घरबारी बेच्दा पनि ऋण तिरेर सकिएन

लघुवित्त संस्थाका पीडितको गुनासो



धादिङ ।

लघुवित्त संस्थाहरूले बनाएको समूहमा बसेपछि गरिबलाई फाइदा पुग्छ भनेर सुन्नेहरू लघुवित्त संस्थाकै कारण घरबारी बेचेर सडकमा आइपुगेका छन् । सिद्धलेक गाउँपालिकाकी चमेली मगरले लघुवित्त संस्थामा लिएको ऋण तिर्न २ रोपनी १२ आना जग्गा बेच्नुभयो अझै ऋण चुक्ता भएन । त्यसपछि घरमा पैसा उठाउन आउने लघुवित्तका कर्मचारीसँग लुकेर हिँडिरहनु परेको छ ।

एक लाख रुपियाँ ऋण लियो भने शुरूमै ब्याज र किस्ता हिसाब गरेर रकम असुल्न शुरू हुन्छ । जसले ऋण लिन्छ उसले एक लाख छ भने करिब ८० हजार रुपियाँ मात्र पाउने गरेको छ । एक किस्ता रकम, बिमा, सेवा शुल्क आदि भनेर लिइने रकम ठूलो हुने गरेको छ । ब्याजदर समेत समूहमा छलफल गर्दा तोकिएभन्दा बढी लिने गरेको र गाउँमा नवसामन्तको रूपमा आएको लघुवित्त पीडितहरूको जिल्ला संघर्ष समितिका अध्यक्ष सुशीला भट्टराई श्रेष्ठले बताउनुभयो ।

लघुवित्तबाट ऋण लिएपछि कहिल्यै तिर्न नसकिने र किस्ता चिर्नुपर्ने दिन पैसा दिन नसकेपछि आर्थिक, मानसिक रूपमा यातना दिएको पीडित सुजिता गुरुङको गुनासो छ । किस्ता तिर्न नसकेर आफू बाहिर निस्केपछि कर्मचारीलाई राती खोलाखोलै खेदेको उहाँले दुखेसो गर्नुभयो । सिद्धलेक गाउँपालिका–४ की चमेली मगर आफ्नो बारी बेचेर ऋण तिर्दा पनि घरमा ताला लगाइदिन्छु भन्दै घलुवित्त संस्थाका व्यक्तिहरू आएर ज्यादती गरेपछि मर्नु कि बाँच्नु भएको बताउनुभयो ।

२ रोपनी १२ आना जग्गा बेचेर ऋण तिरियो । मुक्तिनाथ, छिमेकी, साधना डिप्रोस, निर्धन, गणपतिलगायतका लघुवित्तको समूहमा पालैपालो बस्नुभएका चमेली मगरको जिन्दगी लघुवित्तमा बस्न थालेपछि तनावग्रस्त भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयअगाडि पुगेपछि आफ्नो गुनासो राख्दै लघुवित्तका कर्मचारी आएपछि लुकेर बस्नुपरेको, घर छाडेर हिँड्नु परेको र आफूलाई भेटेको दिनमा ऋण तिर्न नसक्ने भए झुन्डिएर मरे पनि हुन्छ भनेर यातना दिएकोले यस्ता लघुवित्तका कर्मचारी र लघुवित्त दुवैलाई कारबाही गर्नुपर्ने चमेली मगरको भनाइ छ ।

सिद्धलेक गाउँपालिका बुङचुङकी सीतादेवी शाहीको अवस्था पनि उस्तै छ । छिमेकी, साधना लघुवित्तमा आबद्ध हुनुहुन्छ । गाउँमा पुगेका सबै लघुवित्त उहाँहरू सदस्य हुनुभएको छ । ऋण लिएपछि पैसा तिर्दा तिर्दा, भैंसी, बाख्रा बिक्री गरेर तिर्दासमेत नसकेपछि २ रोपनी जग्गा बेचेर लघुवित्तमा ऋण तिरेको बताउनुभयो ।ऋण तिर्न नसकेपछि उनीहरूले घरमा बस्नसमेत नदिने गरेको लघुवित्तपीडितहरूले जिल्ला प्रशासनमा पुगेपछि ज्ञापनपत्र बुझ्न आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालालाई सुनाउनुभयो ।

ऋण तिर्न नसकेको दिन ऋणीलाई डोरी दिएर मरे पनि हुन्छ भनेर मर्न उक्साउने गरेकाले महिलाहरू आत्महत्या गर्नसमेत पुग्ने गरेको संघर्ष समितिका राष्ट्रिय अध्यक्ष नानीराम ज्ञावाली बताउनुहुन्छ ।ज्वालामुखी गाउँपालिका मैदीका हीरा परियारलाई साधना र मिरमिरे लघुवित्तका कर्मचारीले यस्ता तँ बाँचेको भन्दा मरेको बेस भनेर भन्ने गरेको बताउनुभयो । ५० हजार रुपियाँ ऋण लिएपछि कहिल्यै तिरेर नसकिनेर आफूले गरेको बचतसमेत फिर्ता नदिने गरेको उनीहरूको भनाइ छ ।

ऋण तिर्न नसकेको भन्दै उनको घरमा ताला लगाइएको छ । नेत्रावती डबजोङ कटुन्जे सुनारगाउँका किसान विकको घरमा डिप्रोक्स वित्तीय संस्थाले ताला लगाएको छ । गाईबस्तु बेचेर पनि ऋण चुक्ता नभएपछि घरबाहिर मानिस निकालेर तला लगाइएकाले परिवार नै विस्थापित भएको सोही स्थानका लिला विकले बताउनुभयो ।निलकण्ठ नगरपालिका–९ मा साइला श्रेष्ठ सहित २ जनाको घरमा डिप्रोस लघुवित्तले ताला लगाएपछि परिवार विस्थापित भएको छ ।

समस्या नै समस्या भएकाले पीडितहरूमाथिको ज्यादती बन्द गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा, बिनाब्याजको ऋण सरकारले दिनुपर्ने, यस किसिमका वित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा ऋण दिनुपर्ने भन्दै पीडितहरू एकजुट भएको जिल्ला संघर्ष समितिका सुशीला भट्टराई श्रेष्ठले बताउनुभयो ।  राष्ट्रको नियमअनुसार एक जना व्यक्ति बढीमा २ ओटा लघुवित्तमा मात्र बस्न पाउनेमा यहाँ ७-८ ओटामा बसेर बिचल्ली भएको पाइएको संघर्ष समितिले जनाएको छ ।

धादिङ जिल्लामा मात्र २० भन्दा बढी लघुवित्तले महिलाहरूमार्फत् समूह बनाएर ऋण लगानीसमेत गर्ने गरेको छ । हप्ते बैठक भनेर बैठक राखी बचतसमेत संकलन गर्ने लघुवित्तहरूले बचत पासबुकसमेत नदिएको गुनासो उनीहरूको छ । कानुनविपरीत वित्तीय संस्थाहरूले कुनै काम गरेको उजुरी आए तत्काल कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले ज्ञापनपत्र बुझ्दै बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्