ललितपुरमै बढे डेंगुका बिरामी



ललितपुर । 

मौसम परिवर्तनसँगै केही दिनयता ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएकोमा एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ ।

शाखामा हाल ७ जनाको उपचार भइरहेको छ भने अरू निको भएर डिस्चार्ज भइसकेका छन् । वडा नम्बर ५ र १५ मा डेंगुको असर बढी देखिएको पाइएको छ । यी दुई वडाबाट १५ जनामा डेंगु संक्रमण फैलिएको पाइएको हो ।महालक्ष्मी, सातदोबाटोमा रहेको ललितपुरको गणेशमासिंह मेमोरियल अस्पतालबाट दुई दिन संक्रमण भएका बिरामी भेटिएको स्वास्थ्य कार्यालयका ललितपुरको -यापिड रेस्पोन्स टिमका फोकल पर्सन गीता आचार्यले बताउनुभयो । ती बिरामीमा गम्भीर असर भने देखिएको छैन ।

ज्वरो आएपछि ओपीडीमा आएका उनीहरूको परीक्षण गर्दा डेंगु पुष्टि भएका हो बताउँदै जनस्वास्थ्य कार्यालयका प्रमुख सतीस विष्टले नियन्त्रण गर्न विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो । डेंगु नियन्त्रणका लागि जनस्वास्थ्य, स्थानीय तह, प्रहरी प्रशासन सबैको एकीकृत प्रयासको खाँचो औंल्याउँदै सचेतना फैलाउन विशेष अभियान शुरू गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

‘भोलि र पर्सि लार्भा खोज र नष्ट अभियान चलाउँदै छौैं । परीक्षणको दायरा बढाउने र बिरामीको उपचारमा विशेष ध्यान दिएका छौं’ –प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो । डेंगुको प्रकोप बढ्न सक्ने भन्दै सचेतना अभियानलाई थाल्नुपर्नेमा उहाँको जोड रहेको छ । गत वर्ष पनि ललितपुरमा ५ सय जनामा डेंगु पुष्टि भएको थियो । डेंगुको प्रकोप बढ्न थालेपछि ललितपुर महानगरपालिकाका विभिन्न वडाले घर वरिपरि पानी जम्न नदिन सचेत गराउन शुरू गरेको छ । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । लामखुट्टेले टोकेको ४ देखि १० दिनमा यसको लक्षण देखिन्छ । ज्वरो आउने, जिउ दुख्ने, आँखाको गेडी दुख्ने लक्षण देखिन्छ । मनसुनको समयमा बढी डेंगुको प्रकोप देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्