सुन्धारामा पानी झार्न टुँडिखेलमा अध्ययन



काठमाडौंं । 

सरकारले बढ्दो शहरीकरणका कारण पानी सुकेको धरहरा परिसरभित्र रहेको सुन्धारामा पुनः प्राकृतिक रूपमा नै पानी झार्ने योजना अघि सारेको छ ।शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको केन्द्रीय कार्यान्वयन इकाइ भवनका महानिर्देशक कोषनाथ अधिकारीले नेपाल समाचारपत्रसँगको कुराकानीमा प्राकृतिक रूपमा नै पानी झार्नका लागि अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनुसार हाल टुँडिखेलका विभिन्न स्थानमा बोरिङ गरेर पानीको सतहको अध्ययन गर्ने काम भइरहेको छ ।

वर्षाको समयमा गरिएको मापनले मात्र नहुने बताउँदै उहाँले हिउँदको पानीको अध्ययनले मात्र सुन्धारामा प्राकृतिक रूपमा नै पानी झार्न सकिने(नसकिने टुंगो लाग्ने बताउनुभयो । आयोजनाले टुँडिखेलमा हिउँदको समयमा पनि सहज रूपमा पानी उपलब्ध हुने अवस्थामा अन्डरग्राउन्डमार्फत् सुन्धारामा पानी ल्याउने नीति बनाएको छ । अधिकारीले भन्नुभयो– ‘सम्पदालाई जीवन्त राख्नका लागि पनि हामीले सकेसम्म टुँडिखेलबाट ल्याएर भए पनि सुन्धाराबाट पानी झार्ने योजना बनाएका छौं ।’

धरहरा वरिपरि ठूलाठूला संरचना निर्माण भएसँगै सुन्धाराका धाराबाट पानी आउन छोडेको वर्षौं भइसकेको छ । अहिले सुन्धारामा धारा मात्रै छन्, धाराबाट पानी आउँदैन । सुन्धारामा घाँस उम्रिएको छ । स्थानीयले सुन्धारामा प्राकृतिक रूपमा नै पानी झार्ने योजनालाई कार्यान्वयन गर्न माग गरेअनुसार प्राकृतिक रूपमा पानी ल्याउने योजना अघि बढेको हो ।निकै कलात्मक र आकर्षण ढंगले निर्माण गरिएको सुन्धारालाई पुनर्जीवित बनाउन पानी झार्ने कार्यलाई आयोजनाले प्राथमिकताका साथ अघि बढाएको छ ।

अग्ला भवन, डिप बोरिङ र ठूला संरचना निर्माणका कारण ऐतिहासिक महत्वका सम्पदा खतरामा पर्दै गएका छन् ।धरहराको फेदमा सुनजडित ढुंगेधारामा १८ वर्षअघिसम्म निरन्तर पानी आउँथ्यो । न्युरोड र आसपासका नागरिकको दैनिकी त्यही धाराको पानी पिएर शुरू हुन्थ्यो । त्यही पानीले स्थानीयसँगै काठमाडौं घुम्न आएकाको तिर्खा मेटाउने गर्दथ्यो । तर, अहिले वर्षौंसम्म स्थानीय र वटुवालाई पानी खुवाउने सुन्धाराको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । सुन्धारामा आउने पानीको स्रोत टुँडिखेलको भूमिगत पानी हो । तर, विस्तारै टुँडिखेलको आकार घट्दै जानुका साथै सुन्धारा आसपासमा ठूलाठूला भवन निर्माणले अन्ततः सुन्धारा सुकेको बताइन्छ ।

सुन्धारामा पानी सुक्नुको प्रमुख कारण सञ्चय कोष भवन नै रहेको स्थानीय बताउँछन् । भवन रोक्नको लागि स्थानीयले आन्दोलन गरे पनि २०५६ सालमा काठमाडौं मल निर्माण भएसँगै सुन्धाराबाट पानी झर्न बन्द हुन पुगेको थियो । सरकारले सुन्धारामा पुनः पानी झार्ने योजना अघि सारे पनि ठूलाठूला संरचनाका कारण कठिन हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्