तनहुँका ६७ प्रतिशत पानीको स्रोतमा इकोलीफर्म



 तनहुँ । 

तनहुँको धारो, पानीको मूल, ट्यांकी र इनारको पानीको नमुना परीक्षण गर्दा ६७ प्रतिशत इकोलीफर्म भेटिएको छ । १० वटै स्थानीय तहका पानीको स्रोतको नमुना परीक्षण गर्दा ६७ प्रतिशत दिशामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

काठमाडौंमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाभित्रका स्रोतहरूको पानीको नमुना परीक्षण थालिएको हो । स्वास्थ्य कार्यालय तनहुँको ‘निःशुल्क खानेपानी परीक्षण कार्यक्रम’अन्तर्गत ती खानेपानीका मूल र स्रोतहरूको नमुना परीक्षण गर्दा अधिकांश पानी खान अयोग्य भेटिएको स्वास्थ्य कार्यालय तनहुँका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य कार्यालय तनहुँको प्रयोगशालामा गरिएको खानेपानीको नमुना परीक्षणमा अधिकांश मूल, धाराको पानीमा इकोलीफर्म भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘७६ वटा पानीको नमुना परीक्षण गरिएकोमा ५१ वटा स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको छ । परीक्षणका आधारमा २५ वटा स्रोतको पानी मात्रै पिउनयोग्य पाइएको छ ।’
उहाँका अनुसार व्यास नगरपालिकाको १० वटा नमुना परीक्षण गरिएकामध्ये दुई वटा स्रोतको पानी पिउनयोग्य रहेको र भानु नगरपालिकाको तीन वटा नमुना परीक्षण गरिएकोमा सबैमा इकोलीफर्म भेटिएको छ । ल्याब टेक्निसियन निरीक्षक रानाभाटले भन्नुभयो–‘आँबुखैरेनीमा पाँच वटा परीक्षण गरिएकोमा तीन वटामा इकोलीफर्म भेटिएको छ । घिरिङको तीनवटै नमुना परीक्षणमा सबै राम्रो पाइएको छ ।’

त्यस्तै, देवघाटको नमुना परीक्षण गरिएका पाँचवटा नै पिउनयोग्य रहेको पाइए तापनि बन्दीपुर गाउँपालिकाको ५ मध्ये एउटा मुहान मात्रै पिउन योग्य रहेको भेटिएको छ । त्यस्तै म्याग्देको ७ वटा नमुना परीक्षणमा २ वटा राम्रो पाइएको छ भने शुक्लागण्डकी नगरपालिकाको ११ वटा नमुना परीक्षणमा तीन वटा स्रोत योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाका पानीको मुहान शुद्ध भेटिए पनि वितरण गरिएका धारोको पानीमा जीवाणु भेटिएको राणाभाटले बताउनुभयो ।
त्यसै गरी नै ऋषिङ गाउँपालिकाको नमुना परीक्षणमा ४ वटा मूलको पानी राम्रो पाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका ठूला खानेपानी आयोजनाको भने नमुना परीक्षण नगरिएको रानाभाटले बताउनुभयो । ‘पहिलो चरणमा स–साना मूल, ट्याङ्की, धारा र इनारको पानीको नमुना परीक्षण गरिएको र तीमध्ये अधिकांश खानेपानीका स्रोतहरू अयोग्य भेटिएको जानकारी दिँदै स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमुना परीक्षण गर्ने जानकारी दिनुभयो । पानीका स्रोतमा इकोलीफर्म देखिएका पालिकाहरूलाई जानकारीसहित रिपोर्ट पठाइसकिएको बताउँदै अधिकारीले भन्नुभयो– ‘ती पालिकाहरूको खानेपानीको स–साना स्रोतहरूमा गरिएको नमुना परीक्षण सन्तोषजनक नपाइएकाले रिपोर्टसहित पत्राचार गरेका छौं ।’

पानीका मुहानहरूको सरसफाई गर्न, पानी शद्धीकरण गरेर मात्रै पिउन, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिएका छौं । वर्षा शुरू भएपछि पानी खानयोग्य भए नभएको जाँच गर्न त्यस्तो नमुना परीक्षण गरिएको हो । तीन वटाभन्दा माथि इकोलीफर्म देखिएपछि पानी पिउन अयोग्य हुने विज्ञहरू बताउँछन् ।

दमौली अस्पतालकै पानी पिउन अयोग्य

दमौली अस्पतालकै पानीमा इकोलीफर्म भेटिएको छ । पानी परीक्षणले अस्पतालको धारो र अन्डरग्राउन्डको पानी खान अयोग्य रहेको देखाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

नमुना परीक्षणबाट दमौली अस्पतालको दुईवटा स्रोतको पानीमा उच्च इकोलीफर्म भेटिएपछि खान अयोग्य रहेको ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले बताउनुभयो ।

स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले अस्पतालबाट वितरण हुँदै आएको पानीका दुई वटै स्रोतको पानीलाई शुद्धीकरण गरेर मात्रै पिउने वातावरण मिलाउने बताउनुभयो । अस्पतालमा जाने सेवाग्राहीहरूले सोही स्रोतको पानी पिउने गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्