कामपाको आर्थिक विधेयक पारित

बक्यौता तिरेमा छुटको व्यवस्था



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९-०८०को विधेयक पारित भएको छ ।महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा ११ औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । सभाका उपाध्यक्ष एवम् महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

सभाका अध्यक्ष तथा महानगरका प्रमुख साहले ‘करका अङ्कमा फेरबदल गर्नका लागि आएको प्रस्तावमा राजस्व विज्ञहरुसँग परामर्शका गर्नुपर्ने देखिएको बताउनुभयो । कर तिरेवापत करदातालाई केही सुविधा दिने कुरा आएका छन् ।जनस्वास्थ्य र वातावरणीय स्वच्छता र व्यवस्थापनका कुरा आएका छन । सामुदायिक कुकुर व्यवस्थापनको कुरा आएको छ । सडकमा भएका सहयोगापेक्षी व्यवस्थापनका कुरा आएका छन् । यी सुझावहरुलाई ध्यानमा राखेर कार्ययोजना तयार गर्नेछौ–साहको भनाई थियो ।

प्रमुख साहले असार १० गते बसेको नगर सभा ११ औँ अधिवेशनको तेस्रो बैठकमा अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न तयार पारिएको आर्थिक बर्ष २०७९-०८० को आर्थिक विधेयक पेश गर्नुभएको थियो । विधेयकमा स्थानीय कर, दस्तुर, शुल्क, जरिवाना संकलन तथा छुट तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्थापनको प्रबन्ध छ ।विधेयकमाथिको छलफलका क्रममा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आशा श्रेष्ठ, सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ, रचना सुनाम, शर्मिला परियारले संशोधन प्रस्ताव तथा सुझाव पेस गर्नुभएको थियो ।

पारित विधेयकमा सम्पत्ति कर, भूमिकर,बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधनजस्ता शीर्षकका कर सम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारी साधन पार्किङ् शुल्क, सेवा, पर्यटन शुल्क समावेश छन् । त्यस्तै विभाज्य कोष, घर जग्गा रजिष्ट्रेसन शुल्क, राजस्व तथा शुल्क संकलन कार्यबिधि लगायत व्यवस्था छन ।

यी व्यवस्थालाई १७ वटा अनुसूचीमा निर्धारण गरिएको छ । भवन मूल्याङ्कन दर, भवनको ह्रास कट्टी प्रतिशत र ह्रास कट्टी गर्ने अवधि, सम्पत्ति कर प्रयोजनका लागि घरजग्गाको प्रति आना मूल्य अनूसूचीहरुमा राखिएको छ । घर जग्गाको प्रति आना मूल्यलाई १७७ बुँदामा समेटिएको छ । यसैगरी निकास भएका र नभएका सडकका दायाँ–वायाँ सहायक पिच मोटर बाटो, पिच मोटर बाटो र गोेरेटो बाटोमा बाँडेर छुट प्रतिशत उल्लेख गरिएको छ ।

बहाल करमा आवासीय, कार्यालय प्रयोजन र व्यवसायिक गरी ३ भागमा बाँडेर फ्लोर एरिया, कार्पेट एरियाका आधारमा बहाल दर निर्धारण गरिएको छ । वार्षिक १ लाखभन्दा कम बहाल आय भएका र अन्य कुनै पनि आम्दानीको स्रोत नभएका करदातालाई वडा समितिले निर्णय गरेर छुट दिन सक्नेछ ।

पुँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोवारका आधारमा व्यवसाय करको दर सम्बन्धी व्यवस्था गरिएको छ । यसमा ९ क्षेत्रका व्यवसाय अन्तर्गतका ३ सय ९६ वटा व्यवसायको दर उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै व्यापारिक बस्तुमा ९० प्रकार छन । व्यवसाय करका क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवा, उत्पादन मुलक व्यवसाय तथा उद्योग, कृषि तथा खाद्यान्न व्यावसाय, होटल, पर्यटन तथा मनोरञ्जन व्यावसाय, सञ्चार सेवा व्यवसाय, वित्तिय सेवा व्यवसाय सहितका शीर्षक समेटिएका छन ।

स्वास्थ्य सेवा व्यवसाय, शिक्षा तथा तालिम व्यवसाय, मर्मत तथा सम्भार व्यवसाय, निर्माण व्यवसाय र अन्य सेवा तथा व्यवसाय रहेका छन ।सवारी पार्किङ्लाई व्यवस्थित गर्न क्षेत्र र सवारीको प्रकृतिलाई बर्गिकरण गरेर शुल्क तोकिएको छ । यसरी तोकिएका क्षेत्र २ वटा छन । यस्तै सवारीका प्रकार २ पाङ्गे्र, ४ पाङ्गे्र र ४ पाङ्ग्रेभन्दा ठूला सवारी साधन छन ।

विधेयकमा व्यक्तिगत सिफारिस, घरजग्गा सम्बन्धी सिफारिस, व्यवसाय उद्योग तथा संघ संस्था सम्बन्धी शिफारिस, कन्सल्टेन्सी सहित शिक्षा सम्बन्धी सिफारिस रहेका छन् ।यस्तै भवन निर्माण नक्सा प्रमाणित सम्बन्धित सिफारिस दस्तुर, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम अन्तर्गतका शुल्क तथा दस्तुर, फोहोरमैला तथा सरसफाइ व्यवस्थापन सम्बन्धी दस्तुर र अन्य शुल्क तथा दस्तुर समावेश छन । पटके जरिवानामा अनधिकृत रुपमा पार्किङ् गरिएका सवारी साधनसहित विभिन्न क्रियाकलाप समावेश छन ।

छुटको व्यवस्था 

कोभिडको सञ्चयी प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा लिजमा लिएकाहरुलाई आगामी आब २०७९÷०८० सम्मको कर चुक्ता गरेमा ४० प्रतिशत छुट दिइनेछ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट वक्यौतामा दिइनेछैन ।

प्रतिक्रिया दिनुहोस्