अनलाइन जुवा खेलाउने नाइके २५ वर्षे युवा



काठमाडौं ।

झापाको दमकमा शैक्षिक पराशर्म केन्द्रबाट ठगिएँ भन्दै सात युवाले दिएको उजुरीका आधारमा केन्द्रका सञ्चालक २५ वर्षीय सतप्रकाश साह पक्राउ परेपछि उनी अनलाइनमार्फत् लाखौंको जुवा खेलाउने अभियुक्त देखिएको प्रहरीको भनाइ छ ।

‘उजुरी प्राप्त भएपछि हामी निगरानी गरिरहेका थियौं, साहको रवाफ निकै माथिल्लो स्तरको देखियो, शैक्षिक परामर्श केन्द्रको आम्दानीबाट त्यो रवाफ सम्भव थिएन’ इलाका प्रहरी कार्यालय दमक र प्रदेश १ प्रहरीको क्षेत्रीय खोज समितिका एक सदस्य प्रहरी नायब उपरीक्षक दिलिप गिरीले नेपाल समाचारपत्रलाई बताउनुभयो– साहको सिभिल बैंकको खातामा एक महिनामा ८० लाख रुपियाँभन्दा बढी रकमको कारोबार देखिएपछि प्रहरी उनको कोठासम्म पुगेको हो ।

साहको कोठाबाट २ सय ४४ वटा एनसेलको सिमकार्ड बरामद भएको पनि प्रहरीले जनाएको छ । ‘साहले अनलाइन ठगी गर्छन् भन्ने हाम्रो अनुमान थियो, तर कोठामा पुग्दा अनलाइन जुवा खेलाउने गरेको पाइयो’, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षकसमेत रहेका गिरीले भन्नुभयो, ‘साह जुवाका लागि ई–सेवाबाट कारोबार गर्दा रहेछन् ।’ ई–सेवाको एकाउन्ट बनाउन उनले २ सय ४४ वटा सिम प्रयोग गरेको पाइयो ।

अनलाइन जुवामा कारोबार गर्न एउटा मात्रै ई–सेवा एकाउन्टले सम्भव नभएपछि उनले सञ्चालन गरेको पदमा इन्टरनेसनल कन्सलटेन्सीमा आउने सेवाग्राहीको नागरिकताको फोटोकपी र फोटो प्रयोग गरेर अरु सिमकार्ड निकाल्ने गरेको पनि गिरीले बताउनुभएको छ । ‘एजुकेसन कन्सल्टेन्सीमा आउने विद्यार्थीको नागरिकताको फोटोकपी र फोटो राख्दै सिमकार्ड चलाउँदै गरेको देखियो’, गिरीले भन्नुभयो–‘कन्सल्टेन्सीमा राखेको फोटो र नागरिकताको फोटोकपी प्रयोग गरेर एनसेलको सिम निकाल्दै ई–सेवा एकाउन्ट बनाएको भेटियो ।’

प्रहरीका अनुसार साह अनलाइन जुवा खेलाउने वान एक्स एप्लिकेसनको टिम १ लिडर रहेको बुझिएको छ । टिम २ र टिम ३ मा दमक नगरपालिका–७ का राजु श्रेष्ठ र कमल गाउँपालिका– २ का अरुण कार्की रहेको देखिन्छ । प्रहरी भन्छ – ‘कन्सटेन्सीमा आएका सेवाग्राहीको कागजात कार्कीले मिलाइदिएपछि पीताम्बर थापा नाम गरेका व्यक्तिले ई–सेवा एकाउन्ट खोलेर आईडी र पासवर्ड साहलाई दिन्थे । साहले ई–सेवा आइडी जुवा खेलाउँदा पैसा लिन र पठाउन प्रयोग गर्थे ।’

साहले डेढ महिनायता अनलाइन जुवा खेलाइरहेको बयान दिएको पनि प्रहरीले बताएको छ ‘प्रारम्भिक अनुसन्धानका क्रममा डेढ महिनादेखि जुवा खेलाएको पुष्टि भएको छ । थप अनुसन्धान जारी छ, हामी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं’ गिरीले अहिले थप जानकारी दिन चाहनुभएन । साहको कन्सल्टेन्सीमा प्रहरीले नक्कली सरकारी कागजात र सरकारी छाप भेटेको छ । ‘वडाको कागजपत्रदेखि सबै नक्कली कागजात कन्सल्टेन्सीबाट बन्दोरहेछ’, प्रहरीले बताएको छ– ‘अनुसन्धान पूरा भएपछि सम्पूर्ण प्रमाणसहित साह र उनका साथीहरूविरुद्ध जिल्ला अदालतमा किर्ते र ठगी मुद्दा दर्ता गरिनेछ ।’

अधिवक्ता तथा नेपाल बारका सदस्य विकास भट्टराईका अनुसार यस प्रकारको किर्ते र ठगी गर्ने व्यक्ति तथा मतियारलाई सात वर्षसम्म कैद वा ७० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । ‘मुलुकी फौजदारी संहिता २०७४ ले यस प्रकारको कसूर गर्ने व्यक्तिलाई किर्ते र ठगी भनी बेग्लाबेग्लै सजाय तोक्न सक्छ, यसअनुसार १४ वर्ष कैद र १ लाख ४० हजार जरिवाना वा दुवै सजाय पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्