२९ करोड लगानी, प्रयोग अन्योल

नेपालगन्जमा होल्डिङ सेन्टर तयार



eQmk’/, @@ h]7 -/f;;_ M ;/sf/n] ef]nL z’qmaf/b]lv ljb]zaf6 Nofpg] k|b]z g+= @ sf gful/snfO{ k|b]z k7fpg’ cl3 /fVg eQmk’/df g]kfnL ;]gfn] lgdf{0f u/]sf] xf]lN8ª ;]G6/df tof/ kf/]sf] a]8 . tl:j/ M /d]z lu/L, /f;;

बाँके । 

नेपालगन्जमा एक हजार बेडको ‘होल्डिङ सेन्टर’ तयार भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४, भवानीयापुरमा २९ करोडको लागतमा होल्डिङ सेन्टर तयार गरिएको हो ।

ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले सबै संरचना बनाएर नेपाली सेनालाई हस्तान्तरण गरेको छ । श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टले होल्डिङ सेन्टरको स्वामित्व ग्रहण गर्नुभयो । बाहिनीपति विष्टले सेनाले छिट्टै नेपाल सरकारलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गर्ने जानकारी दिनुभयो । ‘ठेकेदारबाट हामीमा स्वामित्व आएको छ । अब छिट्टै हामीले नेपाल सरकारलाई होल्डिङ सेन्टर हस्तान्तरण गर्छौं’, बाहिनीपति विष्टले भन्नुभयो– ‘स्थानीय निकायलाई हस्तान्तरण गर्ने कि प्रमुख जिल्ला अधिकारीलाई भन्नेबारेमा टुंगो लागिसकेको छैन । माथिबाट जस्तो आदेश आउँछ, त्यही गर्छौं ।’

सुरुआती दुई चरणमा बाँके कोरोनाको ‘हटस्पट’ बन्यो । कोरोनाका बिरामीले अस्पताल भरिए । सबै पालिकामा क्वारेन्टाइन र आइलोसेलन सेन्टरहरू बने । नेपालगन्जको भेरी अस्पतालमा भुइँमा राखेर उपचार गर्ने अवस्था आयो ।यी सबै अवस्थाले होल्डिङ सेन्टरको अवधारणा अघि सारियो । २०७८ साउनमा नेपालगन्जमा हजार बेडको होल्डिङ सेन्टर बनाउन सम्झौता भयो । असोज २४ गते सम्पन्न गर्ने भनिएको थियो । त्यस अवधिमा काम पूरा भएन । पुससम्म म्याद थपियो ।

त्यसमा पनि काम भएन र चैत्र मसान्तसम्म काम लम्ब्याइयो । यो अवधिमा ठेकेदारले काम सक्यो र सेनालाई हस्तान्तरणको प्रक्रिया अघि बढायो । शुक्रबारदेखि नेपाली सेनाले होल्डिङ सेन्टरको जिम्मा लिएको छ । २९ करोड ३८ लाख २ हजार ८९ रुपियाँमा ठेक्का भएको होल्डिङ सेन्टर १० लाख हाराहारी घटेर काम सकिएको छ । सीमावर्ती जिल्ला भएकाले भारतमा कोरोना देखिनेबित्तिकै बाँकेमा त्यसको असर देखा परिहाल्छ । केही महिनायता भारतबाट फर्केका कामदारमा कोरोना संक्रमण देखा परिरहेको छ । यद्यपि, कोरोनाबाट न त संक्रमित डराएका छन् न त सम्बद्ध निकायले नै बढी चासो दिएको छ ।

नाकामा खाली जाँच गर्ने र पोजिटिभको ट्याग लगाएर घर पठाइदिने गरिएको छ । नाकामा रहेको जमुनाहा हेल्थडेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, साउनमा १ हजार ९२ जनाको जाँच गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । नाकामा असारमा ३ हजार ६ सयको जाँच गर्दा ६० जनालाई कोरोना देखिएको थियो । जेठमा ८ सय ५० जनाको जाँच गर्दा ९ जनामा कोरोना देखिएको थियो । भेरी अस्पताल र बागेश्वरी ल्याबमा पनि कोरोना संक्रमित फेला परिरहेका छन् । जिल्लामा अहिले ३९ जना संक्रमित छन् । उनीहरू होम आइसोलेसनमा रहेका छन् ।

होल्डिङ सेन्टर त तयार भयो । अहिले कोरोना संक्रमण व्यापक छैन । अब यी संरचनालाई केमा प्रयोग गर्ने अन्योल देखिएको छ । यी संरचनालाई बाढीपीडितका लागि प्रयोग गर्न सकिन्छ भन्नेहरू पनि छन् । यद्यपि, यो वर्ष बाढी नै आएको छैन । बाढी आइहाले पनि तटीय क्षेत्रका बासिन्दा पीडित हुन्छन् । उनीहरू भवानीयापुरमा आएर बसिदेलान् भन्नेमा शंका छ । राज्यको ढुकुटीबाट २९ करोडमा निर्माण गरिएको होल्डिङ सेन्टरको प्रयोग नै अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्