भौतिक पूर्वाधार विकासमा करिब १३ अर्ब

कामपाको बजेट बाँडफाँट



 काठमाडौं । 

काठमाडौं महानगरपालिकाको सम्पूर्ण बजेटको ५१ प्रतिशत बजेट पूर्वाधार र भौतिक विकासमा खर्चिने भएको छ । केही दिनपछि कामपाको कार्यक्रम पास गर्नुअघि बजेट बाँडफाँट गर्दा सो क्षेत्रलाई ५१ प्रतिशत अर्थात् करिब साढे १३ अर्ब विनियोजन गरिनेछ ।

महानगरपालिकाले ५ क्षेत्र छनोट गरी बजेट बाँडफाँट गरेको हो । सबैभन्दा कम आर्थिक क्षेत्रलाई छुट्टयाएको छ । सो क्षेत्रमा २ प्रतिशत मात्र बजेट खर्च गरिने उल्लेख छ । यो साताभित्रै कार्यक्रम पारित गर्ने तयारी छ । कामपाले पाँच शीर्षकमध्येबाट विभाग, महाशाखा, शाखा र परियोजनामा खर्च गर्ने जनाएको छ ।

कामपाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायतको टिमले सिलिङअनुसार बजेट तयारी गरिरहेका छन् । कामपाले सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रमा २३, कार्यसञ्चालन र प्रशासनतर्फ १६ र सामाजिक विकासतर्फ ८ प्रतिशत बजेट विनियोजन गर्नेछ । महानगरपालिकाले कामपा मुख्यालय निर्माण, वागदबार रेक्ट्रोफिट, वडा कार्यालय भवन निर्माण, सम्पदा पुनर्निर्माणलगायत भौतिक विकासको क्षेत्रमा मनग्य बजेट व्यवस्था गर्ने तयारी गरेको छ ।

कामपाले आगामी आव २०७९-०८० का लागि २५ अर्ब ७६ करोड बजेट पारित गरिसकेको छ । सोही बजेटअनुसार कार्यक्रम तय गर्र्न निरन्तर बैठक जारी रहेको कामपाका अधिकारीले जनाएका छन् । करिब एक सातायता लगातार बैठक भइसकेको छ, अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । महानगरले भोलि २२ गते परिषद्को बैठकले कार्यक्रम पास गर्ने तयारी गरिरहेको छ ।
महानगरले २५ अर्बभन्दा बढी खर्च गर्न नसक्ने अवस्था छ । तर, कार्यक्रम तय गर्दा करिब २९ अर्ब बराबरको कार्यक्रम तयार भएको छ । कुन शीर्षकमा कति कटौती गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । ठ्याक्कै बजेट पुग्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको कामपाका सूचना अधिकारी महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सिलिङअनुसार व्यवस्थापन गरे कार्यक्रम पारित हुन समस्या छैन ।

‘गएको १० गते त बजेट सार्वजनिक भएको मात्रै हो, सो बजेटमाथि छलफल गरी कुन शीर्षकमा कति बजेट राख्ने भन्ने विषयमा भोलि मंगलबार निर्णय हुने सम्भावना छ’ –कामपाका अधिकारीले भने । तर, कार्यपालिका सदस्यले चित्त नबुझेमा फेरि छलफल गर्ने अवस्था आउन सक्ने कामपा स्रोतले बताएको छ । मेयर बालेन्द्रको सबैलाई सम्झाउने क्षमता भएकै कारण, यसअघि नीति तथा कार्यक्रम, आर्थिक अध्यादेश पारित भइसकेको छ ।

कामपाले संघ र प्रदेश सरकारबाट प्राप्त शिक्षक तलब, स्वास्थ्य, कृषि पशुपालन, सामाजिक सुरक्षा भत्तामा तोकेको रकम खर्च गर्नुपर्ने व्यवस्था छ । बजेटमा सूचना प्रविधि, शिक्षा, फोहोर व्यवस्थापन, कर प्रणाली सुधार, सीसीटिभी जडान, शहरी सौन्दर्य, जात्रापर्व व्यवस्थापनलगायत शीर्षकमा खर्च गरिनेछ ।बजेटमा सिसडोलमा बगैंचा र हरियाली प्रवद्र्धन, ज्येष्ठ नागरिक सम्मान, पूर्वाधार एम्बुलेन्स खरिद र सञ्चालन, कमलपोखरीको दोस्रो चरणको काम शुरू गर्न बजेट व्यवस्थापन गर्न लागिएको हो । आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा गर्ने व्यवस्था गरेको छ ।

पुराना हिटि तथा पोखरीको पुनःस्र्थापना, संरक्षण तथा संवद्र्धन गरिने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिन बजेट छुट्टयाइएको छ । नीति तथा कार्यक्रममा उल्लेख भएका विषयलाई चरणबद्ध विश्लेषण गरी बजेटअनुसार कार्यक्रम तयार गरिएको कामपाको भनाइ छ ।

सबै वडामा दोब्बर बजेट

चालु आर्थिक वर्षको भन्दा दोब्बर बजेट वडाले पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० मा ठूला वडालाई १०, मझौलालाई साढे ७ र साना वडालाई ५ करोड रुपियाँ बजेट उपलब्ध गराउने भएको छ । मेयर बालेन्द्र साहले स्थानीय स्तरमा विकासलाई महसुस दिन सबै वडामा दोब्बर बजेट व्यवस्था गर्न लागेका हुन् ।

महानगरले कार्यक्रम पारित गर्नासाथ ३२ वटै वडामा बजेट विनियोजन गरिनेछ । कामपाले १५ वटालाई ठूला, १० वटा मझौला र ७ वटा साना वडामा वर्गीकरण गरेको छ । १, ३, ४, ६, ७, ९, १०, ११, १३ देखि १६ सम्म र २६, ३१ र ३२ ठूला वडा हुन् ।
मझौला वडामा २, ५, ८, १७, २२, २४, २५, २८ देखि ३० वटा छन् । त्यस्तै १२, १८ देखि २१, २३ र २७ वडा साना वडामा वर्गीकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्