुरा नहुने गरेको छ । उहाँले भन्नुभयो,ः“जिल्लामै प्रशिक्षणपछि प्रतिस्प्रर्धा गर्दा उत्कृष्ट प्रदर्शन गर्न सकिन्थ्यो होला ।” उहाँले थप्नुभयो,ः“प्रशिक्षक नहुँदा हामी आफैं सिक्दै खेल्नुपर्दछ, धेरै गाह्रो भइरहेको हुन्छ । खेलका नियममा पनि अलमल परिन्छ । प्रतियोगितामा भाग लिँदा मनोबल घट्ने गरेको छ, माथिल्लो प्रतियोगितामा सहभागिताका लागि जिल्लाबाटै प्रशिक्षण आवश्यक छ ।”

प्रशिक्षक नहुँदा पनि राम्रै खेल्ने गरेका खेलाडीलाइै प्रशिक्षक भए अनुशासन खेल नियम लगायतका थप कुरामा सहज हुने अर्का खेलाडी रिसिकेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“ जिल्लाबाटै प्रशिक्षण र बन्द प्रशिक्षणपछि माथिल्लो प्रतियोगितामा सहभागिता जनाएपछि आफ्ना गल्ती कमजोरीलाई सुधार गरेर खेल्न सकिन्थ्यो तर प्रशिक्षण नहुँदा सोचेअनुसारको प्रदर्शन गर्न नसकेको महसुस हुन्छ ।”

यता बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले भने खेलमैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताउनुहुन्छ । हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनुपरेको र खेलमैदानमै खेलाउनुपर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ । उहाँले भन्नुभयो,“ खेलमैदान नहुँदा सडक तथा विद्यालयका साना साना खेलमैदानमा छनौट खल खेलाउनुपरेको छ, खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ, यहाँ राम्रोसंग प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेका छैनन् । ”

यसका साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनौट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । उहाँले भन्नुभयो,“ जिल्ला छनौटका बेला प्रदेशका तराइका जिल्लाहरुबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफै पूर्व खेलाडी भएकोले प्रशिक्षक अभावमा आफैंले प्रशिक्षक बनेर धेरै खेल खेलाइने गरिएको छ । ”

प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटकपटक माग गरेको भएपनि कुनै सुनुवाई नभएकोे भण्डारीको आरोप रहेको छ । सुदूरपश्चिमका तराइका जिल्ला कैलाली र कञ्चनपुरका हरेक खेलका एकभन्दा बढी प्रशिक्षक रहेका भएपनि बैतडीमा भने प्रशिक्षक जहिल्यै अभाव हुने गरेको छ । “ हामीले हरेक खेलका लागि प्रशिक्षक हुनुपर्ने माग प्रदेश सरकारसंग राखिसकेका छौं। सरकारसंग खेलकुदसंग सम्बन्धित विभिन्न बैठकमा म स्वयं उपस्थित भएर समस्या दर्शाएको भएपनि प्रतियोगिताका बेला जहिल्यै प्रशिक्षक अभाव रहन्छ । ”

पहाडी जिल्लाहरुमा प्रशिक्षकहरू पनि आउन पनि आनाकानी गर्ने गरेका र उनीहरुलाई तराईभन्दा पहाडमा सेवा–सुविधा थपेर भएपनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड रहेको छ । उहाँले भन्नुभयो,“ तराईका जिल्लामा एकै खेलका दुई तीन जना पनि प्रशिक्षक रहेका हुन्छन्। उनीहरुमध्ये एक एक जना भएपनि पहाडी जिल्ला पठाउने गरि सरकारले व्यवस्था गर्नुपर्छ । ”

प्रतिक्रिया दिनुहोस्